स्याटलाइट सिटी बन्दै उपत्यकामा ४ नयाँ शहर

0
Shares

सुरेश तामाङ

स्थानीय तहलगायतका चुनावताका सबै पार्टीको घोषणापत्रमा र प्रत्येक पटकको भाषणमा प्रत्येक नेताका स्मार्ट सिटी बनाउने मीठा भाषण सुनिए। स्मार्ट सिटी हुन आवश्यक पूर्वाधारबिनै यसरी नेताले हचुवाको भरमा सुनाउँदै हिँडे।

सानो गल्ली, खचाखच बस्ती असरल्ल परेका तार, ढल फुटेकोलगायत दृश्य देख्न सकिने उपत्यकामा स्मार्ट सिटीको सपना देखाउनु त ठीकै हो तर ठोस योजनाबिनै यसरी चुनावताका मात्रै चर्काे भाषण गरेर स्मार्ट सिटीलाई चुनावी एजेन्डा बनाउँदै नेताले भोट पाउने हतियार बनाएका छन्।

स्मार्टसिटीलाई चुनावी हतियार बनाउँदै जिते पनि। कोही सांसद बने। कोही मेयर बने। तर यसको लागि काम भने वरको सिन्को पर सरेको छैन। चुनावताका घाँटी सुक्ने गरी स्मार्ट सिटी बनाउँछु भन्दै हिँड्ने नेताले जितेर सिन्को नभाँचे पनि सरकारको विभिन्न निकायले भने नेताले चुनावमा भाषण गर्दै हिँड्नुअघि नै काठमाडौंका ४ स्थानमा स्मार्ट सिटी नभए पनि स्याटेलाइट सिटीको अवधारणाअनुसार नयाँ शहर बन्दैछ।

काठमाडौं उपत्यकामा बढ्दो शहरी चापलाई मध्यनजर गर्दै छरिएर रहेको बस्तीलाई एकीकृत गर्ने सोचका साथ काठमाडौं उपत्यका विकास प्राधिकरणले उपत्यकाको १० प्रतिशत भूभागमा नयाँ शहर बनाउने कार्यको थालनी भइसकेको छ।

प्राधिकरणका इन्जिनियर भागवतभक्त खोखालीले योजनागत विकास गर्ने अव्धारणा अनुसार ल्यान्डपुलिङ प्रणालीबाट शहरको निर्माण गर्न लागिएको बताउनुभयो।

‘अहिले कन्सल्टेन्टले अध्ययन गरिरहेको छ’, उहाँले भन्नुभयो– ‘सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन पनि सँगसँगै भइरहेको, जग्गाको कित्ता, नापीको रेकर्ड अपडेट भइरहेको छ।’

हरेक शहरबासीलाई चाहिने सुविधा यही शहरभित्र हुनु पर्ने अवधारणा प्राधिकरणले ल्याएको इन्जिनियर खोखालीले बताउनुभयो। ‘हामीले निर्माण गर्ने ४ वटै नयाँ शहरमा व्यक्तिलाई चाहिने हरेक सुविधा पाउन सकिने बनाउनु हाम्रो उद्देश्य हो’, उहाँले भन्नुभयो– ‘नयाँ बन्ने शहरमा एयरपोर्टबाहेक हरेक सुविधा पाउन सकिन्छ।’

यी ४ वटा शहरको बीच भागमा बाहिरी चक्रपथ सडक पर्दछ। ५ मिटरको फरकमा बसपार्क बन्छ। शहरको भित्र कुनाकुनामा जाने रुटमा साना सवारी माइक्रो जानेछन्। प्राइमरी स्कुलमा हिँडेर ५ मिनेटभित्र स्कुल पुग्न सक्ने, सेकेन्डरी स्कुलमा बच्चा हिँडेर १५ मिनेटमा स्कुल पुग्नुपर्ने अवधारणाअनुसार विकास गर्ने इन्जिनियर खोखालीले सुनाउनुभयो।

नयाँ शहरको हरेक १ किलोमिटरको दूरीमा खुला क्षेत्र बनाउने।त्यो खुला क्षेत्रको हरेक मिलनविन्दुमा प्रकोप व्यवस्थापन पार्क बन्नेछ। जहाँ विपद्का बेला जम्मा हुन सहज बन्नेछ र विपद्का बेला चाहिने हरेक सामग्री, खानेकुरा, औषधिदेखि हरेक वस्तु राखिएको हुन्छ।

कहाँ बन्दैछन् नयाँ शहर ?

