लिउको एसियाडमा विश्व कीर्तिमान



१८औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत पौडीमा लिउ सियाङले विश्व कीर्तिमान राखेकी छन् । प्रतियोगिता शुरु भएको चौथो दिनमा विश्व कीर्तिमान बनेको हो । चीनकी लिउल महिलातर्फ ५० मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जित्न २७ सेकेण्ड भन्दा कम समय खर्चिन् । २१ वर्षीया पौडीबाजले चीनकै पौडी खेलाडी जाओ जिङको विश्व कीर्तिमान तोडेकी छिन् । जाओले २००९ मा विश्व च्याम्पियनसिपमा राखेको २७.०६ सेकेण्डको समयलाई लिउले २६.९८ सेकेण्डमा खुम्च्याएर नयाँ विश्व कीर्तिमान रचिन् ।

लिउले विश्व कीर्तिमान बनाएपछि बताइन्—मेरो मुख्य ध्यान भनेको वास्तवमा ५० मिटर फ्रिस्टाइल हो । मैले विश्व कीर्तिमान राख्छु भनेर आशा गरेकै थिएन । किनभने मेरो ध्यान फ्रिस्टाइलमा हो र मलाई कुनै दवाव पनि थिएन ।
लिउले सन् २०१५ को विश्व च्याम्पियनसिपअन्तर्गत ५० मिटर ब्याकस्ट्रोकमा २७.४० सेकेण्डसहित तेस्रो स्थान हासिल गरेकी थिइन् । तर तीन वर्षपछि उनले समयमा निकै सुधार गरेर विश्व कीर्तिमान राख्न सफल भएकी छिन् ।
यो स्पर्धामा दोस्रो भएकी चीनकी फु युयानहुईले २७.६८ सेकेण्डमा रजत जितिन् । फुले २०१४ एसियाडमा ५० मिटर र १ सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण जितेकी थिइन् । त्यस्तै जापानकी नाटसुमी साकाईले २७.९१ सेकेण्ड लिएर कांस्यमा चित्त बुझाएकी थिइन् । साकाई २०१७ विश्व जुनियर च्याम्पियन हुन् ।

प्रतिक्रिया दिनुहोस्