नेपालले जित्नै पर्ने खेल



काठमाडौं, (नेस)
जापानमा हुने टोकियो ओलम्पिक २०२० अन्तर्गत महिला फुटबल छनोटको दोस्रो चरणमा नेपालले भारतसँग आज खेल्दै छ। पहिलो खेलमा म्यानमारलाई ३–१ ले नतिजा सुम्पेपछि नेपाललाई यो खेल जित्नै पर्ने दबाब बढेको छ। नेपालले म्यानमारसँग हार आत्मसात गर्दा अर्को खेलमा भारतले इन्डोनेसियालाई २–० ले हराएको थियो। चार टोली सम्मिलित उक्त समूहमा शीर्ष टोली मात्रै तेस्रो चरणका लागि छनोट हुनेछ।

नेपालले भारतसँग यसै प्रतियोगिताअन्तर्गत पहिलो चरणमा १–१ बराबरी खेलेको थियो। यसपछि हिरो गोल्डकप भारतमै भएको थियो। जसमा नेपालले उसकै भूमिमा भारतलाई पराजित गरेर सानदार उपलब्धि हासिल गरेको थियो। तर यो सफलता कायम भने भएन।

हालै विराटनगरमा भएको पाँचौं साफ च्याम्पियनसिपमा नेपाल फाइनलमा भारतसँग ३–१ गोल अन्तरले पराजित भएको थियो।

यसैले आज हुने खेलमा नेपालले भारतलाई पराजित गर्न निकै राम्रो प्रदर्शन गर्नुपर्ने दबाब छ। पहिलो खेलमा पराजित भएपछि प्रतियोगितामा रहन यो खेल जित्नै पर्ने चर्को दबाब छ नेपाली चेलीका लागि। नेपालको सबैभन्दा कमजोर पक्ष भनेको आक्रमण फितलो हो। सावित्रा भण्डारीलाई मार्क गरिदिएपछि अन्य खेलाडीले गोलका लागि संघर्ष गर्नुपर्ने उदाहरण साफ च्याम्पियनसिपले प्रस्तुत गरेको छ।

प्रतिक्रिया दिनुहोस्