सरकारले काठमाडौं, भक्तपुर र ललितपुरको १ लाख ३० हजार रोपनीमा नयाँ शहर बनाउँदैछ। तीमध्ये ३ नयाँ शहर १० हजार रोपनी क्षेत्रफलका हुनेछन् भने एउटा नयाँ शहर भने १ लाख रोपनी क्षेत्रफलको हुनेछ।

काठमाडौंको गोठाटारमा रहेको क्रिकेट मैदान हुँदै भक्तपुरको तेलकोट, मध्यपुर थिमिसम्मको भू–भागलाई समेटेर १ लाख रोपनीमा एउटा स्मार्ट सिटी बन्नेछ। त्यस्तै, भक्तपुरको सूर्यविनायक हुँदै गुन्डु, बालकोटलगायत ललितपुर जोड्ने लामाटारसम्मको क्षेत्रलाई आधारमा मानेर १० हजार रोपनीमा अर्को स्मार्ट सिटी बन्नेछ।

त्यसैगरी ललितपुरको सैबु हुँदै भैसेपाटी, बुङमती, खोकना र बागमती नदीदेखि चोभार जोड्ने क्षेत्रलाई समेटेर १० हजार क्षेत्रफलमा अर्को स्मार्ट सिटी बन्नेछ। त्यसैगरी चक्रपथबाट टोखा जाने मूल सडकको ग्रिनल्याड चोकदेखि टोखा बजार हुँदै काभ्रेस्थली, महादेव खोलासम्मको १० हजार रोपनी जमिनमा पनि स्मार्ट सिटी बनाउने योजना बनेको छ। ५ लाख मानिस बसोबास गराउने लक्ष्यका साथ परिकल्पना गरिएको यस योजना सम्पन्न गर्न ५ सय अर्ब लागत अनुमान गरिएको छ।

के हो स्मार्ट सिटी ?

संसारमा न्युयोर्क, फ्रेन्च सिटी, लन्डन, बार्सिलोना, सिंगापुर, पेरिस, बर्लिन, टोकियो र कोपनहेगनलगायतका शहर ‘स्मार्ट सिटी’ का रूपमा विकास भइसकेका छन्।

वास्तवमा ‘स्मार्ट सिटी’ भनेको त्यस्तो शहर हो, जहाँको भौतिक संरचना, दीर्घकालीन निर्माण, सञ्चार र बजार अत्याधुनिक हुन्छ। यसलाई पूर्ण व्यवस्थित शहरको रूपमा परिभाषित गरिन्छ। आधुनिक शहरमा आवश्यक पर्ने कुनै पनि विषय नछुटेको शहरलाई स्मार्ट सिटी भनिन्छ। यस्तो शहरमा सूचना प्रविधिलाई प्राथमिक पूर्वाधारका रूपमा राखिएको हुन्छ।

सामान्य बुझाइमा स्मार्ट सिटी अत्याधुनिक सुविधा सम्पन्न शहर हो। र, परिकल्पनाकै कुरा गर्ने हो भने त्यो सिटी स्वर्गजस्तै हुन्छ। जुन सिटीमा विश्वको नविनतम सूचना प्रविधिको प्रयोग गरिन्छ। र, आम नागरिकले सहज सेवा सुविधा पाउँछन्। त्यो, परम्परागत शहरभन्दा विल्कुल फरक र सुविधासम्पन्न हुने गर्दछ।

