नेविसंघका थप ४५ जनाले दिए राजीनामा


नेपाल समाचारपत्र, काठमाडौं
नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले महाधिवेशनको मिति पटकपटक घोषणा गर्ने नहुने निश्चित भएपछि नेविसंघ केन्द्रीय समितिका पदाधिकारीसहित ४५ जना केन्द्रीय सदस्यले राजीनामा दिएका छन् ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवापक्षीय नौ जना पदाधिकारीको राजीनामालगत्तै पौडेल पक्षीय विद्यार्थी नेता पदाधिकारी तथा केन्द्रीय सदस्यले आफ्नो पदबाट राजीनामा दिएका हुन् ।

सहमहामन्त्री ललिता सुनार र हरिहर शर्मा पक्षबाट सामूहिक राजीनामाको संयोजन गर्ने भोला नेपालका अनुसार राजीनामा गर्ने सदस्यमा भोला नेपाल, कल्पना खड्का, सुनिता अधिकारी, पम्फा गान्धारी, शारदा लामा, लिखितेन्द्र श्रेष्ठ, दिपेशराज भण्डारीलगायत रहेका छन् ।

उनीहरुले अध्यक्ष महर नेतृत्वबाट महाधिवेशन सम्भव नभएकाले वर्तमान कार्यसमितिको औचित्य र सान्दर्भिकता सकिएको कारण देखाई राजीनामा दिएको बताएका छन् ।

महर नेतृत्व नालायकसिद्ध भएको, महङ्गी, भ्रष्टाचार र जघन्य अपराधका मुद्दामा मौन रहेको, डां गोविन्द केसीले उठाएको मागहरुको विरुद्धमा उत्रेको रहेको, शैक्षिक माफियाको संरक्षक बनेको, स्ववियु निर्वाचनमा नेवि संघलाई जिताउन नसकेको र जतिपटक म्याद थप गरे पनि महाधिवेशन नगराएको आरोप लगाएका छन् ।

पार्टीले महाधिवेशनका लागि नेविसंघको पटकपटक म्याद थप गरी अधिवेशनका लागि ताकेता गरेको थियो तर नेविसंघमा महर नेतृत्वबाट महाधिवेशन हुन नसकेपछि नैतिकताको आधारमा राजीनामा दिएको दावी गरिएको छ ।

पौडेलपक्षीय विद्यार्थी नेता हरिहर शर्माले महर नेतृत्वले महाधिवेशन नगरी आफ्नो पद मात्र लम्ब्याएको, क्याम्पसमा संगठन बनाउन र आन्दोलन गर्न नसकेको आरोप लगाउनुभयो ।

यसअघि सभापति देउवा पक्षीय महामन्त्रीसहित उपाध्यक्षहरु र सहमहामन्त्रीहरुले राजीनामा दिइसकेका छन् । विधानअनुसार तदर्थ समिति गठन गरी महाधिवेशन सम्पन्न गर्नुपर्ने राजीनामा दिने सदस्यको तर्क छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।