प्रिन्स र रशिलालाई उपाधी



नेपाल समाचारपत्र, काठमाडौं
सिल्क ग्रुपका प्रिन्स दाहाल र त्रिभुवन आर्मीकी रशिला महर्जनले १५औं राष्ट्रब्यापी कृष्णमोहन स्मृती खुल्ला ब्याडमिन्टन प्रतियोगितामा उपाधि जितेका छन् ।

दुबैले बिहीबार यु–१७ को विधामा उपाधि हात पारेका हुन् । प्रिन्सले ब्वाईज एकल फाईनलमा एपिएफका पेम्बा शेर्पालाई २१–४, २१–८ ले सहजै हराएर उपाधि सुरक्षित गरे । यस्तै रशिलाले गल्र्स एकलतर्फ मोरङकी सिमा राजबंशीलाई फाइनलमा २१–१४, २१–१५ ले पराजित गरिन् । ब्वाईजतर्फ एपिएफका प्रियांशु सिंह क्षेत्री र दिवस शंकर तथा गल्र्सतर्फ मोरङकी निता लम्साल र आर्मीकी रञ्जना भट्ट तेश्रो भएका थिए ।

हलचोकस्थित एपिएफको कभर्डहलमा भएको प्रतियोगिताको मिक्स डबल्समा एपिएफका दिपेश धामी र पुजा श्रेष्ठको जोडीले उपाधी उचाल्यो । गत बर्षका बिजेता धामी र श्रेष्ठले आफ्नै क्लबका बिजित थापामगर र शोभा गौचनको जोडीलाई २१–१०, २१–१२ को सोझो सेटमा हराएका थिए ।


यस्तै ५५ बर्ष माथिको प्रतिस्पर्धामा ग्यालेक्सि ब्याडमिन्टन क्लबका पुष्पराज ताम्राकार र राजु भुजुको जोडी बिजयी भए । ४५ बर्ष माथिको प्रतिस्पर्धामा जेष्ट ब्याडमिन्टनका श्याम पराजुली र नविन बाबु श्रेष्ठको जोडीले बाजी मारे । ३५ बर्ष माथिको प्रतिस्पर्धामा एपिएफ क्लबका प्रेम कुमार श्रेष्ठ र चेत सिंह थापाको जोडीले उपाधी उचाले ।

प्रतियोगिताअन्तर्गत पुरुष एकलतर्फ दिपेश धामी र प्रिन्स दाहालका विच उपाधीका लागि भिडन्त पक्का भएको छ । दिपेशले आर्मीका प्रफुल महर्जनलाई २१–१२, २१–१५ ले तथा प्रिन्सले पुलिसका जीवन आचार्यलाई २१–१९, २१–११ ले पराजित गर्दै फाइनलमा पुगेका हुन् । यस्तै महिला एकल फाइनलमा एपिएफकी जेशिका गुरुङको सामना रशिलासँग हुनेछ । जेशिकाले आर्मीकी अमिता गिरीलाई २१–१३, २१–११ ले तथा रशिलाले आफ्नै क्लबकी अनुमाया राईलाई २१–१५, २१–१२ ले पाखा लगाउँदै उपाधी भिडन्त पक्का गरेका हुन् ।

पुरुष युगल तर्फ पनि दिपेश धामी उपाधी निकट पुगेका छन् । उनले बिजित थापामगरसंग मिलेर पुलिसका दीपक बोहरा र जीवन आचार्यको जोडीलाई २१–१८, २१–१७ ले पराजित गरेका थिए । फाइनलमा आर्मीका प्रफुल महर्जन र सुरोज महर्जनको जोडी संघ खेल्नेछ । महर्जन जोडीले एपिएफका सुदीप सेढाई र साजनकृष्ण ताम्राकारको जोडीलाई २१–१४, २१–१९ ले पाखा लगाएकोे थियो ।
कुल ७ लाख १० हजार पुरस्कार रासी रहेको प्रतियोगितामा ब्वाइज तथा गल्र्सतर्फ शिर्ष तीन खेलाडीले क्रमशः २५, १५ र ५ हजार प्राप्त गरेका थिए ।

मिक्स डबल्सतर्फ शीर्ष तीन हुनेले क्रमशः ४० हजार, २५ हजार र १० हजार नगद हासिल गरेका थिए । यस्तै मास्टर ३५ बर्ष माथि, भेट्रान्स ४५ बर्ष माथि तथा ५५ बर्ष माथिको युगल खेलमा शिर्ष तीनले क्रमशः १० हजार, ८ हजार र ६ हजार नगद प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्