ब्याडमिन्टनमा मिश्रित नतिजा



नेपाल समाचारपत्र, काठमाडौं
इन्डोनेसियामा जारी १८ औं एसियाली खेलकुदमा नेपालको लगातार निरस प्रदर्शनबीच ब्याडमिन्टनतर्फ महिला खेलाडी नङसल तामाङ महिला सिंगल्सको अर्को चरणमा प्रवेश गरेकी छन् ।

नङशलले माल्दिभ्सकी खेलाडीलाई २१–१, २१–१५ को सोझो सेटमा हराएर अन्तिम १६ मा स्थान सुरक्षित गरेकी हुन् । त्यस्तै पुरुष डबल्समा नेपालका विकास श्रेष्ठ र नवीन श्रेष्ठको जोडीले मंगोलियाका खेलाडीलाई २१–१२, २१–७ को सेटले पराजित गरी अन्तिम १६ मा पुगेको छ ।

तर अन्य स्पर्धामा भने नेपाली खेलाडीको चुनौती समाप्त भएको छ । महिला सिंगल्सतर्फ नङ्सल अर्को चरणमा पुग्दा जेसिका गुरुङ भने थाइ खेलाडीसंग २१–७, २१–५ ले सहजै पराजित भइन् । महिला डबल्समा थाइल्यान्डका खेलाडीले जेशिका र नङशलको जोडीलाई २१–७, २१–५ ले हरायो ।

यसैगरी पुरुष डबल्सतर्फ नेपालको नम्बर एक जोडी दिपेश धामी र रत्नजीत तामाङले पाकिस्तानी जोडीसँग माथ खाए । रत्नजित र नङसल मिक्स डबल्सतर्फ आयोजक राष्ट्र इन्डोनेसियाका खेलाडीसँग सोझो सेटमा हारेका थिए । मिक्स डबल्समै हङकङको जोडीले दीपेश धामी र जेशिका गुरुङको जोडीलाई निरास गरेको थियो ।

भारोत्तोलन
भारोत्तोलनको पुरुषतर्फ ७७ केजीमा नेपालका विकास श्रेष्ठले २० प्रतिस्पर्धी सहभागि भएकोमा १५ औं स्थान हासिल गरेका छन् । उनले स्नाचमा १ सय १३ केजी र क्लिन एन्ड जर्कमा १ सय ३५ केजी गरी कूल २ सय४८ केजी भार उठाएका थिए । भारोत्तोलनतर्फ यस अघि सन्जु चौधरी र कमलबहादुर अधिकारीले आफ्नै राष्ट्रिय कीर्तिमानमा सुधार गरेका थिए ।

पौडी
पौडीको पुरुष १ सय मिटर फ्रिस्टायलमा नेपालका शिरीष गुरुङले ४० औं भएका छन् । यो स्पर्धाको राष्ट्रिय कीर्तिमानधारी शिरीषले निर्धारित दूरी ५७.९२ सेकेन्डमा पूरा गरे । उक्त स्पर्धामा ४७ खेलाडीको सहभागिता थिए । महिला ५० मिटर ब्रेस्टस्ट्रोकमा टीसा शाक्य २६ औं स्थानमा रहिन् । उनले निर्धारित दूरी तय गर्न ३९.४६ सेकेन्ड समय खर्चिन् ।

कबड्डी
पुरुष कबड्डीमा आफनो अन्तिम लिग खेलमा पाकिस्तानसंग पराजित भएको छ । समूह ‘बी’ अन्तर्गत खेलमा नेपाल पाकिस्तानसँग ३८–२० अंक अन्तरले हारेको थियो । पाँच खेलमा नेपालले एक मात्र खेलमा जित हात पार्ने क्रममा मलेसियालाई २९–१७ ले पराजित गरेको थियो । नेपालको एसियाडको कबड्डीमा सो पहिलो जित पनि थियो ।

पाराग्लाइडिङ ः
पाराग्लाइडिङको पुरुष व्यक्तिगत एकुरेसीमा नेपालका विजय गौतम आठौं र सुशील गुरुङ २४औं स्थानमा रहे । १० चरणको सो प्रतिस्पर्धामा ३३ खेलाडीले सहभागिता जनाएका थिए । सोही स्पर्धाको महिलामा नेपालकी तृषा श्रेष्ठ बमजन तामाङ १४औं र प्रतिभा भुजेल १५औं स्थानमा रहे । यसमा १८ खेलाडीले भाग लिएका थिए ।

स्क्वास
जकार्ता एसियाडमा अन्तिममा थपेको खेल स्क्वासमा नेपालका दुबै खेलाडी अरहान्त केशर सिंह र अमृत थापामगरको चुनौती पहिलो चरणमै समाप्त भयो । पाकिस्तानका खेलाडीसँग अरहान्त र अमृत हङकङका खेलाडीसँग हारेका थिए ।

आर्चरी
आर्चरीको पुरुष व्यक्तिगत रिकर्भमा नेपालका तिलक पुन मगर चीनका खेलाडीसंग अन्तिम १६ को खेलमा ६–४ ले पराजित भए । त्यसअघि उनले भुटानका खेलाडीलाई ६–० ले हराएका थिए । सोही स्पर्धामा नेपालका रोशन नगरकोटी श्रीलंकाका खेलाडीसंग ६–० ले हारे । महिला व्यक्तिगत रिकर्भमा नेपालकी ज्ञानु अवाले हङकङकी खेलाडीसंग ६–२ ले पराजित भइन् ।

 

प्रतिक्रिया दिनुहोस्