स्थानिय तहमा कर्मचारीः न बस्ने कुर्सी छ, न काम गर्ने टेवल



नेपाल समाचारपत्र, पर्वत ।
कुस्मा नगरपालिकाको महिला तथा बालबालिका शाखाको बस्ने कूर्ची र टेवल नहुँदा २ जना कर्मचारी दिनभर जुन शाखाको कुर्ची खाली छ सोही शाखामा बसेर दिन बिताउने गरेका छन् । शिक्षा, कृषि, पशु र स्वास्थ्य शाखाको पनि आफ्नै कार्यकक्ष नहुँदा झोलामै कार्यालय संचालन गर्नुपर्ने बाध्यता छ ।

जिल्ला सदरमुकाम कुस्मामा रहेको यो नगरपालिका प्रतिनिधी स्थानीय तह हो । जिल्लाका अन्य पालिकाको अवस्था भने अझै दयनीय रहेको छ । फलेवास नगरपालिका ३ वटा कोठामा सिमित छ भने अन्य गाउँपालिकाहरु पनि यस्तै समस्यामा छन् । आफ्नो कार्यकक्ष नहुँदा कर्मचारीलाई समेत काम गर्न समस्या भएको छ भने काम गर्ने वातावरण समेत नभएको उनीहरुको प्रतिक्रिया रहेको छ ।

‘बस्ने ठेगान नहुँदा दिनभर घाममा बस्ने र काम परे अन्य शाखामा खाली कूर्चीमा बसेर काम गर्ने गरेका छौं’ कुस्मा नगरपालिका महिला तथा बालबालिका शाखाका प्रमुख भगवती शर्माले भन्नुभयो–‘आफ्नै कार्यकक्ष नहुँदा काम गर्न समेत अन्यौल भएको छ ।’ उहाँका अनुसार सेवाग्राही आएभने पनि बाहिरबाटै काम सकेर पठाउनुपरेको बाध्यता सुनाउनुभयो ।

संघीयता पछि सिंहदरवारको अधिकार गाउँगाउँमा भन्ने नारा उखान जस्तै भएको अर्का कर्मचारी उमाकान्त शर्माले बताउनुभयो । सबै व्यवस्था हुन नसक्दा समस्या भएकाले काम गर्ने वातावरण समेत सहज नभएको उहाँको भनाई छ ।

काम गर्नका लागि सबै वातावरण तयार गर्न नगरपालिकाले समेत सकेको छैन मासिक १ लाख भाडा तिरेर ३ ठाउँमा कार्यालय राख्दा समेत व्यवस्थापन गर्न नसकेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवास लामिछाने बताउनुहुन्छ । ‘सकेसम्म व्यवस्थापन गर्ने प्रयत्नमा छौं उहाँले भन्नुभयो– ‘सदरमुकामा रहेका सरकारी कार्यालयहरु खाली बनाएर राख्ने तर तिनै कार्यालय नगरपालिकाले उपयोग नपाउने हुँदा झनै समस्या भएको छ ।’ खाली भएका कार्यालय प्रयोग गर्न पाएमा आर्थिक बोझ घट्ने उहाँको तर्क छ ।

यस्तै जिल्लाको अर्को नगरपालिका फलेवास नगरपालिका सिमित साधनस्रोत भएको नगपालिका हो । यहाँको समस्या पनि उस्तै रहेको छ । कर्मचारीहरु काम गर्नका लागि एउटा हलमा बसेर सेवाग्राहीलाई सेवा दिएका छन् तर उनीहरुको पनि आफ्नो शाखा कुन हो अझैसम्म व्यवस्थापन हुन सकेको छैन । नगरपालिकाले एउटा घरमा ३ वटा कोठा लिएर कार्यालय संचालन गरेको छ भने कृषि र पशु शाखाका काम साबिकका सेवाकेन्द्रबाट संचालन गर्दै आएको छ ।

कार्यालय व्यवस्थापन गर्नका लागि समस्या भएकाले पनि कर्मचारीलाई खटाउन समस्या भएको नगरप्रमुख पदमपाणी शर्माले बताउनुभयो । ‘कार्यालय निर्माणका लागि सरकारले कुनै बजेट बिनियोजन गरेको छैन’ उहाँले भन्नुभयो –‘विकास बजेटबाट कार्यालय बनाउँदा जनताको आलोचना खेप्न सकिँदैन ।’ उहाँले वैकल्पिक व्यवस्थाका लागि स्थानीय तहमा रहेका पुराना सार्वजनिक सम्पत्तीको प्रयोग गरिने जानकारी दिनुभयो ।

फलेवास नगरपालिकाले सोही स्थानमा रहेको फलेवास सिँचाई कार्यालयको भवन प्रयोग गर्नका लागि तयारी गरेको छ । प्रयोग बिहिन रहेको भवनलाई मर्मत गरेर काम चलाउने तयारी भएको नगरप्रमुख शर्माले जानकारी दिनुभयो ।

यस्तै जिल्लाको जलजला गाउँपालिका, मोदी गाउँपालिका, महाशिला गाउँपालिका, बिहादी गाउँपालिका र पैयुँ गाउँपालिकाको अवस्था पनि अझै दयनिय छ । ती तहमा कार्यतर कर्मचारीहरुको गुनासो पनि बस्ने कुर्चीसम्म व्यवस्थापन हुन नसकेको छ ।

प्रतिक्रिया दिनुहोस्