जोखिम मोलेर जलविद्युत



धनवीर दाहाल,रुकुम ।
जिल्लाको सानीभेरी गाउँपालिका –६ स्थित देउताखोला–मुसीगार लघुजलविद्युत आयोजना निकै जोखिम मोलेर निर्माण भइरहेको छ । ठूलो पहरामा विद्युत आयोजनाको नहर निर्माण गर्नुपर्ने भएकोले काम जोखिमपूर्ण भएको हो ।

मुहानदेखि पावर हाउससम्मको आठसय ८६ मीटरको नहर क्षेत्रमा एकसय ५० मीटर पहरा मात्र रहेको आयोजना निर्माण समितिका अध्यक्ष पहलसिंह घर्तीमगरले जानकारी दिनुभयो । ‘पहरामा ड्रिल मेसिनले प्वाल पारेर ठुल्ठूला पाईप अड्याउनुपर्नेछ ।’ उहाँले भन्नुभयो, ‘ढुङ्गा खोल्न पनि गाह्रो, पाईप समेत ग्रहुँगो हुँदा काम गर्न समस्या भएको छ ।’ समस्याका बाबजुत दक्ष जनशक्ति परिचालन गरेर कामलाई तीब्रता दिइएको उहाँले बताउनुभयो ।

वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा निर्माणाधीन उक्त आयोजनाबाट १३ किलोवाट विद्युत उत्पादन हुने बताइएको छ । जसबाट यहाँका दुईसय ३५ घरधुरी लाभान्वित हुने अध्यक्ष घर्तीले बताउनुभयो ।

वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको ३८ लाख ९९ हजार रुपैयाँ सहयोगमा यो आयोजना निर्माण भइरहेको छ । आगामी चैत्र मसान्तभित्र निर्माण सम्पन्न गर्नेगरी काम भइरहेको उक्त आयोजनामा कूल लागतको ४० प्रतिशत श्रमदान गर्नुपर्ने व्यवस्था रहेको छ ।

श्रमदान अन्तर्गत स्थानीयले सामान ढुवानी, नहर तथा पावर हाउस भवन निर्माण लगायतका कामहरु गरिरहेको अध्यक्ष घर्तीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्