गौशाला बनाई छाडा चौपाया व्यवस्थापन गर्दा अर्गानिक खेती गर्न सहज



मनोज भट्ट, महेन्द्रनगर ।
भीमदत्त नगरपालिका वडा नं १९ बागफाँटामा छाडा पशु चौपाया व्यवस्थापन गरिएपछि अर्गानिक तरकारी खेतीका लागि कार्य सुरु गरिएको छ । भीमदत्त नगरपालिकाबाट गौशाला सञ्चालनको जिम्मेवारी लिएको झापा नमूना गौरीगाउँ अर्गानिक एग्रिकल्चर फर्मले गौशला नजिक जमिनमा तरकारी खेती गर्न लागेको हो ।

फर्मले गत महिना भीमदत्त नगरपालिका क्षेत्रका छाडा पशु चौपाया व्यवस्थापन गर्ने जिम्मेवारीका साग गौशाला सञ्चालनको जिम्मा लिएको थियो । गौशालामा दुई हजार भन्दा बढी गाई गोरु राखिएका छन् । त्यसमा स्थानीयले घरबाट पुगाएका गाई गोरु अधिकाँश छन् । फर्मका सञ्चालक पुरन खड्काले अर्गानिक तरकारी खेतीका लागि चार बिगाहा जमिनमा खनजोत गरिएको बताए ।

‘छाडा पशु चौपायालाई गौशालामा व्यवस्थापन गरी अर्गानिक तरकारी खेती गर्ने लक्ष्यका साथ गौशला सञ्चालनको जिम्मा लिएका हौ’ उनले भने,‘गाई गोरु गौशालामा ल्याएपछि तरकारी खेतीका लागि खेत खनजोत गरिएको छ, यसमा छिट्टै तरकारी खेती लगाउँछौ ।’

खनजोत गरिएको जमिनमा केही दिनभित्रै रायो, लौका र भिण्डी लगाइने तयारी गरिएको छ । बागफाँटामा अग्र्या्निक तरकारी उत्पादन गरी कतार पठाइने योजना रहेको खड्काले बताए । फर्मले स्थानीयलाई अग्र्या्निक तरकारी खेतीका लागि मल, बिऊ लगायत प्राविधिक सहयोग समेत गर्नेछ ।

भीमदत्त नगरपालिकाले बागफाँटामा ८ बिगाहा जमिनमा गौशला बनाएको छ । नगरपालिकाले प्रस्ताव आव्हान गरी झापा नमूना गौरीगाउँ अर्गा्निक एग्रिकल्चर फर्मलाई छनौट गरी जिम्मेवारी दिएको हो ।
स्थानीय तह निर्वाचनमा भीमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द्र विष्टले नगर क्षेत्रका छाडा पशु चौपाया समस्या समाधान गर्ने प्रतिवद्धता गरेका थिए । चुनावी प्रतिवद्धता अनुसार छाडा पशु चौपाया व्यवस्थापनलाई प्राथमिकता दिएर पहिलो नगर सभाबाट बजेट विनियोजन गरेका थिए । पहिलो नगर सभाबाट विनियोजन गरिएको बजेटबाट बागफाँटामा गौशाला निर्माण गरिएको हो ।

भीमदत्त नगरपालिको फर्मलाई चार वर्षका लागि गौशला सञ्चालनका लागि जिम्मेवारी दिएको हो । फर्मले नगरपालिकालाई वार्षिक एक लाख ११ हजार १ सय ११ रुपैँया दिने सम्झौता गरिएको छ ।
भीमदत्त नगरपालिकाले छाडा पशु चौपाया व्यवस्थापनका लागि नगर उप प्रमुख सुशिला चन्द सिहको संयोजकत्वमा समिति गठन गरेको थियो । समितिले वडा कार्यालय सहित सरोकारवालासित छलफल गरी बागफाँटामा गौशला निर्माणका लागि छनौट गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्