मोदीको आसन्न नेपाल भ्रमण, ११ हजार सुरक्षाकर्मी खटिने

0
Shares

टीका बन्धन, काठमाडौं
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई लक्षित गर्दै ११ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने भएका छन्। नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागबाट ती सुरक्षाकर्मी परिचालन हुने भएका छन्।

गृह मन्त्रालयको संयोजनमा नेपाल प्रहरीका ५ हजार, सशस्त्र र नेपाली सेनाका ३÷३ हजार र राष्ट्रिय अनुसन्धानबाट दुई सयको हाराहारीमा सुरक्षाकर्मी खटिँदै छन्। काठमाडौं उपत्यका, जनकपुर, मुक्तिनाथ र आसपासका क्षेत्रसहित र नेपाल–भारत सीमावर्ती क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिने भएको छ। यो संख्या भारतीय सुरक्षाकर्मीबाहेकको हो।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक मनोज नेउपानेले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको क्रममा गृह मन्त्रालयको संयोजनमा सुरक्षा प्रबन्ध मिलाइएको जानकारी दिनुभयो। मोदी भ्रमणलाई केन्द्रित गरेर हरेक दिन सुरक्षा निकायका अधिकारीबीच सुरक्षा तयारी र सम्भावित चुनौतीका विषयमा छलफल हुने गरेको पनि उहाँले जानकारी दिनुभयो।
नेपाली सेनाका उपरथी, सशस्त्र र नेपाल प्रहरीबाट प्रहरी नायब महानिरिक्षक (डीआईजी)को कमान्डमा सुरक्षा फोर्स परिचालन हुने निधो भएको गृह मन्त्रालय स्रोतले जनाएको छ। ‘केही दिन अघिदेखि काठमाडौं र उपत्यकाबाहिर प्रत्यक्ष÷अप्रत्यक्षरूपमा सुरक्षाकर्मी परिचालन भएका छन्, उच्चस्तरीय भ्रमण भएकाले भ्रमणको मिति आसपासमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन हुनेछन्।’ –मन्त्रालयका एक उच्च अधिकारीले नेपाल समाचारपत्रसँग भने।

भारतीय प्रधानमन्त्री मोदी आगामी शुक्रबार भारतको विहारस्थित पटना विमानस्थल हुँदै जनकपुर पुग्नुहुनेछ। पटना विमानस्थलसम्म भारतीय एयर फोर्सको विशेष विमान र त्यहाँबाट भारतीय सैन्य हेलिकोप्टरबाट मोदी जनकपुर पुग्नुहुनेछ। धार्मिक र सांस्कृतिक भ्रमणका लागि मोदी काठमाडौंभन्दा अघि जनकपुर पुग्ने र त्यहाँ आफ्नो सम्मानमा गरिने नागरिक अभिनन्दनमा सहभागी हुने कार्यतालिका तय भएको छ। उहाँको भ्रमणलाई लक्षित गर्दै बुधबार नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरी, भारतीय सेना र दुवै मुलुकका सुरक्षा अधिकारी टोलीले जनकपुरको स्थलगत अवलोकन गरेको थियो।

सुरक्षाटोलीले बुधबार मुक्तिनाथको पनि वस्तुस्थिति अवलोकन गरको छ। मोदीको नेपाल भ्रमण मिति तय भएदेखि नै भारतीय विशेष सुरक्षा टोली नेपाल आएर काठमाडौं र उपत्यकाबाहिरको सुरक्षा निगरानीमा जुटेको नेपाल प्रहरीका एक अधिकारीले बताए।

‘डेढ/दुई सातादेखि विशेष कमान्डो भारतीय दूतावासमा रहेको छ।’ –ती अधिकारीले भने। यही भ्रमणका क्रममा मोदीले मुक्तिनाथको समेत दर्शन गर्ने योजना तय भए पनि मुक्तिनाथ यात्राको अन्तिम टुङ्गो सोही बेलाको मौसममा निर्भर रहने बताइएको छ।

मोदी भ्रमणलाई लक्षित गर्दै सुरक्षा निकायले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र काठमाडौं भित्रिने स्थल नाकाको समेत निगरानी बढाएको छ। खासगरी मुसलमान बाहुल्य मुलुकबाट नेपाल भित्रिने विमान र यात्रुबारे निगरानी बढाइएको प्रहरी उच्च अधिकारी बताउँछन्। पशुपतिनाथ मन्दिर परिसर र आसपासका क्षेत्रमा हिन्दू अतिवादी र ठमेल र आसपासका क्षेत्रमा मुस्लिम अतिवादीको चलखेल बढ्ने सक्ने संकेत पाएपछि निगरानी बढाइएको बताइएको छ।