प्रतिनिधि सभा समिति निर्वाचन: सभापतिको भागवण्डा मिल्यो

0
Shares

काठमाडौं, (नेस) । प्रतिनिधिसभा अन्तर्गतका १० वटा विषयगत समितिको सभापतिकालागि निर्वाचनको मिति घोषणा गरिएको छ ।

सोमबार बसेको संघीय संसदको बैठकमा सभामुख महराले प्रतिनिधिसभा अन्र्तगतका विषयगत समितिका सभापतिहरुको निर्वाचनको मिति असोज ५ गतेका लागि तय गरिएकोे जानकारी दिनुभयो ।

प्रतिनिधिसभाका सार्वजनिक सुनुवाई समितिमा लक्ष्मणलाल कर्ण, अर्थ समितिमा कृष्णप्रसाद दाहाल, अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पबित्रा निरौला खरेल, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा बिमलप्रसाद श्रीवास्तव, कानून, न्याय तथा मानवअधिकार समितिमा कृष्णभक्त पोखरेल, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक समितिमा निरुदेवी पाल, राज्य व्यवस्था समितिमा शशी श्रेष्ठ, विकास तथा प्रविधि समितिमा बिनाकुमारी श्रेष्ठ, शिक्षा तथा स्वास्थ्य समितिमा जयपुरी घर्ती र सार्वजनिक लेखा समितिमा नेपाली कांग्रेसका भरतकुमार साह सभापति बन्ने सम्भावना छ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा कसले नेतृत्व गर्ने भन्ने टुंगो लागिसकेको छैन ।

कर्ण, दाहाल, खरेल, श्रीवास्तव, पोखरेल, साह निर्वाचित सांसद हुनुहुन्छ । कर्ण राष्ट्रिय जनता पार्टीका सांसद् हुनुहुन्छ, उहाँ अहिले समितिको जेष्ठ सदस्यको भूमिकामा हुनुहुन्छ ।

श्रीवास्तव संघीय समाजवादी फोरम नेपालका सांसद् हुनुहुन्छ । प्रतिनिधिसभा नियमावलीमा ३३ प्रतिशत सभापति महिला हुनुपर्ने व्यवस्था गरिएको छ । सबैभन्दा बढी सदस्य विकास तथा प्रविधि समिति र सार्वजनिक लेखा समितिमा रहेका छन्, ती समितिमा २७ जना सदस्य रहनु भएको छ भने कानून, न्याय तथा मानवअधिकार समितिमा २३ जना मात्र सदस्य रहेका छन् ।

समितिमा सभापति चयन गर्नका लागि सोमबार एउटा समितिमा भएका सदस्यलाई अर्को समितिमा सरुवा गरिएको थियो ।

Skip This