वसन्तपुर क्षेत्रको मन्दिरमै चोरी

94
Shares

नेपाल समाचारपत्र
काठमाडौं
सुरक्षा अवस्था चुस्तदुरुस्त मानिएको वसन्तपुर क्षेत्रबाट मन्दिरका बहुमूल्य सामग्री चोरी भएका छन्। महानगरीय प्रहरी वृत्त जनसेवाबाट करिब दुई मिनेटको दूरीमा रहेको नवनिर्मित नास देगः मन्दिरमा राखिएको ताम्रपत्र, मन्दिरको टुँडाल र ढोकाको अन्तरा चोरी भएको हो।
मन्दिरको बहुमूल्य सामग्री चोरी हँुदा प्रहरीले पत्ता लगाउन सकेको छैन। न्युरोडको महर्जन कम्प्लेक्सले करिब १५ लाख रुपियाँ लागतमा निर्माण गरेको सो मन्दिरको चैत १५ गते सम्पन्न प्रसाद ग्रहण कार्यक्रम भएको तीन दिनपछि ती सामग्री चोरी भएको हो। १८ गते बिहान ताम्रपत्र, मूल ढोकाको अन्तरा र पटकपटक गरी दुईवटा टुँडाल चोरी भएको छ।

वृत्तका डीएसपी टेकुनन्द लिम्बुले सामान चोरी भएको जानकारी गराउँदै खोजीकार्य जारी भएको बताउनुभयो। वृत्तको डीएसपीसहितको टोलीले मन्दिरमा हराएको सामग्रीका बारेमा सोमबार निरीक्षण गरेको थियो। डीएसपी लिम्बुले न्युरोड क्षेत्रमा राखिएको सीसीटीभीको माध्यमबाट पुरातात्त्विक सामग्री चोरी भएको विषयमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो।

उहाँले भन्नुभयो– ‘ढोका फोडिएका छन्, अन्तरा हराएको छ। मन्दिरमा राखिएको दुईवटा टुँडालसमेत चोरी भएका छन्।’ कम्प्लेक्सका अध्यक्ष कृष्ण महर्जनले मन्दिरका बहुमूल्य सामग्री हराएको विषयमा प्रहरीलाई जानकारी गराइएको बताउनुभयो। सम्पदा संरक्षण भएको देख्न नसक्ने तत्त्वले ती सामग्री चोरेको हुन सक्ने आशंका गर्नुभयो। हनुमानढोका विकास समितिका निर्देशक करुणा नकर्मीले पुरातात्त्विक क्षेत्रमा ताम्रपत्र राख्न नमिल्ने भएकाले समितिले निकालेको बताउनुभयो। उहाँले विभागको स्वीकृति नलिई ताम्रपत्र टाँसेकोमा निकालिएको स्पष्ट पार्नुभयो।
अरू सामग्री कसले निकालेको हो त भन्ने विषयमा उहाँले कुनै जानकारी दिनुभएन। भन्नुभयो– ‘ताम्रपत्र मैले निकाल्न लगाएको हुँ, अन्य सामग्रीको विषयमा जानकारी छैन।’ डीएसपी लिम्बुले कसले निकालेको हो भन्ने विषयमा खोजी भइरहेको जानकारी दिनुभयो।

कम्प्लेक्सका अध्यक्ष महर्जनले हनुमानढोका दरबार क्षेत्र विकास समितिसँग छलफल गरी ताम्रपत्र टाँसिएको दाबी गर्नुभयो। उहाँले भन्नुभयो– ‘ताम्रपत्र राख्ने विषयमा सम्बन्धित निकायसँग छलफल गरेका हौं, उहाँहरूसँगको स्वीकृतिमै टाँसेका हौं।’

प्रहरीले घटनाको विषयमा अनुसन्धान भइरहेको र विश्वसम्पदा क्षेत्र नजिकबाट हराएको सामग्री भेटाएरै छाड्ने बताएको छ। हनुमानढोका विकास समितिले अन्य सामग्री कसरी हराएको हो भन्ने विषयमा खोजी हुनुपर्ने जनाएको छ।