सिन्डिकेटको मारमा निजी विद्यालय

0
Shares

ईश्वरराज ढकाल, काठमाडौं
सिन्डिकेट समर्थित यातायात व्यवसायीले आफ्ना सवारीसाधन थन्क्याएर सरकार विरोधी आन्दोलन शुरू गरेपछि त्यसको प्रत्यक्ष मार निजी विद्यालयमा परेको छ। यातायात बन्दका कारण राजधानीलगायत देशका ठूला विद्यालयसमेत बन्द भएका छन्।

आन्दोलनकारीले कालो नम्बरप्लेटको सवारीसाधन सञ्चालन नगर्दा त्यस्ता सवारीसाधनमा विद्यार्थी ओसारपसार नभएपछि विद्यालय बन्द भएको हो। निजी विद्यालयको संगठन प्याब्सनका अध्यक्ष विजय सम्बाहाम्फेले यातायात बन्दका कारण ठूला विद्यालय बन्द भएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘भाडाका सवारी साधनबाट विद्यार्थी बोक्ने विद्यालय बन्द भएका छन्।’

राजधानीका अधिकांश ठूला विद्यालयले भाडाको सवारी साधनबाट विद्यार्थी ओसारपसार गर्ने गरेका छन्। राजधानीका लिट्टल एन्जल्स, डीएभी, सेन्ट जेभियर्स, सेन्ट मेरिज, एभीएमलगायत दर्जनौं विद्यालयले भाडाको सावारीबाट विद्यार्थी ओसारपसार गर्ने गरेका छन्।

लिट्टल एन्जल्सका प्रिन्सिपल मुकुन्द शर्माले सवारीसाधन सञ्चालन हुन नसक्दा हजारांै विद्यार्थीको भविष्यमा गम्भीर असर पर्न गएको बताउनुभयो। बन्दकर्ताले विद्यालयका बस बन्द नगरेको भए समस्या नहुने बताउँदै सबै बन्दको मार विद्यालयमा हुने गरेको गुनासो गर्नुभयो।

व्यवसायीले वैशाख २७ गतेदेखि देशव्यापी आम हड्ताल आह्वान गरेका छन्। त्यसको प्रत्यक्ष असर विद्यालयमा पर्ने भएको छ। प्याब्सनका वरिष्ठ उपाध्यक्ष डीके ढुंगानाले सबै निकायको तारो विद्यालय पर्ने गरेको गुनासो गर्दै यातायात बन्दको प्रत्यक्ष असर विद्यालयमा पर्ने गरेको बताउनुभयो। उहाँले भन्नुभयो– ‘हाम्रा अधिकांश विद्यालयका सवारीसाधन भाडाका छन्।

यातायात व्यवसायीको आन्दोलनले विद्यालयमै प्रत्यक्ष असर पर्ने गरेको छ।’ लिट्टल एन्जल्सका प्रिन्सिपल शर्माले बन्दका कारण विद्यालयलाई प्रत्यक्ष असर परेको बताउँदै अबको आन्दोलनमा के गर्ने भन्ने विषयमा छलफल भइरहेको बताउनुभयो।

राजधानीका अधिकांश विद्यालयसँग आफ्नो सवारीसाधन नहुँदा विद्यालय सञ्चालकलाई समस्या पर्दै गएको छ। बन्दले उपत्यकाका अधिकांश विद्यालयको सवारी सञ्चालन भएको छैन।

विद्यालयले विद्यालय जान ठिक्क भएको अवस्थामा विद्यालयको सवारी सञ्चालन हुन नसक्ने जानकारी गराएको थियो। अकस्मात् विद्यालय बन्द भएको जानकारी गराएपछि गन्तव्यमा पुगेका अधिकांश अभिभावक विद्यार्थी लिएर फर्केका थिए। यातायात व्यवसायीले विद्यालयमा विद्यार्थी बोक्न असक्षम रहेको जानकारी दिएका थिए। देशव्यापी आमहड्ताल भएपछि के गर्ने भन्ने विषयमा भाडाका सवारी सञ्चालन गर्ने विद्यालयले सोच्नुपर्ने अवस्था आएको छ। तर विद्यालय सञ्चालकले सो अवस्थामा विकल्प सोचेर नयाँ व्यवस्था गरी अघि बढ्ने योजना बनाएका छन्। भाडाका यातायात बन्द भएको कारण टाढाबाट क्याम्पस र विद्यालय आउनेलाई समेत समस्या परेको थियो।

यसैबीच शुुल्क वृद्धिको विषयमा आन्दोलनमा उत्रिएका विद्यार्थी संगठनले हिजो शुक्रबार देशैभरका स्थानीय निकायका मेयरको कार्यालयमा सिठ्ठी बजाएर विरोध जनाएका छन्। अनेरास्ववियुका सचिव आरसी लामिछानेले शुक्रबार दिउँसो काठमाडौं र ललितपुर महानगरपालिकाका मेयर र उपमेयरको कार्यालयअगाडि सिठ्ठी बजाएर शुल्क फिर्ता गर्न माग गरिएको जानकारी दिनुभयो।