फुटबल भनेपछि हुरुक्क



फिरोज राजोपाध्याय, काठमाडौं ।
पुष्कर सर खेलकूद भने पछि हुरुक्कै हुनुहुन्थ्यो । विशेषगरी वहाँको लगाव फुटबलसँग थियो भने टेनिस र ब्याडमिन्टनमा पनि उत्तिकै रुचि थियो वहाँको । वहाँ कुशल फुटबल खेलाडी समेत हुनुहुन्थ्यो, जुनबेला नेपालमा भर्खर भर्खर मात्रै फुटबल लोकप्रिय भएको समयमा । वहाँले गणबहालस्थित नेपाल आदर्श माध्यमिक विद्यालयमा विद्यार्थी जीवनदेखि नै फुटबल खेल्ने गर्नुहुन्थ्यो । यसैले वहाँले ३० को दशकको समयमा तुरुन्तै ए डिभिजन लिग क्लब अन्नपूर्ण क्लबबाट समेत खेल्न पाउनुभयो ।

अन्नपूर्ण हुँदै रानीपोखरी कर्नर क्लब (आरसीटी) बाट समेत वहाँले खेल्नुभएको थियो । करिब ३ वर्ष जति खेलेपछि वहाँको फुटबल करियर पनि समाप्त भएको थियो । यसलाई वहाँले दुर्भाग्यको रुपमा लिनुभएको थियो । वहाँले बारम्बार भन्नुहुने कुरा यहाँ प्रस्तुत गरेको छु । —यदि मेरो घुँडामा चोट नलागेको भए म राष्ट्रिय स्तरको खेलाडी भइसक्थे । के गरु एउटा खेल खेल्दा मेरो घुँडामा नराम्रोसँग चोट लाग्यो । यसपछि डाक्टरले पनि तपाई अब फुटबल नखेल्नु भनेपछि मैले मन मारेर फुटबल खेल्न छाड्नु प¥यो ।

त्यतिबेला वहाँसँगै खेल्नुहुनेमा बैजु कपाली पनि हुनुहुन्छ । आरसीटीका अध्यक्ष समेत हुनुभएका कपालीले पुष्करसर बारे नेपाल समाचारपत्रलाई बताउनुभयो—वहाँ निकै मिलनसार हुनुहुन्छ । मैले र वहाँले सँगै खेलेका थियौं। वहाँ फरवार्डमा खेल्नुहुन्थ्यो । राइट विंगबाट खेल्नेमा वहाँको प्रदर्शन धेरै राम्रो थियो । तर घुँडाको समस्याको कारण वहाँले पछि फुटबल खेल्न छाड्नु भयो ।
फुटबलमा कति लगाव छ भन्ने कुरा वहाँको यो प्रतिक्रियाले पनि स्पष्ट पार्छ । आरसीटी बी डिभिजनमा झरेको बेला वहाँले निकै चित्त दुखाउनु भएको थियो । हालसम्म पनि क्लबका सदस्य समेत रहनुभएका सरले बताउनु भएको थियो—निकै इतिहास बोकेको क्लब हो यो आरसीटी । कसरी बी डिभिजनमा झरेछ । निकै नै नरमाइलो न्युज छाप्ने कि नछाप्ने ।

यति मात्रै होइन केही समय नेपाली फुटबल ओरालो लागिरहँदा पनि वहाँले चिन्ता लिनुभएको थियो । वहाँले भन्नुभएको थियो—यो फुटबलमा जे गरे पनि नहुने भयो । फिफा रेन्किङमा हामी कति तल भइरहने । माथि उठ्नै सकिरहेको छैन । नेपालमा अब फुटबल सकिने भयो ।
यस्तै पुष्कर सर ब्याडमिन्टनमा जुनियर लेभलका राष्ट्रिय च्याम्पियन बन्नुभएका सानदार खेलाडी थिए । वहाँले सिनियर लेभलमा कोशिस त गर्नु भयो तर पछि व्यवसायमा लाग्नुभएपछि ब्याडमिन्टनलाई निरन्तरता दिन नसकेको वहाँले एकपटक बताउनु भएको थियो ।


पत्रकारितामा ४० को दशकमा वहाँ लाग्नुभयो । यसको बावजुद वहाँले ब्याडमिन्टन खेल्न भने छाड्नु भएको थिएन । वहाँले पछि भेट्रानको ब्याडमिन्टनमा खेलिरहनुभएका थिए । बेहान बेहान मर्निङ वाकसँगै पाटनको विभिन्न ब्याडमिन्टनका भेट्रान खेलाडीसँग वहाँले ब्याडमिन्टनमा अभ्यास गर्नुहुन्थ्यो । वहाँले घरमा समेत ब्याडमिन्टन कोर्टमा अभ्यास गर्नुहुन्थ्यो ।
टेनिसको कुरा गर्ने हो भने वहाँले न्युज नछुटाउनु भनेर भन्नुहुन्थ्यो । टेनिसमा वहाँलाई मनपर्ने खेलाडी रोजर फेडेरर, राफाल नाडाल, सेरेना विलियम्स र पिट साम्प्रास हुन् । यति मात्रै होइन नेपाल समाचारपत्रको थालनी भएपछि वहाँले खेलकुदलाई दुई पेज दिनुभएको थियो । नेपालको दैनिकी अखबारमा यसरी खेलकुदलाई दुई पेज दिनुहुनेमा वहाँ पहिलो प्रधान सम्पादक हुन् । वहाँकै अनुसरण पछि अरु दैनिक अखबारले गर्न थाले । जुन अहिलेसम्म पनि विद्यमान छ।

संक्षिप्त खेलकुद जीवनः

खेलेका टिम
न्यू राइजिङ स्पोर्टस क्लब
ए डिभिजनको टीममा राष्ट्रिय खेलाडीको रुपमा खेलेको
आरसीटी
अन्नपूर्ण क्लब
रत्न राज्य लक्ष्मी क्याम्पस
त्रि–चन्द्र क्याम्पस
बोटलर्स नेपाल
रोयल ड्रग लिमिटेड

टिम मेनेजर र क्याप्टेन
फूटबल टिम–न्यू राइजिङ स्पोर्टस क्लब (१९७८–१९८३)
न्यू राइजिङ स्पोर्टस क्लबले आयोजना गरेका विभिन्न सामाजिक सेवामा संलग्न ।

तालिम
राष्ट्रिय खेलकूद परिषद (१९६७–१९७४) मा पूmटबल, ब्याडमिन्टन र एथलेटिक्स ।

प्रतिक्रिया दिनुहोस्