खेल हुने भएपछि स्थानीय हर्षित



बाँके, (नेस)
आठौं राष्ट्रिय खेलकुदमा समावेश ३५ खेलमध्ये ४ खेल बाँकेको खजुरा गाउँपालिकामा आयोजना हुने भएपछि स्थानीयवासी हर्षित भएका छन् ।
खजुरामा तीन वटा खेल पूर्णरुपमा र एउटा खेलको केही प्रतियोगिता हुने भएको छ । खजुराको भलिबल स्टेडियममा महिला र पुरुषको भलिबल, ज्ञानोदय माविमा महिला र पुरुषको बक्सिङ, शुक्र माविमा महिला हक्की र डीगाउँमा फुटबलको केही खेल हुने भएको हो । आयोजना स्थलहरुमा खेल संरचना निर्माण भइरहेका छन् ।

कुनै जिल्लाले समेत प्रतियोगिता आयोजना गर्न नपाइरहेको बेलामा खजुरा गाउँपालिकाले चार वटा खेल गराउन पाएपछि स्थानीयवासी खुशीमात्रै भएका छैनन्, उत्साहित भएका छन् । आफ्नो गाउँठाउँको प्रचार प्रसार हुने भएकाले खेलाडी र आगन्तुकलाई ‘अतिथि’का रुपमा सत्कार गर्ने तयारी भएको छ ।
सदस्य सचिव विष्टले खजुरालाई खेलकुद नगरको रुपमा विकास गर्न आग्रह गरे । सरकारले पनि एक स्थानीय तह एक खेलग्रामको नीति अघि बढाएको छ । खजुरा निवासी मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम वलीले खजुरालाई खेलकुदप्रेमी बस्ने ठाउँ हो भनेर चिनाउन जरुरी भएको बताए ।

बाँकेमा १८ वटा खेल हुन्छ । कोहलपुर नगरपालिकामा क्रिकेट प्रतियोगिता राखिएको छ । बाँकी सबै खेल नेपालगञ्ज उपमहानगरपालिका भित्र हुन्छन् । खजुराले चार वटा खेलमा आउने खेलाडी तथा प्रशिक्षकलाई स्वागत, सत्कारका लागि ठाउँमा ठाउँमा प्रवेशद्वारा राख्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्