अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सम्पन्न, बुद्ध धर्मलाई विश्वव्यापी बनाइने

0
Shares

यमलाल भुसाल, बुटवल
१० बुँदे लुम्बिनी घोषणापत्र जारी गर्दै अन्तराष्ट्रिय बौद्ध सम्मेलन सम्पन्न भएको छ।
२ दिनसम्म चलेको सम्मेलनले लुम्बिनीलाई भगवान् बुद्धको जन्मस्थल र बुद्धधर्म विश्व शान्तिको मुहानका रूपमा स्वीकार गर्ने निर्णयसमेत गरेको छ। सन् २०१६ मा घोषणा गरिएको लुम्बिनी घोषणापत्रमा उल्लिखित लुम्बिनी नेपाललाई भगवान् बुद्धको जन्मस्थल र बौद्धधर्म र विश्व शान्तिको मुहानलाई विश्वरूपमा प्रवद्र्धन गर्ने विषयलाई समेत समेटिएको छ।

केन्जो टागेंद्वारा डिजाइन गरिएको लम्बिनी गुरुयोजनालाई शान्ति र मावनताको विश्वकेन्द्रका रूपमा सम्पन्न गर्ने। अन्तर आस्था, संवादको प्रवद्र्ध्धन गर्न र विश्व बौद्ध समुदायलाई एकीकृत गर्न, एसियामा बढ्दो जातीय हिंसा र यसलाई बौद्ध मार्गबाट समाधान गर्नको निम्ती एक भइ काम गर्ने पनि घोषणापत्रमा उल्लेख गरिएको छ।लुम्बिनीमा शान्ति र द्वन्द्वको निरूपणका लागि अन्तर्राष्ट्रिय केन्द्र स्थापना गर्ने। लुम्बिनीलाई एसियाको बृहत्तर तीर्थस्थलको सर्किटका रूपमा स्थापना गरी भारतको बोधगया, सारनाथ, कुशीनगर र श्रीलंका म्यानमार, बंगलादेश, चीन र पाकिस्तानको बौद्ध सम्पदाहरूलाई प्रवद्र्धधन गर्ने पनि घोषणापत्रमा उल्लेख गरिएको छ। बृहत्तर लुम्बिनीको पुरातात्विक, संस्कृतिक र प्राकृतिक सम्पदाहरूलाई एकीकृतरूपमा व्यवस्थापन गरी संरक्षण गर्ने। बृहत्तर लम्बिनीको वातावरणको संरक्षण गर्न र सबै किसिमका प्रदूषणको स्रोतको अनुगमन र नियन्त्रण गर्ने विषयलाई घोषणपत्रमा समेटिएको छ।

कपिलवस्तु, देवदह, रामग्रामको बृहत् महत्वलाई हृदयंगम गर्दै सबै बौद्धमार्गी र संसारका शान्तिप्रिय जनतालाई बुद्धिस्ट सर्किटअन्तर्गतको रूपमा एकीकृत बृहत् लुम्बिनी गुरु योजनाको रूपमा निर्माण गर्ने। बौद्ध शिक्षाका लागि लुम्बिनीलाई विश्व केन्द्रको रूपमा विकास गर्ने र लुम्बिनी घोषणापत्र २०१६ लाई कार्यान्वयन गर्दै विश्व बुद्धिष्ट मञ्चको स्थापना गरी बुद्ध परम्पराहरूको सञ्जालका लागि शुभारम्भ गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ। २३ देशका अन्तर्राष्ट्रिय बौद्ध विद्वान्, धर्मगुरु, भिक्षु, भिक्षुणीलगायतको सहभागितामा भएकोे सम्मेलनले लुम्बिनी भगवान् बुद्धको जन्मस्थल, बुद्ध धर्म र विश्व शान्तिको मुहानलाई स्वीकार गर्दै प्रवद्र्धन गर्ने प्रतिबद्धता जनाएका छन।सम्मेलनको समापन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी बुद्धको जन्मस्थल मात्र नभई बुद्ध धर्मको उद्गम थलो भएको सम्मेलनले पुष्टि गरेको बताउनु भयो । प्रधानमन्त्री ओलीले लुम्बिनी गुरुयोजना समयमै पूरा गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख समेत गर्नु भयो।

Skip This