फेरि मन्त्रिमण्डल हेरफेरको चर्चा



मधुसुदून रायमाझी, काठमाडौँ
प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीहरूको कामप्रति असन्तुष्टि जनाउँदै मन्त्रिमण्डल पुनर्गठन गर्ने गृहकार्यमा जुट्नुभएको छ । मन्त्री परिवर्तनका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग समेत छलफल गरिसक्नुभएको छ । मन्त्रीहरुले पेस गरेको कार्ययोजनाअनुसार परिणाम दिन असफल भएको निष्कर्ष निकाल्दै मन्त्री फेरेर सरकारको कामलाई गति दिने तयारीमा प्रधानमन्त्री रहनुभएको छ ।

मन्त्री फेरिने छलफलसँगै नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डको निवासमा मन्त्रीहरुले पद जोगाउन दौडधुप बढाएका छन् । बालुवाटार स्रोतका अनुसार फेरिने मन्त्री र नयाँ मन्त्रीको लिस्ट प्रधानमन्त्री ओलीले तयारी गरिसक्नुभएको छ । लगानी सम्मेलनलगत्तै अध्यक्ष प्रचण्डको सहमति लिएर मन्त्रिमण्डल फेरबदल गर्ने तयारी रहेको स्रोतको दाबी छ ।

प्रधानमन्त्री र प्रचण्डबीच मन्त्री हेरफेरको बारेमा छलफल भएपछि केही मन्त्रीहरुले भने आफू मन्त्रीबाट हट्ने संकेत गरेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले एक सार्वजनिक कार्यक्रममा आफू मन्त्री नभए पनि सांसदको भूमिका रहेर विकास निर्माणको काममा लाग्ने अभिव्यक्ति दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले मन्त्रीहरुको एकवर्षे कामको मूल्यांकनलाई आधार बनाएर मन्त्री फेर्न लागेका बताइएको छ । अर्का अध्यक्ष प्रचण्डले केही मन्त्री मात्र परिवर्तन गर्दा राम्रो सन्देश नजाने भएकाले सबै मन्त्री फेर्न सकिने विकल्प पनि प्रस्तुत गरेको प्रचण्डको सचिवालयले बताएको छ ।

– मन्त्री पद जोगाउन र बन्न ओली–प्रचण्ड दैलोमा दौडधुप शुरु
– योगेश भट्टराईको नाम प्रमद्वारा अस्वीकार
– पार्टीभित्र छलफल शुरु भएको हो: नेता पौडेल
– बहालवाला मन्त्री भन्छन्– मन्त्री नभए पनि सांसदको भूमिकामा काम गर्छु ।

तर त्यसतर्फ प्रम ओली सकारात्मक नभएपछि प्रचण्डले दिक्क भएर मन्त्री फेर्ने काम तपाईंको हो आफूैँ गर्नुस् भन्ने गरेका दाबी गर्दै स्रोत जिकिर गर्छ– ‘किनकि अहिले पार्टीमा अल्पमतमा परेकाले प्रम ओली प्रचण्डको समेत सहमतिमा मन्त्री फेरेको हो भन्ने सन्देश दिएर आफूसँगै रहेका र नयाँ आउने मन्त्रीलाई आफ्नै क्याम्पमा राख्न चाहनुहुन्छ ।’

ओली नेतृत्वको मन्त्रिपरिषद्मा केही समयअघि ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनमा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि नयाँ मन्त्री को हुने भन्ने छलफल पनि शुरु भएको छ ।
निर्वाचनको क्रममा प्रधानमन्त्री ओलीले ताप्लेजुङमा योगेश भट्टराईको निर्वाचन क्षेत्रमा पुगेर भाषण गर्दै उहाँलाई जिताएर पठाउने जिम्मेवारी ताप्लेजुङबासीको भएको र मन्त्री बनाउने जिम्मेवारी आफ्नो भएको बताउनुभएको थियो । तर ओली नेतृत्वको मन्त्रिमण्डलमा भट्टराई अटाउन सक्नुभएन । अहिले पुनः भट्टराई मन्त्री हुने चर्चा शुरु भएको हो ।

मन्त्री हेरफेरसँगै पर्यटनमन्त्रीको पनि टुंगो लगाउने गरी गृहकार्य भइरहेको छ । ‘अध्यक्ष प्रचण्डले पर्यटनमन्त्रीमा भट्टराईको नाम प्रस्ताव गर्नुभएको छ । तर प्रधानमन्त्री ओलीले भट्टराईको नाम अस्वीकार गर्नुभएको छ’, प्रचण्डको भनाइ उदृत गर्दै नेकपाका एक स्थायी समिति सदस्यले भने– ‘योगेशजीलाई पर्यटनमन्त्री बनाउँदा राम्रो हुन्छ, यसअघि पनि मन्त्री बनाउने घोषणा भएको थियो, भट्टराईलाई मन्त्री बनाउँदा सरकारलाई राम्रो हुन्छ ।’

तर, जवाफमा प्रधानमन्त्री ओलीले भट्टराईलाई मन्त्री बनाउनुभन्दा पार्टीकै जिम्मेवारी दिँदा राम्रो हुने बताएको ती नेताले बताए । नेकपाका नेता देवेन्द्र पौडेलले मन्त्री हेरफेरको बारेमा पार्टीभित्र छलफल शुरु भएको स्वीकार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्