अनशनको ‘चक्रव्यूह’ कहिलेसम्म ?



डा. गोविन्द केसी पुनः जुम्ला पुगेर अनशन शुरु गर्नुभएको छ । काठमाडौंमा आफ्नो सुनुवाइ नभएको भन्दै उहाँले जुम्ला पुगेर अनशन शुरु गर्नुभएको हो । स्वास्थ्य क्षेत्रमा देखिएको बेथितीलाई अन्त्य गर्न भन्दै उहाँले लामो समयदेखि अनशन बस्दै आउनुभएको थियो ।

सरकार र डा. केसी पक्षबीच पटक–पटक सम्झौता हुने गरेको छ । ‘तँ रोएजस्तो गर्, म कुटेजस्तो गर्छु’ भन्ने नेपाली उखान डा. केसीको अनशन बस्ने र तोड्ने विषयले चरितार्थ गर्न खोजेको देखिन्छ ।

आफूलाई कुनै पनि कुरा मन नपरेपछि स्वाथ्य क्षेत्रमा विकृति भयो भन्दै डा. केसी अनशन बस्ने अनि सरकार अनशन तोडाउन जे पनि सम्झौता गर्ने गरेको कारण समस्या समाधान हुनुको सट्टा विकराल बन्दै गएको छ । यसरी डा. केसीको अनशन यात्रा कहिलेसम्म चलिरहला ?

हो, स्वास्थ्य क्षेत्रमा तमाम विकृति र विसंगति छन् । विकृति र विसंगतिको अन्त्य भनेको अनशन मात्रै हो त भन्ने प्रश्न उठेको छ । डा. केसीले शनिबारबाट शुरु गरेको अनशन १४ औं अनशन हो । १३ पटक अनशन बस्दा राज्यले कुन–कुन विकृतिको अन्त्य ग¥यो र अनशनबाट जनताले के प्राप्त गरे ? यस विषयमा लेखाजोखा हुनुपर्दछ ।

डा. केसी अनशन बसिरहने र उहाँको समर्थनमा केही विद्वान्हरु माइतीघर मण्डलामा धर्नामा बसेर फोटो खिचाउने अनि निषेधित क्षेत्र तोडेको भनेर प्रहरीले समात्दै भ्यानमा हालेको फोटो सामाजिक सञ्जालमा हालेर सरकारलाई गाली मात्रै गरिरहने हो भने डा. केसीले उठाएको माग सम्बोधन होला कि नहोला ? एकपटक विचार गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

डा. केसीले पटक–पटक एउटै मागलाई बढी जोड दिएर अनशन बस्नुभएको छ– काठमाडौंमा मेडिकल कलेज खोल्नमा रोक लगाऊ । सरकार भने रोक लगाउँछु भन्छ तर काम गर्दैन । एउटै विषयलाई लिएर पटक–पटक सम्झौता गर्ने अनि धोका दिने सरकारी रबैयाको पनि सर्वत्र आलोचना हुँदासमेत गैंडाजस्तो भएर बस्ने सरकारलाई कसले, कसरी दबाब दिने भन्ने गम्भीर प्रश्न उठ्न थालेको छ ।

डा. केसीले उठाएका केही माग जायज भएको र केही माग पूर्वाग्रहबाट प्रेरित भएकोे भन्ने आममानिसको बुझाइ रहेको छ । पूर्वाग्रह राखेर ल्याइएका मागबाहेक अन्य माग पूरा गर्नेतर्फ सरकार अग्रसर भए सधैँ अनशनको गाईजात्राबाट मुलुकले निकास पाउने थियो । यसतर्फ सरकारको ध्यान जान जरुरी छ । सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने सरकारी हेपाहा प्रवृत्तिको अन्त्य र जतिखेर मन लाग्यो त्यति खेर अनशन बस्ने डा. केसीको बहुलठ्ठीपनको अन्त्य हुनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्