सियाम विश्वविद्यालयसँगको साझेदारीमा ८२ विद्यार्थी दीक्षित

0
Shares

काठमाडौँ ।
थाइल्याण्डको सियाम विश्वविद्यालयसँगको साझेदारीमा सञ्चालित ९बिबिए० कार्यक्रमको पहिलो ब्याचका ८२ विद्यार्थीलाई स्नातकोपाधिले दीक्षित गरिएको छ ।

सियाम विश्वविद्यालयसँगको साझेदारीमा काठमाडौँ कलेज अफ म्यानेजमेन्ट ९केसीएम० ले सञ्चालन गरेको बिबिए कार्यक्रमको पहिलो ब्याच ९२०१४–२०१८० को आज यहाँ दीक्षान्त आयोजना गरियो ।

समारोहमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दीक्षित विद्यार्थीलाई स्नातकोपाधिको प्रमाणपत्र वितरण गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाल र थाइल्याण्डबीच वर्षौंदेखिको सम्बन्धबाट व्यापार र व्यवसायको क्षेत्र लाभान्वित हुँदै आएको बताउनुभयो ।

“सियाम विश्वविद्यालयसँगको साझेदारीमा सञ्चालित बिबिए कार्यक्रमबाट स्नातकोपाधि हासिल गरेका विद्यार्थीबाट व्यापार, व्यवसाय र व्यवस्थापनको क्षेत्रमा उत्कृष्ट उपलब्धि हासिल हुने विश्वास गरेको छु”–उहाँले भन्नुभयो ।

सांसद विनोद चौधरीले देश विदेशका व्यावसायिक पृष्ठभूमि नभएकाले पनि व्यवसाय शुरु गरी सफल बनेका युवाको उदाहरण दिँदै सफल बन्न सपना देख्नुपर्ने र पूरा नभएसम्म लागिपर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

सियाम विश्वविद्यालय, थाइल्याण्डका सहअध्यक्ष प्रा डा धिरायोस वितिसुधवन्नाकुलले विश्वविद्यालय र काठमाडौँ कलेज अफ म्यानेजमेन्टबीचको शैक्षिक साझेदारीले दुवै देशबीचको सम्बन्ध विस्तारमा नयाँ आयाम थप्ने बताउनुभयो ।

कार्यक्रममा नेपालका लागि थाइल्याण्डका राजदूत भाकवत तान्सकुल, नेपाल–थाई च्याम्बर अफ कमर्सका अध्यक्ष अजय मुडभरी, उपाध्यक्ष रमेश हमाल, कलेजका प्राज्ञिक निर्देशक प्रा डा पुष्पराज अधिकारीलगायतले दुई देशबीच शैक्षिक सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा बिबिए कार्यक्रमअन्तर्गत फाइनान्स तथा बैंकिङ र मार्केटिङ समूहबाट सर्वोत्कृष्ट स्थान हासिल गर्ने क्रमशः आस्था जोशी र सोनु चौधरीलाई सम्मान गरियो ।

दीक्षित विद्यार्थीमध्येबाट फाइनान्स तथा बैंकिङ समूहकी सर्वोत्कृष्ट स्थान हासिल गर्ने आस्था जोशीले कलेज पढ्दाका आफ्ना अनुभव सुनाउनुभयो ।
रासस