विनोद सिंह विष्ट, बैतडी ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ बैतडीले शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । बैतडीको पाटन चौराहमा नेविसंघसंग आवद्ध विद्यार्थीहरुले प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन् ।
राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बहुमतको आडमा पारित गरेको, निर्मला पन्तका हत्यारालाई पत्ता लगाउन नसकेको भन्दै प्रधानमन्त्रीको पुत्ला दहन गरेको नेपाल विद्यार्थी संघ बैतडीका अध्यक्ष कपील केसीले बताउनुभयो । दुई तिहाइको सरकारले जनताका अपेक्षा अनुसार काम नगरेको, बहुमत दम्भले नागरिकका हित विपरीत सरकारले काम गरिरहेको उहाँले आरोप लगाउनुभएको छ । महंगी र भ्रष्टाचार बढ्दै गएककाले सरकारलाई सचेत गराउन प्रधानमन्त्रीको पुत्ला दहन गरिएको हो ।
निर्मला पन्तको हत्या भएको सात महिना बितिसक्दा समेत सरकारले दोषी पत्ता नलगाएको भन्दै नेविसंघले आक्रोश समेत पोखेको छ ।
गृहमन्त्री रामबहादुर थापाको छोराको पनि डिएनए टेस्ट गर्नुपर्ने आफूहरुको माग रहेको नेविसंघले जनाएको छ । ट्रान्सपरेन्सी इन्टरनेश्नलले हालै सार्वजनिक गरेको विवरण अनुसार नेपाल दक्षिण एसीयामा भ्रष्टाचार बढी हुने देश मध्ये तेश्रो नम्बरमा परेकाले यसमा सरकार जिम्मेवार रहेको नेविसंघको आरोप छ ।
अहिले देशमा संस्थागत हिसाबले भ्रष्टाचार बढ्दै गएकले यसबारेमा सरकारलाई हामीले सचेत गराउने कार्यक्रम अन्तर्गत पुत्ला दहन गरिएको नेविसंघका दशरथचन्द नगरपालिकाका अध्यक्ष अमरबहादुर टेरले बताउनुभयो । सरकारले जनविरोधी काम गरिरहेकाले निरन्तर खबरदारी गरिरहने नेविसंघले जनाएको छ ।











प्रतिक्रिया