सरकारले उपत्यकाका ४ शहरलाई कालान्तरमा यस्तै सुविधानसम्पन्न बनाउने परिकल्पना गरेको छ। तर नेताका मीठा भाषण र पार्टीका घोषणापत्रले काठमाडौंको भित्री कोर स्थानलाई चाहिएकै भरमा स्मार्ट सिटी बन्ने अवस्था छैन।

‘स्मार्ट सिटी नेताको जार्गन हो । काठमाडौंका भित्री भागमा नेताले बोलेअनुसार स्मार्ट सिटी बनाउन सम्भव छैन। कि शहर पूरै ध्वस्त पारेर नयाँ बनाउनुपर्यो नभए सम्भव त्यो सम्भव छैन’ –प्राधिकरणका इन्जियिनर खोखालीले बताउनुभयो।

प्राधिकरणले बनाउन लागेका ४ शहर स्मार्ट सिटी नभएको र कालान्तरमा स्मार्ट सिटी बन्न सक्ने उहाँले बताउनुभयो। ‘हामीले परिकल्पना गरेको शहर स्मार्ट सिटी होइन। स्याटलाइट सिटीअनुसारको नयाँ शहर हो। तर त्यो शहर नै कालान्तरमा गएर स्मार्ट सिटी बन्न सक्छ’ –उहाँले भन्नुभयो।

स्मार्ट सिटी भन्नलाई व्यक्ति स्मार्ट हुनु पर्ने उहाँको धारणा छ। व्यक्तिलाई चाहिने हरेक सुविधा हातमा भएको मोबाइलमा १ क्लिक गरेको भरमा घरमै आउनु नै स्मार्ट सिटी रहेको उहाँको भनाइ छ।

स्मार्ट सिटी बन्न के–के हुनुपर्छ ?

स्मार्ट सिटी बनाउन सबैभन्दा पहिला भौतिक संरचनाको विकास गर्नुपर्छ। भौतिक संरचनाको विकास गर्दा विश्वको नविनतम सूचना प्रविधिको प्रयोग अनिवार्य छ। स्मार्ट सिटीमा पर्याप्त खुला क्षेत्र व्यवस्थापन गर्नुपर्छ। पुराना शहरलाई नयाँ स्वरुप दिँदै जानुपर्छ। ती शहर अहिलेका परम्परागतभन्दा विल्कुलै सुविधासम्पन्न हुनुपर्छ। स्मार्ट सिटीका सबै बासिन्दाले रोजगारी पाउनुपर्छ।

स्मार्ट सिटीमा फराकिलो सडक, खाने पानीको उचित व्यवस्थापन, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा व्यवस्था हुनुपर्छ। त्यति मात्र होइन, शहरका हरेक ठाउँमा स्वच्छ वातावारण हुनुपर्छ। समग्रमा भन्ने हो भने, सूचना प्रविधिको प्रयोग गरेर बनाइने धेरै सुविधासम्पन्न शहर नै स्मार्ट सिटी हो।

सुविधा सम्पन्न शहरको परिकल्पना र सुविधाको उपभोग गर्न पाउनु सबैको अधिकार हो। भौतिक सुखको परिकल्पना गर्ने हो भने प्रविधिको प्रयोगबिना सम्भव छैन। प्रविधिको प्रयोगमा कुनै नेपाली पछि पनि छैन। तर, प्रविधिको प्रयोग व्यवस्थित छैन।

मानिसले व्यक्तिगत सुविधाका लागि कुनै न कुनै रूपमा प्रविधिको प्रयोग गरेको पाइन्छ। तर, सामूहिक सुविधाका लागि प्रविधिको उचित प्रयोग हुन सकेको छैन। त्यसैले, सरकारले विश्वका नविनतम प्रविधिको प्रयोग गर्दै आम नागरिकलाई सुविधा दिलाउन स्मार्ट सिटीको परिकल्पना गरेको हो।

Skip This