५५ दिन बास्केटबल लिग हुने



काठमाडौं, (नेस)
आउँदो बैशाख ७ गतेदेखि पिडिसिएन (प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल) ले नेपालकै ठूलो र सबैभन्दा लामो नेपाल बास्केटबल लिगको आयोजना गर्ने भएको छ ।

५५ दिनसम्म चल्ने लिगमा ८ टिमको सहभागिता रहनेछ । सहभागि टोलीहरुले एक अर्कासँग डबल राउण्ड रोबिन लिगका आधारमा होम एण्ड अवे गरि दुई–दुई खेल खेल्नेछन् । यो प्रतियोगिता गत बर्ष क्विक्स बास्केटबल लिगको नाममा खेलाइएको थियो । प्रतियोगिता अवधिभर कुल ६८ खेल हुनेछन् ।

दुई चरणको लिगपछि पहिलो चार स्थान प्राप्त गर्ने टोली प्ले अफका लागि छनोट हुनेछ । प्लेअफमा पहिलो र दोश्रो स्थान हासिल गर्ने टोलीले बेस्ट अफ थ्रिका आधारमा पहिलो क्वालिफायर खेल्नेछन् । सो खेलको बिजयी टोलीसिधै फाइनल प्रवेश गर्नेछ । तेश्रो र चौथो स्थानको टोलीले बेस्ट अफथ्रि एलिमिनेटर खेल्नेछन् र बिजयी टोलीले पहिलो क्वालिफायरको पराजित टोलीसंग फाइनल प्रवेशका लागि दोश्रो क्वालिफायर खेल्नेछ ।

प्ले अफ र फाइनलका सबै खेलहरु राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा खेलाइनेछ । प्रतियोगितामा पहिलो र दोश्रो हुने टोलीले क्रमश रु २ लाख र १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । सहभागि टोलीहरु गोल्डेन गेट इन्टरनेशनल क्लब त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, बुढानीलकण्ठ म्युनिसिप्यालिटी बास्केटबल क्लब, रोयल बास्केटबल क्लब, किर्तिपुर बास्केटबल क्लब, टाइम्स इन्टरनेशनल क्लब र साउथ साइडर्स बास्केटबल क्लब रेहेका छन् ।

प्रतिक्रिया दिनुहोस्