कमलद्वारा राष्ट्रिय कीर्तिमान सुधार



जकार्ता, (एजेन्सी)
१८ औं एसियाडअन्तर्गत भारोत्तोलनमा नेपालका कमलबहादुर अधिकारीले बुधबार कीर्तिमान रचेका छन् । उनले पुरुष ६९ केजीको स्न्याच, क्लिन एन्ड र कुलमा गरी आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरेका हुन् ।

कमलले स्न्याचमा १ सय १९ केजी र क्लिन एन्ड जर्कमा १ सय ६० गरी कुल २ सय ७९ केजी भार वहन गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरे । स्न्याचमा कमलकै नाममा १ सय १८ केजीको कीर्तिमान थियो जुन उनले २०७१ सालमा ललितपुरमा भएको तेश्रो ग्राँ पिमा बनाएका थिए ।

क्लिन एन्ड जर्कमा कमलले बेइजिङ ओलम्पिकमा बनाएको १ सय ५५ केजीको कीर्तिमानलाई सुधार गर्ने क्रममा दोश्रो लिफ्टमै १ सय ५६ केजी उचालेका थिए । लगातार चौथो एसियाड खेली रहेका कमल तेश्रो लिफ्टमा १ सय ६० केजी भार वहन गर्दै पुनः १ सय ५६ केजीको कीर्तिमानलाई सुधारे । कमल समग्रमा १४ औं स्थानमा रहे ।

तेक्वान्दो
पुरुष ६३ केजीमुनि वीरबहादुर महरा र पुरुषकै ८० केजी तौलसमूहमा भुपेन श्रेष्ठले हारेपछि नेपालको तेक्वान्दोमा पदक जित्ने आसा अब दुई खेलाडीमाथि रहेको छ । आज महिला ४९ केजीमुनि अस्मिता खड्का र पुरुष ६८ केजीमुनि ज्ञानेन्द्र हमालले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । वीरबहादुरले अन्तिम १६ को प्रतिस्पर्धामा काजाकिस्तानका खेलाडीसंग ३०–१९ ले हार आत्म सात गरेका थिए । त्यस्तै भुपेन अफ्गानिस्तानका रमेश हुसानीसंग २७–७ ले पछि परे ।

लन्डनको अभ्यास फापेन
एसियाली खेलकुदको लागि नेपालकी जलचरी गौरिका सिंहले लन्डनमै बसेर पौडीको अभ्यास गरेकी थिइन् । तर उनको लन्डन पौडीको अभ्यास जकार्ताको पौडीपोखरीमा फापेन ।

उनी महिला महिला २ सय मिटर फ्रिस्टाइलमा १९औं स्थानमा रहिन् । २४ प्रतिस्पर्धी रहेको उक्त इभेन्टमा उनले २ मिनेट १२.५३ सेकेन्ड समयमा दुरी पार गरेकी थिइन् । यसैगरी पुरुष १ सय मिटर ब्रेस्टस्ट्रोकमा ३२ पौडीबाजले स्पर्धा गरेकोमा शुभम् श्रेष्ठ २७ औं स्थानमा रहे । उनले १ मिनेट ११.३७ सेकेन्डमा दूरी पूरा गरे ।

लनटेनिस
लनटेनिसमा नेपालको चुनौती समाप्त भएको छ । महिला डबल्समा बुधबार नेपालका मायांका राणा र माहिका राणाको पराजयसंगै नेपालको चुनौती समाप्त भएको हो । पालेम्वाङमा जापानका मोयुका उचिजिमा र इरिका हायासीको जोडीले मायांका र माहिकाको जोडीलाई ६–० र ६–० को सोझो सेटमा पराजित गरे ।

भलिबल
पुरुष भलिबलमा नेपालले पराजय भोगेको छ । समूह चरणको आफ्नो पहिलो खेलमा नेपाल चाइनिज ताइपेईंसंग २५–२३, २५–१९ र २५–१५ को सोझो सेटमा पराजित भयो ।

कबड्डीमा जित
पुरुष कबड्डीमा नेपालले चार खेलमा पहिलो जित हात पारेको छ । समूह ‘बी’ को लिगमा नेपालले मलेसियालाई २९–१७ ले पराजित गर्दै पहिलो जित हात पा¥यो । सोही दिन इरान विरुद्धको खेलमा भने नेपाल ७१–२१ ले हारेको थियो । यसअघि नेपाल इन्डोनेसिया र जापानसंग हारेको थियो ।

पाराग्लाइडिङ
पाराग्लाइडिङको पुरुष टिम एक्युरेसीमा नेपाल आठौं भएको छ । नेपाली टिमबाट विमल अधिकारी, विजय गौतम, सुशील गुरुङ र युकेश गुरुङले प्रतिस्पर्धा गरेका थिए । यो इभेन्ट्समा आयोजक इन्डोनेसियाले स्वर्ण जितेको छ । दक्षिण कोरियाले रजत र थाइल्यान्डले कास्य पदक हात पारे ।

महिला टिम एक्युरेसीमा नेपाल सातौं स्थानमा रह्यो । नेपाली टिमबाट त्रिसा श्रेष्ठ, प्रतिभा भुजेल र सविता तामाङले प्रतिस्पर्धा गरेका थिए । महिला टिम एक्युरेसीको स्वर्ण थाइल्यान्डले जित्यो । इन्डोनेसियाले रजत र दक्षिण कोरियाले कास्य प्राप्त गरे ।

यता पुरुष व्यक्तिगत एक्युरेसीमा नवौं राउन्डको खेल सकिँदा नेपालका विजय गौतम १७ औं र सुशील गुरुङ २१औं स्थानमा छन् ।

उसु
महिला छान् छ्वानमा नेपालकी सुस्मिता तामाङ सातौं भइन् । ९ खेलाडी सहभागी उक्त स्पर्धामा सुस्मिताले ९.२५ अंक बटुलिन् । चीन पहिलो, मकाउ दोश्रो र भियतनाम तेश्रो भए ।

 

प्रतिक्रिया दिनुहोस्