लिभरपुल फेरि शीर्ष स्थानमा



लन्डन, (एजेन्सी)
इंग्लिश प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा आत्मघाती गोलको सहायताले लिभरपुल विजयी भएको छ । लिभरपुलले लण्डन क्लब टोटनहमलाई २–१ गोलअन्तरले पराजित गरेको हो । बराबरीतिर अग्रसर खेलमा टोटनहमका टोबी एल्डरवेएरल्ड्सले ९०औँ मिनेटमा आत्मघाती गोल गरेका थिए ।

उक्त जितपछि लिभरपुल पुन प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ । लिभरपुललाई ३ अंक दिलाउने क्रममा रोवर्टो फिर्मिनोले खेलको १६औँ मिनेटमा पहिलो गोल गरेका थिए । पहिलो हाफसम्म एक गोलले पछि रहेको टोटनहमका लागि लुकास मउराले ७०औँ मिनेटमा बराबरी गोल फर्काएका थिए । जितपछि ३२ खेलबाट लिभरपुलको ७९ अंक भएको छ ।
रियल मेड्रिडको जित

करिम बेन्जामाले खेल सकिन एक मिनेट अगाडि गोल गरेपछि स्पेनिस ला लिगाको खेलमा रियल मेड्रिडले जितको नतिजा निकालेको छ ।
घरेलु मैदानमा भएको खेलको तेस्रो मिनटमै गोल बेहोरेको रियलले प्रतिस्पर्धात्मक खेलमा हुएस्कालाई ३–२ ले पराजित गरेको हो । रियलका लागि इस्को, डानी सेवालोस र बेन्जामाले एक–एक गोल गरेका थिए ।

हुएस्काका लागि जुवान कमिलो हर्नान्डेज र ज्याभिएर एक्ससेइटाले गोल गरे । २९ खेलपछि रियलले ५७ अंक जोडेको छ । समान खेलबाट ६९ अंकका साथ बार्सिलोना शीर्ष स्थानमा अडिग छ । आइतबारै भएको अर्को खेलमा डानि परेजोले पहिलो हाफमा पेनाल्टीमार्फत् गरेको गोलको मद्दतमा भ्यालेन्सियाले सेभियालाई १–० ले हराएको छ ।

प्रतिक्रिया दिनुहोस्