कांग्रेस पदाधिकारी मनोनयनमा विवाद, पौडेल पक्षको असहमति

0
Shares

रामकृष्ण चापागाईं, काठमाडौं
सहमतिमै पदाधिकारी मनोनयन गर्ने प्रयास असफल भएपछि सभापति शेरबहादुर देउवाले मनोनित गर्नुभएका उपसभापति, महामन्त्री र सहमहामन्त्रीलाई निर्वाचित बहुमत केन्द्रीय सदस्यले अनुमोदन गरेका छन्।

शुक्रबार बसेको निर्वाचित केन्द्रीय पदाधिकारी एवं सदस्यहरूको बैठकमा सभापति देउवाले उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा डा. प्रकाशशरण महतलाई प्रस्ताव गर्नुभएको थियो। सो प्रस्तावलाई रामचन्द्र पौडेल पक्षका नेता प्रकाशमान सिंहले असहमति जनाउँदै बैठक बहिष्कार गरी बाहिरिनुभएको थियो। बहुमत केन्द्रीय सदस्यहरूले सभापति देउवाको पदाधिकारी मनोनयन प्रस्तावलाई अनुमोदन गरेका थिए।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेपाल समाचारपत्रलाई जानकारी दिएअनुसार सभापति देउवाले उपसभापति विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा डा. प्रकाशशरण महतलाई मनोनित गर्न गरेको प्रस्ताव अनुमोदन भएको छ। बैठकमा निर्वाचित ३७ केन्द्रीय सदस्यले अनुमोदन गरेको केन्द्रीय सदस्य पुष्पा भुसालले जानकारी दिनुभएको छ। उहाँका अनुसार बैठकमा रामचन्द्र पौडेल पक्षधरका नेता प्रकाशमान सिंह मात्र उपस्थित हुनुभएको थियो। सभापतिले मनोनित पदाधिकारीको नाम प्रस्ताव गरेपछि केन्द्रीय सदस्य सिंहले असहमति जनाउँदै बैठक बहिष्कार गरेको भन्दै बाहिरिनुभएको थियो।

पदाधिकारी मनोनित गर्न सोमबार बोलाइएको निर्वाचित केन्द्रीय पदाधिकारी एवं सदस्यहरूको बैठक सहमति जुटाउनभन्दै चार दिनका लागि स्थगित गरिएको थियो। कांग्रेस विधानमा सभापतिले निर्वाचित केन्द्रीय सदस्यमध्येबाट एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री मनोनित गर्ने व्यवस्था छ। दुई महिनाभित्र मनोनित गरिसक्नुपर्ने यी पदाधिकारी दुई वर्षसम्म पनि मनोनित नगर्दा सभापतिले निकै आलोचना खेप्नुपरेको थियो।

पदाधिकारी मनोनयनमा सहमति जुटाउन दिनभरको प्रयास असफल भएपछि हिजो शुक्रबार साँझ सभापति देउवाले बहुमतबाट अनुमोदन गर्दै पदाधिकारी मनोनित गर्नुभएको हो।

रामचन्द्र पौडेल पक्षका नेता प्रकाशमान सिंहले असहमति जनाउँदै बैठक बहिष्कार गरी बाहिरिनुभएको थियो।