बिद्युतका पोल र तार ठाँउठाँउमा लथालिङ्ग, त्रिबेणीका १८ सय घर परिवार अन्धकारमा



धनवीर दाहाल, रुकुम ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका १८ सय घरपरिवार अँधेरोमा बस्न बाध्य भएका छन् । यहाँको वडा नम्वर ७, ८, ९ र १० मा विद्युत सेवा विस्तार नहुँदा स्थानीयवासीलाई अँधेरोमा बस्नु पर्ने बाध्यता रहेको छ ।

नेपाल विद्युत प्राधिकरण वितरण शाखा रुकुम केन्द्रले गएको असार महिनामा बिद्युत बिस्तार गर्ने भनेपनि हाल सम्म विद्युत सेवा विस्तार नगर्दा चार वडाका बासिन्दालाई समस्या भएको हो ।

गाउँमा विद्युत सेवा अभावले बालबालिकाको पढाई लेखाई तथा घरायसी कामकाजमा समस्या भएको स्थानीय डेम प्रकाश ओलीको दुखेसो छ । गाउँमा उत्पादन गरिएको विद्युत सेवा समेत यसवर्षको पहिरोले अवरुद्ध हुँदा साविकको मुरु र पेउघा गाविसका स्थानीय समस्यामा परेका हुन् ।

यसअघि नेपाल विद्युत प्राधिकरण रुकुम शाखाले जेठ अन्तिम साता दुई सय बढी विद्युत पोल र तार जडान गरेको थियो । असार महिनामै केन्द्रीय प्रसारणको विद्युत सेवा विस्तार गर्ने भन्दै यहाँका स्थानीयलाई आश्वासन दिईएको स्थानीय बताउँछन् । तर तोकिएको अवधिभित्र विद्युत सेवा गाउँमा नपुग्दै धेरैजसो ठाउँमा विद्युत पोल ढलेको र तार समेत लथालिङ्ग भएका छन् । केही पोलहरुमा तार समेत जडान गरिएको छैन ।

गाउँमा केन्द्रिय प्रसारणको विद्युत सेवा उपभोग गर्ने पर्खाइमा रहेका स्थानीयलाई चिन्ता थपिएको छ । विद्युत प्राधिकरण र ठेकेदारको लापरर्वाहीका कारण विद्युत सेवा विस्तार हन नसकेको स्थानीय निर्मल चन्दको भनाई छ । उहाँका अनुसार यसवर्षको पहिरोले अधिकांश पोलहरुमा क्षति गरेको बताईएको छ ।

यति मात्र होइन मुख्य सडकमा पनि पोल र तारलाई गैर जिम्मेवार ढंगले सडकमा रहेका ढुंगामा अड्याइएको छ । यति मात्र होइन पोल अड्याउन तारलाई भाँचीएका रुखका ठुटाहरुमा बाँधीएको छ । ठेकेदारको गैरजिम्मेवार कामले यस्तो भएको स्थानीयले बताएका छन् । यता नेपाल विद्युत प्राधिकरण रुकुम वितरण शाखाले भने वर्षाका कारण विद्युत सेवा विस्तारमा ढिलाई भएको बताएको छ । शाखा प्रमुख दिवाकर प्याकुरेलले विद्युतको काम सुरु गरेसंगै वर्षा पनि सुरु भएको र तोकिएको समयमै विद्युत सेवा पुर्याउनन नसकिएको बताउनुभयो ।

“असार महिनामै केन्द्रीय प्रसारणको विद्युत सेवा पुर्याउनने लक्ष्य थियो, तर सकिएन,” उहाँले भन्नुभयो । वर्षा संगै टेन्डर प्रक्रिया र विद्युत सामग्रीको अभावले गर्दा विद्युत विस्तारमा समस्या आईपरेको प्याकुरेललको भनाई छ । उहाँका अनुसार चार महिनादेखी बन्द भएको यहाँको बाँकी काम समेत बर्षा रोकिए लगत्तै सुरु हुने बताईएको छ । विद्युत प्राधिकरणले जिल्लाको त्रिवेणी गाउँपालिका हुँदै नवाकोट, खोलागाउँ र चौरजहरी सम्म केन्द्रीय प्रसारणको सेवा विस्तार गर्ने तयारी गरेको जानकारी दिएको छ ।

यसका लागि एक करोड टेन्डर प्रक्रियाको काम पनि पक्रियामै रहेकाले आगामी वर्ष केन्द्रीय प्रसारणको विद्युत गाउँ–गाउँमा पुग्ने रुकुम वितरण शाखा केन्द्रले जनाएको छ ।

तस्विरमा हेर्नुस सडक छेउमा लथालिङ्ग रहेका तार र पोलहरु

प्रतिक्रिया दिनुहोस्