मौसम बदलीः वर्षा र हिमपातको सम्भावना


काठमाडौँ, पश्चिमी वायुको प्रभावले काठमाडौँ उपत्यकासहित देशभर मौसम बदली हुनाका साथै केही भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको छ ।

पश्चिमी वायुको नयाँ प्रणालीको विकासले फेरि देशभरिको मौसम प्रभावित भएको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले बताउनुभयो । ठूलो वर्षाको सम्भावना नरहे पनि अधिकांश भूभागमा छिटफुट र मध्यम खालको वर्षाको सम्भावना रहेको श्रेष्ठले बताउनुभयो ।

शनिबार बेलुकादेखि मौसम क्रमशः सुधार हुदै जाने बताइएको छ ।

राति देशभर मौसम बदली हुनाका साथै पश्चिमी भू भागका अधिकांश स्थानमा र मध्य तथा पूर्वी क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै देशका उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

त्यस्तै शनिबार देशका अधिकांश भूभागमा सामान्यतया मौसम बदली रही पश्चिमी भेग र पूर्वी तथा मध्य पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आइतबार देशको पूर्वी तथा मध्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको अधिकतम तापक्रम १९ दशमलव ६ डिग्री र न्यूनतम तापक्रम ९ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ । त्यस्तै धनकुटाको तापक्रम माइनसमा झरेको छ ।

सबैभन्दा बढी विराटनगरको अधिकतम तापक्रम २७ दशमलव ५ डिग्री सेल्सियस छ ।
रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।