जग्गा माग गर्दै प्रेरणाद्वारा पुनः सर्वोच्चमा रिट



मधुसूदन रायमाझी, काठमाडौं
नेपाल ट्रस्टको कार्यालयअन्तर्गत आएको घरजग्गा पुनः पाउनुपर्ने माग गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा शाहले सर्वोच्च अदालतमा निवेदन दर्ता गराउनुभएको छ। उहाँले गोकुलबहादुर रोकायलाई वारेस राख्दै सर्वोच्च अदालतमा निवेदन दर्ता गराउनुभएको हो।
यसअघि सर्वोच्च अदालतले तत्कालीन राजा वीरेन्द्र शाहको नाममा रहेको घरजग्गा नेपाल ट्रस्टको हुने पूर्ण इजलासले फैसला गरेको थियो। फैसला कार्यान्वयन गर्नका लागि ट्रस्टले घरजग्गा खाली गराउन पटक–पटक पत्रचार गरेको थियो। दुई साताअघि मात्रै प्रेरणा शाहका सहयोगीले घरजग्गा खाली गरिदिनेबारेमा पत्र बुझेको नेपाल ट्रस्टको कार्यालयले बताएको छ।
तत्कालीन समयमा राजा वीरेन्द्रको नाममा रहेको छाउनीको घरजग्गा ज्ञानेन्द्रले नामसारी गरी छोरी प्रेरणाको नाममा पास गरिदिनुभएको थियो। छाउनीमा रहेको १५ रोपनी जग्गा र घरसहित २०७३ माघ २१ गते नेपाल ट्रस्टमा ल्याउने सर्वोच्चले फैसला सुनाएको थियो।
– होला त फिर्ता ? 
– नेपाल ट्रस्ट अन्योलमा 
उक्त मुद्दामा तत्कालीन प्रधानन्यायाधीश रामकुमार साह र न्यायाधीश चोलेन्द्रशमशेर राणाको इजलासले प्रेरणाले दाइजो पाएको भन्दै उनैको हक स्थापित हुने फैसला गरेको थियो। तर, सर्वोच्चको फैसलामा चित्त नबुझाएको नेपाल ट्रस्टले सो मुद्दालाई सर्वोच्चमै पुनरावलोकन गरेको थियो।
पुनरावलोकनका क्रममा भएको बहसपछि तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीशहरू दीपककुमार कार्की तथा सपना प्रधान मल्लको पूर्ण इजलासले पूर्ववत् फैसला उल्ट्याई नेपाल सरकारकै नाममा जाने गरी फैसला गरेको थियो। गत वैशाख २३ गते नेपाल ट्रस्ट र काठमाडौं महानगरपालिकाले उक्त घरजग्गा ३५ दिनभित्र खाली गर्न प्रेरणालाई पत्रसमेत लेखेको थियो।
प्रेरणाले असाधारण क्षेत्रअन्तर्गत रिट दर्ता गराएपछि नेपाल ट्रस्टको कार्यालय भने अन्योलमा परेको छ। ट्रस्टको एक उच्च अधिकारीले नेपाल समाचारपत्रसँग भने– ‘सर्वोच्च अदालतको पूर्ण इजालसले प्रेरणाले उपभोग गर्दै आएको घरजग्गा नेपाल ट्रस्टको नाममा हुने फैसला गरेपछि कार्यान्वयन गर्न दुई साताअघि मात्र पत्र बुझाएका थियौं, पुनः सर्वोच्चमा रिट परेको कुराले अन्योलमा छौं।’
दर्ता भएको रिटमाथि सर्वोच्च अदालतले शुरूमा नै दरपिट गर्न सक्ने सर्वोच्चको एक अधिकारीले बताए। उनका अनुसार सर्वोच्च अदालतले रिटमाथि अन्तरिम आदेशको साथ कारण देखाऊ आदेश दुईमध्ये एक दिन पनि सक्नेछ। ६ महिनासम्म नेपाल ट्रस्टको कार्यालयको नाममा रहेको घरजग्गा खाली गराउन सरकारले काटेको पत्र बुझ्न प्रेरणाले अस्वीकार गर्दै आउनुभएको थियो।
ट्रस्टको कार्यालयले सिंहलाई घरजग्गा खाली गराइदिन काटिएको पत्रमा भनिएको छ– ‘नेपाल ट्रस्टको स्वामित्वमा रहेको काठमाडौं महानगरपालिका–१३ छाउनी मार्गस्थित नक्सा नं. ११०३–१२, कित्ता नं. २५ क्षेत्रफल ७ हजार ६ सय ६४ दशमलव ४० वर्गमिटर (१५ रोपनी) को जग्गा हालसम्म तपाईंले उपयोग गर्दै आउनुभएको बुझिएको हुँदा र तपाईंले नेपाल ट्रस्टको कार्यालयलाई विपक्षी बनाई दायर गर्नुभएको उत्प्रेषणको मागदाबीसमेत पुनरावलोकन हुँदा मागदाबी नपुगी ट्रस्टको नाममा कायम भएको सर्वोच्च अदालतको मिति २०७३ माघ २१ गतेको फैसलाअनुसार यो पत्र प्रेसित गरिएको छ।’
सिंहले सर्वोच्चमा दायर गरेको पुनरावलोकन मुद्दामा सर्वोच्चले तत्कालीन राजाले आफ्नो हक नै नलाग्ने राष्ट्रिय सम्पत्ति छोरीलाई दाइजो दिएको र ‘विजया घर’ नेपाल ट्रस्टको नाममा राखिनु संवैधानिक भएको फैसला गरेको थियो। फैसला भएको एक वर्ष बितिसक्दासमेत घरजग्गा खाली नभएपछि नेपाल ट्रस्टले सिंहलाई घरजग्गा खाली गर्न पत्राचार गरेको थियो।
फैसला कार्यान्वयन गर्न लागिपरेको नेपाल ट्रस्टको कार्यालय पुनः सर्वोच्चमा रिट दर्ता भएपछि अलमलमा परेको छ। सरकारले २०६४ सालमा पूर्वराजा वीरेन्द्रको सम्पत्तिलाई ट्रस्ट मातहत ल्याउने निर्णय गर्दै नेपाल ट्रस्टको स्थापना गरेको थियो। सम्पत्ति खोजविन गर्ने क्रममा ट्रस्टले छाउनीको घरजग्गा पनि पूर्वराजा वीरेन्द्रको भएको आधारमा ट्रस्ट मातहत ल्याएको थियो।
नेपाल ट्रस्टले उक्त जग्गा सरकारी सम्पत्तिका रूपमा आउनुपर्ने भन्दै सर्वोच्च अदालतमा नेपाल ट्रस्टले मुद्दा दायर गरेको हो। ट्रस्टको मागबमोजिम प्रेरणा बस्दै आएको घरजग्गा ट्रस्टको नाममा आएको थियो। तर, अहिले पूर्ण इजालासले गरेको फैसालाप्रति असन्तुष्टि जनाउँदै प्रेरणाले पुनः सर्वाेच्च अदालनमा शुक्रबार रिट दर्ता गराउनुभएको छ।

प्रतिक्रिया दिनुहोस्