मनोज भट्ट, महेन्द्रनगर ।
महेन्द्रनगर नगर विकास समितिको जग्गा अतिक्रमण गरी निर्माण भइरहेका अवैध संरचना हटाउनुु पर्ने माग गर्दै प्रमुख राजनीतिक दलका भातृ संगठनहरु आन्दोलित भएका छन् ।
नगर विकास समितिको जग्गामा प्रक्रिया मिचेर अवैधानिक तरिकाले निर्माण कार्य भइरहेको भन्दै भातृ संगठनहरु आन्दोलित भएका हुन् ।
महेन्द्रनगर बजारलाई नै कुरुप बनाउने गरी अवैध रुपमा निर्माण भईरहेका संरचनालाई तत्काल हटाउनु पर्ने उनीहरुको माग छ । अवैधानिक तरिकाले निर्माण भएका भवनहरुमा उनीहरुले सोमवार रातो रङ्गको ‘क्रस’ चिन्ह लगाएर सांकेतिक आन्दोलनमा उत्रिएका छन् ।
प्रक्रिया मिचेर लिजका नाममा जग्गा दिने कार्य र निर्माण कार्यलाई रोक्न आफूहरु संयुक्त रुपमा आन्दोलित भएको युवा संघका केन्द्रीय सदस्य रामचन्द्र रेग्मीले बताए ।

अवैधानिक अतिक्रमणलाई हटाउन सरकारलाई दवाव दिन आफूहरुले सांकेतिक आन्दोलन स्वरुप त्यस्ता घरहरुमा रातो चिन्ह लगाइएको नेपाल तरुण दलका नेता महेन्द्र खड्काले बताए । सरकारी जग्गामा भएको अतिक्रमण हटाउन सरकारले कुनै पहल नगरे आफूहरुले नै त्यस्ता घरहरु भत्काउने उनिहरुले चेतावनी दिए ।
नगर विकास समितिका केही व्यक्तिले मनोमानि ढङ्गले सरकारी जग्गा आफ्ना मान्छेका नाममा राखेको भन्दै प्रक्रिया मिचेर गरिएका सम्झौता र खरिद बिक्री खारेज हुनुपर्ने अखिल क्रान्तिकारीका नेता चन्द्रकान्त भट्टले माग गरे ।
अवैधानिक तरिकाले बनेका घरहरु हटाउन सरकारले वैधानिक बाटो देखाएर टार्न खोजेको उनीहरुको आरोप छ । गत पुस ९ गते जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले एक महिनाभित्र अवैधानिक तरिकाले बनेका भवन हटाउन आदेश दिएको थियो ।











प्रतिक्रिया