बेकह्यामलाई युईएफए प्रेसिडेन्ट्स अवार्ड



लन्डन, (एजेन्सी)
इंग्ल्यान्डका चर्चित फुटबलर डेभिड बेकह्याम युरोपियन फुटबलको उच्च अवार्ड ुयुईएफए प्रेसिडेन्ट्स अवार्डबाट सम्मानित हुने भएका छन्।
फुटबलको प्रवर्द्धनमा संसारको सबै कुनाबाट लागेको भन्दै युईएफएले उनलाई यस्तो सम्मान गर्न लागेको हो ।

युरोपियन फुटबलको सर्वोच्च निकाय युनियन अफ युरोपियन फुटबल एसोसिएसन (युईएफए) ले मंगलबार इंग्ल्यान्डका पूर्वकप्तान बेकह्यामलाई अवार्ड दिने निर्णय गरेको हो । युईएफएले फुटबलमा पु¥याएको योगदानको कदर गर्दै बेकह्यामलाई यो बर्षको प्रेसिडेन्ट्स अवार्ड दिने जनाएको हो ।

सन् २०१८ को युईएफए प्रेसिडेन्ट्स अवार्ड डेभिड बेकह्यामलाई दिने घोषणा गर्न पाउँदा आफू निकै खुसी रहेको युईएफए प्रेसिडेन्ट्स अवार्ड घोषणा कार्यक्रमका अध्यक्ष एलेक्जेन्डर सेफेरिनले बताए । उनले बेकह्याम आफ्नो पुस्ताका एक सच्चा फुटबल आइकन भएको बताए ।

युईएफएले बेकह्यामलाई आगामी अगष्ट ३० मा मोनाकोमा हुने विशेष समारोहकाबीच बेकह्यामलाई अवार्ड दिनेछ । सोही दिन युईएफएले च्याम्पियन्स लिगको खेल तालिका पनि सार्वजनिक गर्दैछ ।

२० वर्ष फुटबल खेलाडीका रुपमा सक्रिय रहेका बेकह्यामले इंग्लिस टोलीबाट १ सय १५ अन्तर्राष्ट्रिय खेल खेल्दै १५ गोल गरेका छन् । ४३ वर्षीय बेकह्यामले आफ्नो क्लब करियरमा १० लिग उपाधिसहित १९ ट्रफी जितेका छन् ।

बेकह्यामले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड, स्पेनिस क्लब रियल मेड्रिड, इटालियन क्लब एसी मिलान, फ्रेन्च क्लब पिएसजी र अमेरिकी क्लब एलए ग्यालेक्सीबाट व्यवसायिक फुटबल खेलेका थिए । यसअघि नेडरल्यान्ड्सका योहान क्रुएफ, इंग्ल्यान्डका बबी चाल्र्टन तथा बबी रब्सन, जर्मनीका फ्रान्ज बेकेन्बाउर र इटालीका पाओलो माल्डिनीले यो अवार्ड जितिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्