जिल्लाभर छैन बसपार्क, सडकमै पार्किङ



सलिम अन्सारी,प्युठान ।

जुम्री वजार,सडक छेउमै टिकट काउण्टर खोलिएको छ।सांघुरो सडक त्यसैमाथि सवारीसाधनको चाप।जिल्लाभित्रने र बाहिर आउजाउ गर्ने द्धार रहेको यो बजार क्षेत्रमा मान्छेको चाप पनि धेरै नै देखिन्छ । यात्रुलाई टुसुक्क बस्ने ठाउँ छैन। गाडिहरु सडकमै भद्रगोल पार्किङ हुदा व्याबसायी मात्रै हैन, स्थानीयलाई समेत हैरानी छ ।

जिल्लामा नया वस बर्से्नि थपिदैछन।तर ती बस पार्किङका लागि यहाँ बसपार्कको समस्या छ। यातायातका साधन सडकमै पार्किङ गर्न नपाईने नियम छ । तर फराकिलो बसपार्क नहुंदा सडक दायांबाया र होटल,पसल तथा स्थानीयका घर अगाडि सवारीसाधन पार्किङ हुँदै आएका छन। घर अगाडि र सडक छेउमै पार्किङ गर्दा दुर्घटना जोखिम बढी छ ।

ब्यबस्थित बसपार्क नहुँदा यातायात ब्यबसायीहरु समस्यामा परेको स्वर्गद्धारी यातायात समितीका महासचिब चन्द्रमान श्रेष्ठले बताए। ‘यात्रु र सवारी साधनको चाप बढेको छ तर बसपार्क व्यवस्थापन अनि निर्माणमा सरकारी निकायको ध्यान पुगेको छैन’, उनले भने । यातायात व्यवस्थापनका लागि बसपार्कको खाँचो रहेको उनको भनाइ छ ।

सडक छेउभन्दा बाहिर प्रयाप्त पार्किङ क्षमताको बसपार्क तत्कालै बनाउनुपर्ने आवाश्यक रहेको श्रेष्ठले बताए।

जिल्ला सदरमुकाम खलगां सहित बाग्दुला, बिजुवार, मच्छी , भिङ्ग्री बजारलगायत व्यापारिक केन्द्रमा व्यवस्थित बसपार्क नहुँदा सडकमै सवारी साधन रोकिदै आएका छन ।
जिल्लाका ९ वटै स्थानीय तहका केन्द्रसम्म यातायात सञ्चालन हुँदै आएको छ ।मुख्य राजमार्ग र भित्री सडक प्राय सवैमा ब्याबसायिक सवारी साधन संचालनमा छन।

जग्गा विवादले बसपार्क अलपत्र

प्यूठान नगरपालिका ३ जुम्रीमा दुई दशकअघि निर्माण भएको बसपार्क अलपत्र छ । अझै व्यवस्थित हुन सकेको छैन ।स्थानीयले निस्शुल्क जग्गा उपलब्ध गराएपछि ०५६ मा यसको निर्माण थालिएको थियो । जिल्लामा राप्ती र स्वर्गद्वारी यातायात समिति फुटेपछि विवादले व्यवस्थित नभएको हो ।

स्थानीयले २० रोपनी जग्गा निस्शुल्क उपलब्ध गराएर सुरुमा बसपार्क सञ्चालन गरेका थिए । पछिल्लो समय स्थानीय सरकारले ध्यान नदिएकाले भौतिक पूर्वाधार निर्माणका काम अलपत्र परेको जुम्री बसपार्क व्यवस्थापन समिति अध्यक्ष सुमन श्रेष्ठले बताए ‘जग्गा हाम्रो स्वामित्वमा ल्याउने प्रक्रियामा छौँ ।’ अध्यक्ष श्रेष्ठले भने, ‘राप्ती समिति पनि सकारात्मक छ ।’

बसपार्क निर्माणमा २०७२ तथा २०७३ मा गरि करिब १८ लाख खर्च भएको श्रेष्ठ बताउँछन् । उता टिकुरीमा निर्माणाधिन प्यूठान बसपार्कमा पनि विवाद देखिएको छ । टिकुरी हुँदै तात्कालिन खलङ्गा जाने बाटोमा स्थानियहरुले मुआब्जाको माग राख्दै जिल्ला अदालत प्यूठानमा मुद्धा हालेपछी विवाद देखिएको हो ।

स्थानियका विवादका कारण निर्माण प्रक्रियाले गति लिन नसकेको बसपार्क व्यवस्थापन समिति अध्यक्ष सालिग्राम पण्डितले बताए । २०४५ सालमा टिकुरीबाट खलङ्गा जोड्न खनिएको बाटोमा ३० वर्ष पछि आएर मुआब्जाको माग आएको पण्डितले बताए । ‘हामी स्थानियस्तरमै छलफल गरेर बिबाद मिलाउँछौ ।’ पण्डितले भने, ‘करिब ५ करोडको काम अलपत्र परेको छ ।’ टिकुरी–बसपार्क हुँदै बाग्दुला सम्म बाटो पिच गरिने योजना छ। मुआब्जा विवादका कारण ठेकेदारले काम अघि नबढाएको समितिले बताएको हो ।

टिकुरीबाट बसपार्कसम्मको दुरी १ कि.मि दुरीको सडकमा नाली सहित ९ मिटर चौडा बनाउने योजना छ । गत अषाढ महिनामै टेण्डर स्वीकृत भएर भाद्रबाट काम गर्ने भनिएपनि अझै काम सुरु गरिएको छैन । दुबै बसपार्कमा देखिएको समस्यालाई प्यूठान नगरपालिकाले चासोका साथ हेरीरहेको नगरप्रमुख अर्जुनकुमार कक्षपतिले बताए ।

‘जुम्री बसपार्कको समस्या समाधानमा लागेका छौँ ।’ कक्षपतिले भने ‘राप्ती समितिसंग छलफल गर्दै छौँ । छिट्टै बसपार्कको जग्गा नगरपालिकाको नाममा आउँछ ।’ टिकुरीमा निर्माणाधीन बसपार्कको विवाद पनि हल गरिने कक्षपतिले बताए ।

प्रतिक्रिया दिनुहोस्