सभापति भेला बेमौसमको बाजा

0
Shares

 

रोशन पराजुली
हेटौंडा । अन्तुष्ट कांग्रेस जिल्ला सभापतिहरुको भेला बुधबारदेखि काठमाडौंमा शुरु भएको छ । महासमिति बैठकको निर्देशन विपरीत केन्द्रीय कार्यसमिति बैठकले विधान अनुमोदन गरेको भन्दै असन्तुष्ट जिल्ला सभापतिहरुले नेतृत्वलाई दबाब दिन दुई दिन भेला आह्वान गरेका हुन् ।

जिल्ला सभापतिहरुको भेलालाई लिएर संस्थापन र इतर पक्षबीच आरोप÷प्रत्यारोप चलिरहेको छ ।

पार्टी सभापति शेरबहादुर देउवा पक्षनिकट मानिने मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले भेलाबारे आपत्ति व्यक्त गर्नुभएको छ । मकवानपुर सभापति बानियाँले हावाहुरी प्रभावितको राहतको बेवास्ता गर्दै काठमाडौंमा पार्टी जिल्ला सभापतिहरुको भेला डाकिएको आरोप लगाउनुभयो ।

सभापति बानियाँले विधान र राष्ट्रिय आवश्यकता विपरीत भेला बोलाइएको भन्दै त्यसको आलोचना गर्नुभएको छ । सभापति बानियाँले काठमाडौंमा जिल्ला सभापतिहरुको अनौपचारिक छलफल चलाएर देशलाई कमजोर बनाउने तत्वहरुलाई मद्धत पुग्ने काम गरिएको आरोप लगाउनुभयो ।

बानियाँले बुधवार हेटौंडामा पत्रकार सम्मेलन गर्दै हावाहुरी प्रभावितको राहतबारे बेवास्ता गरेर जिल्ला सभापतिहरु गुट र उपगुटको चलखेलमा काठमाडौंमा भेला डाकिएको आरोप लगाउनुभयो ।

‘कांग्रेसको यस्तो गतिविधिले देशलाई कमजोर बनाउने तत्वलाई मद्धत पुग्नेछ । पार्टी नेतृत्वले यसबारे बुझ्नुपर्छ । देशमा एकतिर विपत्ति छ तर, पार्टीभित्र गुट र उपगुटको चलखेल चलिरहेको छ,’ बानियाँले भन्नुभयो ।

पीडितलाई राहत दिनुपर्ने बेलामा कांग्रेस जिल्ला सभापतिहरुको काठमाडौंको कुनाकुनामा र होटलका कोठामा छलफल चलाइरहेको बानियाँले दाबी गर्नुभयो । बलियो प्रतिपक्षीको भूमिका खेल्नुपर्ने समयमा गुटगत भेलाले पार्टीलाई कमजोर पार्ने भएकोले यसबारे गम्भीर हुन उहाँले पार्टी नेतृत्वलाई आग्रह गर्नुभयो । काठमाडौं भेलालाई संस्थापन पक्षले केही जिल्ला सभापतिको अनौपचारिक भेटमात्र भएको टिप्पणी गरेको छ ।