पत्नी वियोगमा थामिएन मदनकृष्णका आँसु

0
Shares

 

विदुर गिरी, काठमाडौं
सिंगो जीवन हास्यव्यंग्य कलाकारिता गरेर दर्शकलाई सन्देशसँगै मनोरञ्जन प्रदान गरी हाल रिलिजमा रहेको फिल्म शत्रु गतेबाट समेत दर्शक हँसाइरहेका ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता मदनकृष्ण श्रेष्ठ स्वयम् भने आँसुमा डुबेका छन्।

आफूलाई भन्दा बढी माया गर्दै आएकी अर्धांगिनी यशोदा श्रेष्ठ (सुवेदी)ले ६७ वर्षको उमेरमा सोमबार राति धर्ती छोडेर गएपछि ६८ वर्षीय मदनकृष्णको आँखाबाट अविरलरूपमा आँसु झरिरहे। ६ वर्षदेखि क्यान्सर रोगबाट पीडित यशोदाको उपचारका क्रममा सोमबार राति पौने ११ बजे हरिसिद्धिस्थित क्यान्सर हस्पिटलमा निधन भएको थियो। मंगलबार पशुपति आर्यघाट पुगेर अन्तिम संस्कार गरी निवास फर्कुन्जेलसम्म पनि मदनकृष्णको आँखाबाट अश्रुधारा बगिरहे। मदनकृष्ण, उनका एकमात्र कलाकार पुत्र यमन श्रेष्ठ र एक मात्र पुत्री सरहानासँगै परिवारजन तथा आफन्तको रोदनले पशुपति आर्यघाटमा पुग्ने हजारौं शुभेच्छुकका आँखा रसाइरहे। मंगलबार नै पत्नी मीरा आचार्यको श्राद्ध गराएका मदनकृष्णका जोडी तथा सहयात्री हरिवंश आचार्यले आँसु पुछ््दै सम्हाल्ने कोसिस गरिरहे। आर्यघाटको दृश्य पूरै हृदयविदारक र भावुक देखियो।

‘मेरी अर्धांगिनी यशोदा, मलाई सानै चोट लाग्दा पनि तिमी छटपटाइहाल्ने मान्छे। अर्बौं मान्छेहरूमा तिमी एक मन मिल्ने मान्छे’ आफ्नो आत्मकथा महको ममा पत्नी यशोदालाई यसो भनेर सम्बोधन गर्ने मदनकृष्णको मन उनको निधनले छियाछिया भएको कसैबाट छिपिरहेको थिएन। आफै पनि पार्किन्सन्सका कारण कष्टपूर्ण जीवन व्यतीत गर्दै आएका मदनकृष्ण यशोदासँगको पहिलो भेटदेखि प्रेम सम्बन्ध, भागी विवाह उनैसँग भएको २ विवाह तथा जीवनको उत्तराद्र्धमा आएर रेक्टल क्यान्सरका कारण उनले ९६ वटा केमो, पटकपटकको अप्रेसन, लामो समयसम्मको ओरल केमो, रेडिएसन तथा सयौं साइड इफेक्टलाई पनि आत्मबलपूर्वक सजिलै सहेको सम्झिरहेका थिए। (मदनकृष्ण र यशोदाबीचको रोचक प्रेमकथा, भागी विवाह र २ पटकसम्म भएको विवाहदेखि क्यान्सरसँगै निम्तिएको दुःखद प्रसंगसम्मको

दर्जनौं अंगको आक्रमणलाई परास्त गरेकी यशोदालाई स्पाइनल कर्डमा फैलिएको क्यान्सरले पराजित गरेपछि दुनियाँलाई हँसाउने मदनकृष्ण पनि पत्नीवियोगले छटपटाउन पुगे। मधुमेह र उच्च रक्तचापबाट समेत पीडित यशोदाले उल्लासका साथ ५१औं वैवाहिक वर्षगाँठ मनाएका मदनकृष्णलाई त्यसको केही वर्षपछि नै छोडेर गएपछि आर्यघाटमा अन्तिम संस्कार गरी काजक्रियाका लागि सुनाकोठीस्थित निवास पुग्दासमेत उनले आफूलाई सम्हाल्न सकेनन्। शुभेच्छुकको भीडका बीच मदनकृष्ण निवासमै पनि पत्नीवियोगले छटपटाइरहेका छन्।

यशोदालाई किमो दिनका लागि १३ दिनदेखि अस्पतालमा राखिएको थियो भने सोमबार पत्नी, छोरा र आफन्तका साथ हरिवंश, किरण केसी, वसुन्धरा भूसाललगायतका हितैषी कलाकार ढिलो रातिसम्म मदनकृष्ण र यशोदा दम्पतीका साथ थिए। पटकपटक पत्नी यशोदाको स्थिति नियालिरहेका मदनकृष्ण समयसमयमा उनको गाला र हात मुसार्दै भक्कानिएर रोएका थिए भने साढे १० बजे राति उनले ‘ढिलो भइसक्यो, बरु भोलि आए हुन्छ घर जाऊ’ भनेपछि पत्नी मीरा आचार्यको एकछाकी भएकाले शुद्ध खाएर बसिरहेका हरिवंश आचार्य किरण केसीसँगै घरतिर लागेका थिए। उनीहरू गएको १५ मिनेटपछि नै यशोदाले अस्पतालको शैय्यामा अन्तिम श्वास फेरेपछि मदनकृष्ण एक्लो परेका छन्। अनौठो संयोग, यशोदाको निधनसँगै जीवनभर जोडीका रूपमा बाँधिएर एकसाथ कलायात्रालाई अगाडि बढाउँदै आएका मदनकृष्ण र हरिवंशको घरमा श्राद्ध पनि एकै दिन पर्ने भएको छ। दुवैको पत्नीको निधनको तिथि एउटै परेपछि मदनकृष्ण पुत्र यमन र हरिवंश पुत्र मोहितले एकै दिन आ–आफ्ना आमाको श्राद्ध गर्नुपर्ने भएको छ। मदनकृष्णको परिवारमा छोरा यमनसहित छोरी सराहाना पनि छिन्।