कम्यनिस्टहरूको ‘भण्डाफोर’ गर्न कांग्रेसका सबै गुट एक



काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद यथावत रहेका बेला सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरूले आन्तरिक बैठक गरेका छन् ।

उनीहरूले पार्टीभित्रको विवाद अन्त्य गरेर वर्तमान कम्युनिस्ट सरकारका गलत क्रियाकलापको कसरी सामना गर्ने भनेर ठोस रणनीति बनाएका छन् ।

काठमाडौंमा मंगलबार भएको बैठकमा सरकार निरंकुश, स्वयच्छाचारी र अधिनायकवादतर्फ उन्मुख भएको निस्कर्ष निकालिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

उनका अनुसार संसद र सडकमा सरकारका गलत क्रियाकलापको संगठित भएर सामना गरिनेछ । गंगामाया अधिकारी र डा.गोविन्द केसीका माग पूरा गराउन पनि कांग्रेसले दवाव दिने भएको छ ।

यो बैठकले कांग्रेसको आन्तरिक विवाद अन्त्य गर्नलाई सहयोग मिल्ने प्रवक्ता शर्माले जानकारी दिए । ‘बैठकमा सरकारको कामकारबाही, संसदमा प्रभावकारिता, डा.गोविन्द केसी र गंगामाया अधिकारीको अनशनका बारेमा छलफल भएको छ’, उनले भने, ‘देउवा–पौडेल मात्रै होइन बैठकमा अरु पनि नेताहरू सहभागी हुनुहुन्थ्यो ।’

सरकारले संविधान र ऐन विपरितका गतिविधि गरेको प्रवक्ता शर्माले बताए । ‘हरेक ठाउँमा निषेधाज्ञा राखेर प्रदर्शनबाट ओली सरकार डराएको छ’, उनले भने, ‘गोविन्द केसी र गंगामाया अधिकारीको मागका बारेमा उदाशिन भएको छ ।’

सरकारले आफूलाई नागरिकका पक्षमा जसर प्रस्तुत गर्नुपर्ने हो त्यो गर्न नसकेको बताएका शर्माले भने, ‘सरकारका गलत कुरालाई अंकुश लगाउनुपर्छ ।’

पार्टीभित्रको आन्तरिक विवादलाई मिलाउन शीर्ष नेताहरू सक्रिय रहेको शर्माले बताए । बैठकमा महामन्त्रीद्वय डा.शशांक कोइराला र पूर्णबहादुर खड्काका साथै अन्य केही नेताहरू पनि सहभागी थिए ।

देउवा र पौडेल नजिकएको केन्द्रीय सदस्यहरू कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी, गगन थापा, चन्द्र भण्डारीसहितका गुटका नेताहरूले नरुचाएका स्राेतले बताएकाे छ । देउवालाई एक्लाउन पौडेलले आफूहरूलाई धोका दिएर असहयोग गरेको सिटौला–सिंह समूहको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्