हैदरावादको फराकिलो जित



नयाँ दिल्ली, (एजेन्सी)
इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आइतवार भएको खेलमा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंगलोरमाथि शानदार जित हात पारेको छ ।

जोनी बेस्र्टाेव र डेभिड वार्नरको शतक सहित मोहमद नावीले ४ विकेट लिएपछि हैदरावादले बैंगलोरलाई १ सय १८ रनले पराजित गरेको हो । बेस्र्टोवको १ सय १४ तथा वार्नरको नटआउट १ सय रनको मद्दतमा टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २ सय ३१ रन बनाएको थियो । २ सय ३२ रनको लक्ष्य पछ्याउने क्रममा बैंगलोरले बेस्र्टोवले एक्लै बनाएको रन जति पनि बनाउन सकेन । बैंगलोर १ बल अगावै १ सय १३ रनमा अलआउट भयो ।

घरेलु मैदानमा बेस्र्टोव र वार्नरले पहिलो विकेटका लागि १ सय ८५ रनको साझेदारी गर्दै हैदरावादलाई शानदार सुरुवात दिलाएका थिए । १६.२ ओभरमा आउट हुनुअघि बेस्र्टोवले ५६ बल खेल्दै १२ चौका र ७ छक्काको मद्दतमा १ सय १४ रन बनाए । ५५ बल खेलेका वार्नरले ५ चौका र ५ छक्का प्रहार गर्दै नटआउट १ सय रन बनाए ।

उच्च लक्ष्य पछ्याएको बैंगलोर ७.२ ओभरमै ३५–६ को खराब अवस्थामा पुगेको थियो । तर सातौँ विकेटका लागि कोलिन डे ग्राण्डहोम र आर रे बर्मानले ५१ रनको साझेदारी गरेपछि बैंगलोरले रन उकासेको थियो । ग्राण्डहोमले सर्वाधिक ३७ रन बनाएको इनिङ्समा बार्मनले १९, उमेश यादवले १४ र पार्थिव पटेलले ११ रन जोडे ।

बैंगलोरको इनिङ्स ध्वस्त पार्ने क्रममा हैदरावादका नावीले ४ ओभरमा ११ रन मात्र खर्चेर ४ विकेट लिए । यस्तै सन्दीप शर्माले ३.५ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्