ब्यानर हटाइएकामा आपत्ति

0
Shares

काठमाडौं, (नेस)
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोधमा विवेकशील साझा पार्टीले राखेको साङ्केतिक विरोध ब्यानर प्रहरीले हटाएकोमा विभिन्न दलका नेताले आपत्ति जनाएका छन्।

पार्टी कार्यालय परिसरमा पुगेर ब्यानर हटाइनु अधिनायकवाद र निन्दनीय कार्य भएको भन्दै नेताहरूले सरकारको आलोचना गरेका हुन्। नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र नेपाली कांग्रेसका नेता गगन थापाले कानुनविपरीत नहुने अभिव्यक्ति र विरोध प्रदर्शनलाई राज्यले बल प्रयोग गर्नु असंवैधानिक कार्य भएको उहाँहरूले बताउनुभएको छ।

भट्टराई र थापाले सामाजिक सञ्जाल ट्वीटरमार्फत सरकारको कार्यशैलीको आलोचना गर्नुभएको हो। मोदीको भ्रमणलाई लक्षित गर्दै विवेकशील साझाले ललितपुर बखुण्डोलस्थित आफ्नो कार्यालयमा ‘मोदीजी स्वागत छ, तर नाकाबन्दी बिर्सिएका छैनौं’ वाक्य लेखिएको फ्लेक्स टाँसेको थियो। शुक्रबार दिउँसो प्रहरीले ब्यानर च्यातेलगत्तै अर्कोपछि फेरि अर्को ब्यानर टाँसिएको भए पनि पुनः प्रहरीले हटाएको थियो। त्यस्तो कार्यको विवेकशील पार्टीले पनि विरोध जनाएको छ।

Skip This