भारतको जित बाढी पिडितलाई समर्पित



नयाँ दिल्ली, (एजेन्सी)
भारतले इंग्ल्यान्डविरुद्धको तेस्रो टेस्ट २ सय ३ रनले जितेर ५ खेलको टेस्ट सिरिज २–१ को स्थितिमा पुगेको छ । ट्रेन्ट ब्रीजमा पाएको जित भारतीय कप्तान विराट कोहलीले भारतको प्रान्त केरलामा आएको बाढी पिडितलाई समर्पण गरे । करिब ४ सय जनाको ज्यान गइसकेको सो बाढीले त्यहाँका लाखौैं जनता विस्थापित पनि भइसकेका छन् ।

कोहलीले जितपछि बताए—हामीले यो जित केरलामा बाढी पिडितलाई समर्पण गरेका छौ ।

यो जितले भारतको जारी सि।िरजमा पुनरागमन पनि भएको छ । इंग्ल्यान्डको भूमिमा कोहलीको नेतृत्वमा यो पहिलो जित थियो । साथै यो जित भारतको इंग्ल्यान्डमा सातौं जित समेत बनेको छ । ४६ वर्षको लामो समयमा भारतले इंग्ल्यान्डमा मात्र ७ टेस्ट जितेको छ । भारत सिरिजमा ०–२ ले पछाडि थियो र सिरिजमा रहिरहन यो टेस्ट जित्नै पर्ने भारतमाथि ठूलो दवाव थियो ।

उता इंग्ल्यान्डको लागि भने यो टेस्ट जितेर सिरिज हात पार्ने दाउमा थियो ।
टस जितेर भारतले पहिलो ब्याटिङ गर्दै ३ सय २९ रन जोडेको थियो । जसमा कप्तान कोहलीले ९७ रन र आजिन्क्य रहाणेले ८१ रनको योगदान दिए । बलिङमा पनि भारतीय बलरले सानदार प्रदर्शन गरे । हार्दिक पान्डेले पहिलो पटक टेस्ट क्रिकेटमा ५ विकेट लिए । नतिजा इंग्ल्यान्ड १ सय ६१ रनमै समेटियो ।

दोस्रो इनिङमा कोहलीले सतक बनाएका थिए । हार्दिकले छिटो गतिमा अर्धसतक प्रहार गरेका थिए । भारतले ५ सय २१ रनको विशाल लक्ष्य घरेलु टोलीसामु राख्यो । इंग्ल्यान्डका लागि जोस बटलर र स्टोक्सले पाँचौं विकेटका लागि १ सय ६९ रनको साझेदारी गर्दा भारतले जित्न ढिलो भएको थियो । जबकी इंग्ल्यान्डले ६६ रनका लागि ४ विकेट गुमाउँदा बटलर र स्टोक्सले ब्याटिङ सम्हालेका थिए । तर भारतीय बलर जसप्रीत बुमराहले ५ विकेट लिएर इंग्ल्यान्डको दोस्रो इनिङ ३ सय १७ रनमा रोक्न महत्वपूर्ण भुमिका खेले ।

सफल कप्तान
नटिंघम टेस्टमा भारतको जितमा कप्तान कोहली म्यान अफ द म्याच घोषित भए । उनले पहिलो इनिङमा ९७ रन र दोस्रो इनिङमा १ सय ३ रन बनाएका थिए । उनको यो २३औं टेस्ट सतक पनि हो । इंग्ल्यान्डको भुमिमा कोहलीको कप्तानीमा पहिलो जित पनि थियो । यो जितसँगै कोहली भारतको सबैभन्दा सफल कप्तानको सूचीमा दोस्रो स्थानमा रहेका छन् ।

कोहलीले ३८ खेलमा भारतलाई २२औं टेस्ट खेलमा जित दिलाएका छन् । उनी भन्दा अगाडि पूर्व कप्तान महेन्द्र सिंह धोनीले ६० टेस्टमा २७ जित हात पारेका छन् । कोहलीको यो जितले पूर्व कप्तान सौरभ गांगुली तेस्रो स्थानमा चिप्लेका छन् । उनले भारतलाई ४९ टेस्टमा २१ जित दिलाएका थिए । यसपछि मोहम्मद अजरुद्दीनको कप्तानीमा भारतले ४७ टेस्टमा १४ जित हासिल गरेको छ ।

विश्वभरमा कोहली तेस्रो
विश्व क्रिकेटमा तुलना गर्दा भारतीय कप्तान कोहलीको यो संख्याको सफलता तेस्रो नम्बरमा आउँछ । पहिलो नम्बरमा अस्टे«लियाका पूर्व कप्तान रिकी पोन्टिङको नाम समावेश छ । उनले अस्टे«लियालाई आफनो कप्तानीमा ३८ टेस्ट खेलमा ३० जित दिलाएका थिए । दोस्रो नम्बरमा रहेका स्टिभ वागले पनि ३८ टेस्ट नेतृत्व गर्दा अस्टे«लियाले २७ जित प्राप्त गरेको थियो । कोहलीसँगै २२ जित दिलाउनेमा इंग्ल्यान्डका पूर्व कप्तान माइकल भोन छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्