आठौँ राष्ट्रिय खेलकुदले खेलाडी उत्साहित



बाँके, (नेस)
आठौँ राष्ट्रिय प्रतियोगिताको मिति तोकिएपछि खेलाडी उत्साहित भएका छन् । दुई बर्षको अवधिमा आठौँ राष्ट्रिय प्रतियोगितमा प्रतिष्पर्धा गर्न पाउने भएपछि खुशी लागेको सातौँ राष्ट्रिय प्रतियोगितामा एथलेटिक्स तर्फ स्वर्ण पदक जितेका बाँकेका एम साजन सुनारले बताए ।

उनले प्रतियोगिताले सहभागी हुने अवसरले गर्मीलाई गौण बनाई दिएको बताए । ‘राष्ट्रिय प्रतियोगितामा प्रतिभा देखाउन पाउनु नै खेलाडीका लागि सवैभन्दा खुसीको कुरा हो, घाम, पानी, चिसोले खेलमा कुनै अर्थ राख्दैन,’ सुनारले भने ।
बाँकेका अभिभामान चौधरी पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुँदैछन् ।

भारोत्तोलन खेलाडी चौधरीले गर्मीले प्रतियोगितालाई कुनै असर नगर्ने बताए । उनले गर्मीभन्दा प्रतियोगितामा आफ्नो प्रतिभा देखाउन पाएकोमा खुसी छन् । ‘प्रतियोगितामा सहभागी हुन पाउनु नै गर्वको कुरा हो, गर्मी त आउँछ जान्छ, प्रतियोगितामा भाग लिने अवसर सधैँ आउने कुरा हुँदैन,’ उनले भने ।

एथलेटिक्सकी खेलाडी विश्वरुपा बुढा सातौँ राष्ट्रिय प्रतियोगितामा बाँकेबाट प्रतिष्पर्धा गरिन् । उनले एथलेटिक्समा स्वर्ण पदक जितिन् । ‘प्रतियोगितामा आफ्नो प्रतिभा देखाउन पाउनु नै खेलाडीका लागि सवैभन्दा ठूलो अवसर हो,’ उनले भनिन्, ‘आठौँमा पनि आफ्नो प्रतिभा देखाउन पाइने भयो, साह्रै खुसी लागेको छ ।’

उनले गर्मीले खेल खेल्न कुनै असर नगर्ने बताइन् । ‘खेलाडीका लागि प्रतियोगिता हुनु ठूलो कुरा हो, घाम, पानी, चिसो जस्तोसुकै मौसममा पनि हामी खेल्न सक्छौँ,’ उनले भनिन् ।

आठौँ राष्ट्रिय प्रतियोगिताको मिति तय भएपछि खेलाडी उत्साहित भएको एथलेटिक्सका प्रशिक्षक चन्द्रबहादुर गुरुङले बताए । उनले खेलाडीहरु स्वस्फुर्त रुपमा अभ्यास गरिरहेको बताए । ‘प्रतियोगिताले नै खेलाडीको भविष्य निर्धारण गर्छ, प्रतियोगिता भएन भने खेलाडीको प्रतिभा मरेर जान्छ,’ उनले भने ।

पौडी र भारोत्तोलनलाई गर्मी अनुकुल
पौडी र भारोत्तोलन गर्मीमा मात्र खेल्न सकिने भएकोले बैशाख महिना उपयुक्त भएको पूर्व खेलाडीले बताएका छन् । भारोत्तोलन खेल चिसो मौसममा खेल्न नसकिने भारोत्तोलनका पूर्व खेलाडी तथा भारोत्तोलन संघका केन्द्रिय सदस्य शमशुद्धिन सिद्धिकीले बताए ।

उनले भारोत्तोलन प्रतियोगितामा भाग लिनुभन्दा पहिलो शरिरलाई हिट (तातो) बनाउनु पर्ने भएकोले चिसो मौसममा खेल्न नसकिने बताए । ‘भारोत्तोलनका लागि बैशाख महिना एकदमै उत्तम महिना मानिन्छ,’ भारोत्तोलन एशियाड गेम खेलिसकेका सिद्धिकीले भने ।

पौडीका लागि पनि बैशाख महिना एकदमै उत्तम भएको पौडीका स्वयमसेवक प्रशिक्षक चन्द्र चौधरीले बताए । उनले नेपालका पौडी पोखरीमा बढिमा पाँच महिनामात्र प्रतियोगिता गराउन सकिने बताए । उनले पौडी पोखरीको पानी चिसो हुने भएकोले नेपालका पौडी खेलाडी भारतमा गएर प्रशिक्षण लिने गरेको सुनाए । ‘पौडीका लागि पनि बैशाख महिना एकदमै उत्तम मानिन्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्