नेपालले ६७ रनले जित्यो



काठमाडौं, (नेस)
मलेसियामा हुने एसिया कप क्रिकेट छनोटको लागि तयारीमा लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा जित हासिल गरेको छ ।

श्रीलंकामा तीन अभ्यास खेल खेल्न भ्रमणमा रहेको नेपालले त्यहाँको स्थानीय क्लब श्रीलंका आर्मी स्पोर्टस्लाई ६७ रनले हरायो । पानागोडा क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपालले १ सय ९५ रनको लक्ष्य दिएकोमा श्रीलंका आर्मी १ सय २७ रनमा समेटिएको थियो । टोलीका लागि जगत राजापाक्षाले सर्वाधिक ४६ रनको योगदान दिएका थिए । नेपाली बलरमा सोमपाल कामी र वसन्त रेग्मीले तीन–तीन विकेट लिए । त्यस्तै दिपेन्द्र सिंह ऐरीले २ विकेट हासिल गरे ।

यसअघि नेपालले ब्याटिङमा ४८ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर १ सय ९४ रनको योगफल तयार गरेको थियो । टोलीका लागि आरिफ शेखले सबैभन्दा बढी ८९ रन बनाए । अन्य भने उल्लेख गर्न लायक थिएन । कप्तान ज्ञानेन्द्र मल्लले २१ रन जोड्दा बलर बसन्तले १६ रन जोडेका थिए ।

यस्तै विनोद भण्डारी पनि व्यक्तिगत १६ रनमै पवेलियन फर्केका थिए । घरेलु टोलीका बलरमा मधुसान फर्नान्डोले नेपालका तीन ब्याटसम्यानलाई आउट गरेका थिए । नेपालले दोस्रो अभ्यास खेल शुक्रबार खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्