उपाधि जित्ने दाउमा आयोजक



नेपाल समाचारपत्र
हेटौंडा
हेटौंडामा जारी दोस्रो संस्करणको शहीद स्मृति मकवानपुर गोल्डकपको फाइनल आज हुँदै छ। फाइनलमा आयोजक मकवानपुर–११ र क्यामरुनी क्लब डाफिन्सले उपाधिका लागि संघर्ष गर्दै छन्। डाफिन्स यस सिनजमा मोफसलमा भएका चार घरेलु उपाधि जितेको टोली हो भने आयोजक उदीयमान नेपाली फुटबलर र विदेशी खेलाडीको सम्मिश्रणमा तयार भएको टोली हो।

वनविज्ञान अध्ययन संस्थानस्थित खेलमैदानमा शुक्रबार आयोजित प्रिम्याच कन्फरेन्समा आयोजक मकवानपुर र डाफिन्स दुवै टिमले उपाधि जित्ने दाबी गरेका छन्। मकवानपुरका प्रशिक्षक विजयलाल श्रेष्ठले डाफिन्सलाई हराएर उपाधि जित्ने दाबी गरे। ‘घरेलु मैदानमा खेल्दै छौं। जितका लागि संघर्ष गर्नेछौं। हामीसँग उपाधि जित्ने आँट छ।’ –प्रशिक्षक श्रेष्ठले भने।

शारीरिकरूपमा डाफिन्सका खेलाडी बलियो भएको भन्दै प्रशिक्षक श्रेष्ठले मकवानपुर पनि बलियो भएर फाइनलमा उत्रिने बताए। उनले रेफ्रीको उचित निर्णयले खेल राम्रो हुने बताए। बिहीबार थ्री स्टार र डाफिन्सबीचको दोस्रो सेमिफाइनलमा केही विवाद भएको थियो।

मकवानपुरका कप्तान अशोक बरालले खेलमा शारीरिकरूपमा बलियो भएर मात्र नपुग्ने भन्दै प्राविधिकरूपमा पनि बलियो हुनुपर्ने बताए। उनले डाफिन्स शारीरिकरूपमा बलियो भए मकवानपुर प्राविधिकरूपमा बलियो भएको बताए। मकवानपुरेलाई उपाधि जितेर खुसी बनाउने कप्तान बरालले सुनाए।

प्रतिक्रिया दिनुहोस्