सिंहदरवारका अस्तव्यस्त क्यान्टिन बन्द



गंगा बराल, काठमाडौं
सिंहदरवार भित्र अस्तव्यस्त रुपमा संचालित क्यान्टिन बन्द गरिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयलाई पत्र पठाएर विभिन्न मन्त्रालयमा रहेका क्यान्टिन बन्द गर्न निर्देशन दिएको थियो ।

सो कार्यालयका सिनियर डिभिजन इन्जिनियर अमरबहादुर थापाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले परिपत्र गरेपछि सम्बन्धित मन्त्रालयमा पत्र पठाएर अस्तब्यस्त रुपमा खुलेका त्यस्ता क्यान्टिन बन्द गरिएको बताउनुभयो ।
गत भदौ ३१ गते सिंहदरवार परिसर व्यवस्थापन सम्बन्धमा मुख्यसचिवको अध्यक्षतामा बसेको बैठकले गरेको २६ बुँदे निर्णयको १० नम्बर बुँदामा जथाभावी रुपमा खुलेका क्यान्टिन बन्द गराउने निर्णय गरिएको थियो ।

सर्भिस सेन्टरमा रहेको ठूलो, संसद् सचिवालयमा रहेको अर्को र अन्य मन्त्रालयमा रहेका क्यान्टिनले मात्र सेवा पुग्न नसक्ने भएकाले थप २ वटा ठूला र व्यवस्थित क्यान्टिन सञ्चालन गर्ने तयारी गरिएकोे थापाले जानकारी दिनुभयोे ।
नेपाली कांग्रेसको र तत्कालीन नेकपा एमालेको संसदीय दलमा रहेका क्यान्टिन भने निर्वाध रुपमा सञ्चालनमा छन् । रेडियो नेपाल र नेपाल टेलिभिजनमा रहेका क्यान्टिन पनि संचालनमा छन ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, शिक्षा विज्ञान तथा प्रविधि, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, कानुन न्याय तथा संसदीय मामिला, कृषि तथा पशुपक्षी मन्त्रालयले आफ्नो मन्त्रालय अन्तर्गत रहेका क्यान्टिन हटाइएको पत्र व्यवस्थापन कार्यालयलाई पठाइसकेको छ ।

रक्षा मन्त्रालयले क्यान्टिनमा नभएको पत्र पठाएको छ । पुरानो सामान्य प्रशासन मन्त्रालय अन्तर्गत रहेको, अहिले भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास मन्त्रालयसँगै रहेका क्यान्टिनको बारेमा कार्यालयमा केही जानकारी आएको छैन ।

थापाका अनुसार टेन्डर गरेर सञ्चालन गरिएका सर्भिस सेन्टर, अर्थ, वन तथा वातावरण र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका क्यान्टिनले आगामी असार मसान्तसम्म सञ्चालन गर्ने अनुमति पाएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अघि रहेको सर्भिस सेन्टरले अनुमति लिएको १ वर्ष पनि पुगेको छैन । उसले २ बर्षको एग्रिमेन्ट गरेको छ ।

सर्भिस सेन्टरको गुणस्तरीयताको विषयमा अनुसन्धान र चेकजाँच भइरहेको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले जनाएकोे छ ।
सर्भिस सेन्टरले बिजुली र सरसफाइको खर्च व्यहोर्दै आएको छ । सबैजसो मन्त्रालयमा सानाठूला गरी १÷१ वटा क्यान्टिन सञ्चालनमा थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित सिंहदरबारमा २१ वटा मन्त्रालय छन् ।

सञ्चालनमा रहेका सिंहदरबारका क्यान्टिनलाई व्यवस्थित गर्न र गुणस्तरीय सेवा दिन आग्रह गरिएको कार्यालयकी सूचना अधिकारी आरती पौडेलले बताउनुभयो । ‘भइरहेका क्यान्टिनमा केही गुनासो आएको थियो, हटाउनुभन्दा पनि व्यवस्थित गर्न खोजिएको हो’ –पौडेलले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्