मकवानपुरलाई ११ वर्षपछि उपाधि



रोशन पराजुली, हेटौंडा
हेटौडामा शनिबार सम्पन्न भूगर्भ सिमेन्ट दोस्रो शहीद स्मृति ‘मकवानपुर गोल्डकप’ को उपाधि मकवानपुरले जितेको छ ।

यस सिजनमा ४ उपाधि जितिसकेको क्यामरुनको पाहुना टोली डाफिन्स क्लबलाई २–१ अन्तरले हराउँदै मकवानपुरले उपाधि हासिल गरेको हो । विजेता टोलीका लागि दुवै गोल योगेश गुरुङले गरे । उनले आठौं र ८१औं मिनेटमा गरेको गोलले उपाधि जिताएको थियो । दुवै गोल पेनाल्टीमा भएको थियो ।

विपक्षीका खेलाडीले डीबक्समा ह्याण्ड गरेपछि मकवानपुरले पेनाल्टीका अवसर पाएको थियोे । डाफिन्सका ओको बोटाले डीबक्सभित्र ह्याण्ड गरेपछि मकवानपुरले पाएको पेनाल्टीमा गुरुङले बललाई जाली चुमाए । मकवानपुरका लागि दोस्रो गोल गर्न खेलको अन्तिमसम्म कुर्नुप¥यो ।

डाफिन्सका तर्फबाट पाँचौं मिनेटमा यानिक योवानाले गोल गरेका थिए । योवानाले अन्दाल इसाहको पासमा सहज गोल गरेका थिए । त्यसपछि डाफिन्सले खेलमा फर्कन निकै प्रयास गरे पनि सफल हुन सकेन । हेटौडामा राष्ट्रियस्तरको फुटबल प्रतियोगितामा मकवानपुरले घरेलु मैदानमा उपाधि उचाल्ने अवसर पाएको थिएन । आयोजक मकवानपुरले घरेलु मैदानमा नेपालका सबै ‘ए’ डिभिजन क्लबमाथि हावी हुँदै आएको क्यामरुनी क्लबलाई यसपटक हरायो ।

विजयी भएसँगै मकवानपुरले नगद ८ लाख र शिल्ड तथा उपविजेता डाफिन्सले नगद ४ लाख रुपियाँ पाएका थिए । खेल अवधिभरका सर्वोत्कृष्ट खेलाडी मकवानपुरका कप्तान तथा गोलकिपर अशोक बराल भए । उनलाई नगद ७५ हजार रुपियाँ प्रदान गरियो ।

खेलका म्यान अफ दी म्याच मकवानपुरका हिसुब थपलिया भए । उनले १० हजार नगद प्राप्त गरे । उत्कृष्ट मिल्डफिल्ड मकवानपुरका योगेश गुरुङ भए । उत्कृष्ट डिफेन्डर डाफिन्सका ओको बोटा भए । उत्कृष्ट फरवार्ड मकवानपुरका रेजिन सुब्बा भए भने उत्कृष्ट कोच मकवानपुरका विजयलाल श्रेष्ठ भए । उनीहरुले जनही २० हजार पुरस्कार प्राप्त गरे ।

डाफिन्सको सहभागि कसरी?
मुलुकभित्रका पछिल्ला केही महत्वपूर्ण प्रतियोगितामा अफ्रिकी मुलक क्यामरुनको डाफिन्सको नामको क्लब प्रतिस्पर्धा गर्दै आएको छ । अधिकांश प्रतियोगितामा जित निकालेको डाफिन्ससँग प्रतियोगितामा भिड्न विभिन्न क्लब हच्किन्छन् । तर, एन्फाले मान्यता नदिएको र श्रम इजाजत नलिएको क्लबले निर्वाधरुपमा प्रतियोगितामा सहभागिता जनाइरहेको छ ।

विभिन्न प्रतियोगितामा अनधिकृतरुपमा सहभागिता जनाइरहेको विषयमा सरकार र राष्ट्रिय खेलकुद परिषद् बेखबर देखिने गरेको आरोप छ । खप्तड गोल्डकपमा डाफिन्सलाई सहभागी गराउन एन्फासँग स्वीकृति मागिएको थियो तर आवश्यक कागजात आउनुअघि नै क्लबले सुदूरपश्चिम गोल्डकपमा सहभागिता जनाउनपुग्यो ।

एन्फास्रोतका अनुसार धनगढी हँुदै धरानको बुढासुब्बा गोल्डकप, बुटबलको तिलोत्तमा गोल्डकप र पोखराको मनकामनाको उपाधि उचालेको डाफिन्स अनधिकृत क्लब भएको दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्