काठमाडौं । मलेसियाको राजधानी क्वालालुम्पुर क्षेत्रमा विषाक्त मदिरा सेवन गर्दा १५ जनाकाे मृत्यू भएकाे छ । मृत्यू हुनेमा ७ नेपाली रहेको मलेसियन सञ्चारमाध्यमले जनाएका छन् ।
सोमबार मलेसियामा छुट्टी मनाउन उनीहरुले मदिरा सेवन गरेकाे बताइएकाे छ । क्वालालम्पुर क्षेत्रको सुनगाई बुलो, गोमबाक, काजाङ, क्लाङ र शाह आलम क्षेत्रमा मदिरा सेवन गरी बिरामी परेका ४८ मध्ये १५ जनाको मृत्यु भएको हो । विषाक्त मदिरा सेवनकै कारण थप ३३ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ । जसमा १५ जना नेपाली नागरिक रहेको बताइएको छ ।
क्वालालम्पुरका पुलिस कमिस्नर माजलान मानसोरले ७ नेपालीसहित १५ जनाको मृत्यु भइसकेको र ३३ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको पुष्टि गरेका छन् । मृत्यु हुनेमध्ये दुई जना नेपालीको सनाखत भएको छ । मृत्यु हुनेमा वर्ष २६ का विशाल बुढाथोकी र वर्ष २९ का सञ्जय उराउ रहेका छन ।
अस्पतालमा उपचाररत बिरामीहरुका अनुसार उनीहरुले कालाङक्षेत्रका विभिन्न पसलबाट म्याण्डले ह्विीस्की, किंगफिसर बियर र ग्राण्ड रोयल ह्वीस्की सेवन गरेका थिए ।