घरेलु भूमिमा मकवानपुरको शान



हेटौंडा, (नेस)
घरेलु टोली मकवानपुर–११ ले नेपाल पुलिस क्लबलाई पराजित गर्दै दोस्रो भुगर्भ सिमेन्ट सहिद स्मृति मकवानपुर गोल्डकपको फाइनलमा स्थान बनाएको छ ।
बुधबार सेमिफाइनल खेल जितेपछि मकवानपुरले ४ लाख नगद पुरस्कार पाउने निश्चि ग¥यो भने थप ४ लाख जित्न उपाधि हात पार्नुपर्ने हुन्छ ।

मकवानपुरले विभागिय टोली पुलिसलाई १–० को झिनो अन्तरले हराएको हो । आयोजकले फाइनलमा थ्री स्टार क्लब र क्यामरुनी टोली डाफिन्सबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । हेटौंडा–१० स्थित बनविज्ञान खेलमैदानमा जारी प्रतियोगितामा मकवानपुरको जितमा रेजिन सुब्बाले ७८ औं मिनेटमा गरेको गोल निर्णायक सावित भएको थियो । उनले म्यान अफ द म्याच घोषित हुँदै नगद दश हजार रुपियाँ प्राप्त गरे ।

मकवानपुरको जितमा गोलरक्षक तथा कप्तान अशोक बरालको भूमिका महत्वपूर्ण रह्यो । उनले खेलभर पुलिसका आधा दर्जनभन्दा बढी प्रहार बचाएका थिए । जितसँगै प्रतिक्रिया दिँदै मकवानपुरका प्रशिक्षक विजयलाल श्रेष्ठले खेलाडीले शत्प्रतिशत दिएर खेल्दा जित सम्भव भएको बताए । उनले पुलिसका दुई खेले हेरेर आफूले रणनीति तयार गर्न पाएको र फलस्वरुप जित निकाल्न सजिलो भएको बताए ।

डाफिन्ससँग खेल्दा सुरक्षित हुँदैन—केसी
थ्री स्टारका प्रशिक्षक मेघराज केसीले हेटौंडामा सञ्चालन भइरहेको मकवानपुर गोल्डकपको सेमिफाइनल खेलमा खेलाडीको स्वास्थ्यको सम्पूर्ण जिम्मेवारी आयोजकले लिनुपर्ने बताएका छन् । उनले यसअघि डाफिन्ससँगको खेलमा धेरै नेपाली खेलाडी घाइते भएको स्मरण गराउँदै अब थ्री स्टार र दाफिन्सको खेलको सम्पूर्ण जिम्मेवारी आयोजकले लिनुपर्नेमा जोड दिएका हुन् ।

‘डाफिन्सका खेलाडीका कारण धेरै खेलाडीहरु हस्पिटल भर्ना भएका छन् । यहाँ पनि खेलाडी घाइते भए भने जिम्मा कसले लिने ?,’ प्रश्न गर्दै प्रशिक्षक केसीले भने–यस विषयमा आयोजक गम्भीर हुनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्