अरुण तेस्रोकाे शिलान्यास भिडियो कन्फरेन्स सिष्टमबाट

0
Shares

काठमाडाैं । बहुचर्चित राष्ट्रिय गौरवको परियोजना अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षि नरेन्द्र मोदीले संयुक्त रूपमा शिलान्यास गर्ने भएका छन्।

संखुवासभाकाे मकालु गाउँपालिकामा निर्माण भइरहेको अरुण तेस्रोको ड्यामसाइड निर्माणस्थल फ्याक्सिन्दा दोभानमा शुक्रबार (आज) साँझ शिलान्यासका लागि सम्पूर्ण तयारी भइरहेको छ।

काठमाडौंबाटै दुवै प्रधानमन्त्रीले भिडियो कन्फरेन्स सिष्टमबाट शिलान्यास गर्ने तयारी गरिएको छ। जसको लागि लगानी बोर्डका प्रतिनिधि र अरुण तेस्रो परियोजना विकासकर्ता सतलज जल विद्युत् निगमका प्रतिनिधिहरू शिलान्यासको अन्तिम तयारी गरिरहेका छन्।

ड्याम निर्माण क्षेत्रमा मञ्चभित्र रिमोर्ट सिष्टमबाट खुल्ने पर्दाको ब्यवस्था गरिएको छ। औपचारिक कार्यक्रम साँझ ७ बजे प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले  काठमाडाैंबाटै स्विच दबाएर आयोजनाको शिलान्यास गर्नेछन्। पाँच वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको अरुण तेस्रो ९०० मेगावट विद्युत उत्पादन हुने आयोजना हो।

भारतीय सतलज कम्पनीले आयोजना निर्माणका लागि १ खर्व २० अर्व खर्च लाग्ने अनुमान गरिएको छ। आयोजनाका लागि अहिले सडक, ड्याम साइड, पावर हाउस, सुरुङ मार्ग निर्माणको कार्य सुरु भइसकेको छ। प्रभावित परिवारलाई आयोजनाले ३० युनिटका दरले निःशुल्क विद्युत् उपलब्ध गराउने सम्झौता भएको छ।

आयोजनाले २६९ परिवारको घर तथा जग्गा अधिग्रहण गरेर करिब एक अर्ब २९ करोड रुपैयाँ मुआब्जा पनि बाँडिसकेको छ। यस आयोजनाबाट नेपालले २५ वर्षमा ३४० अर्व रोयल्टी, निशुल्क विजुली, आय कर, भ्याट र भन्सार शुल्कबाट लाभ हुने छ। उत्पादन सुरु भएको २५ वर्षपछि सतलजले आयोजना नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्नेछ। त्यसपछि नेपाल सरकारको पूर्ण स्वामित्वमा आयोजना सञ्चालन हुनेछ।

Skip This