पर्वतका गाउँघरमा बसाईसराई रोकिएन

188
Shares

दुर्गाप्रसाद शर्मा, पर्वत । गाउँमा बिजुली पुगेको छ, कच्ची भएपनि मोटरबाटोको सुबिधा छ, घरघरमा पानीका धारा छन तर गाउँमा बस्न मानिस इच्छुक छैन । उर्बर जमिन, शान्त वातावरण भएपछि मोदी गाउँपालिकाको वडा नं १ भूकमा धेरै घर खाली छन।

गाउँमा पहिले सेवा सुबिधाको अभाब र छोराछोरी पढाउनका लागि अधिकाँश बासिन्दा पोखरा लगायतका शहरमा बसाई गएका हुन ।
बसाई सराईले गाउँ पुरै रित्तो भैसकेको छ । ‘गाउँमा भन्दा शहरमा बस्ने बढी भैसकेका छन’ वडा अध्यक्ष गौप्रसाद गुरुङ्ग भन्छन –बसाई पोखरा भएपनि बसाईसराई नगरेका कारण सरकारी कामकाज सबै गाउँबाटै लिने हुँदा पोखरा गएर सेवा दिनुपर्ने अवस्था छ’ भूक मात्रै होइन, घिब्राङ्ग गाउँका त धेरै घर नयाँपुल झरिसकेका छन । उनीहरु गाउँमा बस्न छाडेका छन, घर भत्केर खण्डहर बन्दैछन भने खेतबारी छाडा छाडिएका गाई भैसीको चरण बनेका छन ।

पर्वतको भूकदेउराली, राम्जा, चित्रे, आर्थरडाडाँर्खक, भोक्सिङ्ग लगायतका धेरै गाउँहरु बसाईसराईका कारण शुन्य भएका छन । यी गाउँका अधिकाँश बासिन्दाहरु सुबिधाको खोजीमा शहर पसेका छन । घरहरु भत्केका छन, खेतबारी बाँझो छ । ‘कुनै समय यस्तो थियो गाउँका सबै भेला भएर समाजघरमा रोदी गाउँदा पूरै गाउँ गुञ्जायमान हुन्थ्यो । कसैलाई दुःखबिमार पर्दा सयौं भेला भएर समाधान गथ्र्यौं । अहिले मलामी जाने मान्छे छैनन ।’ मोदी ८ चित्रेकी शिक्षिका सुशीलादेवी गुरुङले विगत स्मरण गरिन ।

होमस्टे (घरवास) र बालमैत्री गाउँका कारण पछिल्लो समय चर्चामा रहेको पर्यटकीय गाउँ चित्रेबाट तीन दशकबीचमा पुराना आधाभन्दा बढी बसोबासी अन्यत्र गाएका छन ।

यी गाउँबाट बसाइँ सरेर अन्यत्र जानेमा गुरुङ परिवार धेरै छन । भारतीय र बेलायती सेनामा कार्यरतका परिवारमा शिक्षा, स्वास्थ्य र अवसरको खोजीमा गाउँ छाड्ने अधिक छन । स्थानीय बूढापाकाका अनुसार २०४० सालसम्म यहाँ गुरुङ समुदायको करिब दुई सयभन्दा बढी घरधुरी हाराहारी बसोबास थियो । ‘पोखरामा मात्रै यहाँबाट बसाइँ सरेका थुप्रै छन् ।

ती सबैले उतै घर बनाएका छन,’ सुशीलाले भनिन, ‘गाउँमा हाल मुस्किलले ५५ कुरिया (घर) छन । ती पनि केही बसाइँ सर्ने तरखरमै छन् ।’ गाउँ छाड्नेहरुमा अधिकांश विदेशी भर्तीमा रहेकाहरु हुन ।

रोजगारीको खोजीमा युवा बिदेसिएपछि तिनका परिवार बालबच्चा पढाउने भन्दै गाउँ छाडेर बजार झरे । ‘बिस्तारै उतै घडेरी किनेर घर बनाएपछि परिवारै गाउँ फर्केनन’ स्थानीय शिक्षक मधुसूदन अधिकारी भन्छन्, ‘शिक्षाकै कारणले बजार झर्ने धेरै छन् । गाउँ छाडेकालाई फर्काउन सकिन्न । यहाँ भएकालाई रोक्न सकिन्छ । त्यसका लागि अब स्थानीय सरकारको सक्रियता चाहिन्छ ।’

प्रविधियुक्त र अन्तराष्ट्रिय बजारमा बिक्ने शिक्षा गाउँमै दिन सके अब गाउँबाट पलायन हुने परिवार रोक्न सकिने शैक्षिक जमातको बुझाइ छ ।

स्थानीयका अनुसार दशकअघिसम्म घरजग्गा बिक्री गरेर बसाइँ सर्ने क्रम थियो । ‘हिजोआज जग्गा बिक्री रोकिएको छ । बसाइँ सर्नेलाई कसरी रोक्नु ?,’ वडासचिव गोकुल शर्माले भने, ‘बाहिर घरजग्गा हुनेहरुलाई रोक्न समस्या हुन्छ । नहुनेहरु बाध्यता सुनाउँछन ।’ पछिल्लो समय गाउँमा खुलेका होमस्टेमा घुम्न आउने आन्तरिक तथा बाहय पर्यटकका कारण चित्रेमा चहलपहल बढेको छ । तर, गाउँबाटै बसाइँ सरेकाहरु भने आउन मान्दैनन।