ऋणबाट शेयरमा लगानी गर्ने अहिले जोखिममा छन्


विष्णुप्रसाद बस्याल, शेयर बजारका प्राविधिक विश्लेषक

लामो समयदेखि नेपाल र भारतको पुँजी बजारलाई नजिकबाट नियाली रहनु भएका विष्णुप्रसाद बस्याल चार्टर्ड फाइनान्सियल एनालिस्ट एवम् प्राविधिक विश्लेषक हुनुहुन्छ। पछिल्लो केही दिनदेखि नेपालको पुँजी बजारमा उच्च गिरावट आएको छ। लगातार नेप्सेमा आएको गिरावटका कारण लगानीकर्ता अन्योलमा छन्। अब शेयर बजार कुन दिशामा जाला ? लगानीकर्ता कसरी सुरक्षित हुनसक्छन् भन्ने सन्दर्भमा सीएफए एवम् प्राविधिक विश्लेषक बस्यालसँग नेपाल समाचारपत्रका लागि राजु श्रेष्ठले गरेको कुराकानीः

पछिल्लो स्थितिमा नेपालको पुँजी बजारलाई यहाँले कसरी मूल्यांकन गरिरहनु भएको छ ?

नेपालको पुँजी बजार सन् २०१७ अगस्टमा १६७० को बिन्दूबाट घट्न शुरू गरेको हो। पुँजी बजार अहिलेसम्म पनि घटिरहेको छ। सन् २०१८ को अन्त्यसम्म बजारको स्थिति घट्दो क्रममा नै रहने सम्भावना मैले देखेको छु। बीचमा केही उतार चढाव आउन सक्छ। यदाकदा बजार केही बढ्न पनि सक्छ। यद्यपि, वर्षको अन्त्यसम्म बजार घट्दो क्रममा नै रहन्छ।

बजार घट्दो क्रममा नै रहन्छ भन्ने कुनै कारण वा आधार पनि छन् कि ?

मौलिक कारण हेर्ने हो भने पछिल्लो समय बैंकहरूले बोनस, हकप्रद जारी गर्दा शेयर कारोबार र शेयर संख्या बढेको छ। तर, सोही दरमा लगानीकर्तामा बढोत्तरी देखिएको छैन। अर्को कारण भनेको अहिले बैंकिङ क्षेत्रमा देखिएको तरलता अभाव हो। बैंकहरूमा नगद मौज्दात दर ८० प्रतिशत बे्रक गरिसकेको अवस्था छ। तर, चाहिएको समयमा उनीहरूले बैंक मौज्दात लिन सकेका छैनन्। यसले गर्दा भविष्यमा त्यो मार्जिनमा बढी तनावको स्थिति आउन सक्ने सम्भावना छ।

अहिलेसम्म उनीहरूले शुद्ध ब्याजदर मार्जिन बनाई राखेका छन्। त्यो कायम राख्न नसक्ने अवस्था आउन सक्छ। कुनै–कुनै बैंकले त उनीहरूको सञ्चालन नाफासम्म पनि निकाल्न नसक्ने अवस्था देखिएको छ। त्यसकारण केही समय अघि बैंकिङ क्षेत्रमा उल्लेखनीय वृद्धि देखिएको थियो। अहिलेको अवस्थामा त्यो वृद्धि कायम गर्न सक्दैनन् भन्ने मेरो विश्लेषण हो।

बजार घट्नुलाई बैंकिङ क्षेत्रको समस्या मात्रै हो कि मुलुकको राजनीतिक अवस्थाले पनि केही असर पार्छ ?

पछिल्लो चार⁄पाँच महिनाको बजार अवस्थालाई हेर्ने हो भने र यसलाई भविष्यको बजार वृद्धिको विषयसँग दाँज्दा नेपालमा जुन राजनीतिक विकासक्रम भइरहेको छ, त्यो दीर्घकालका लागि निकै नै सकारात्मक लक्षण हो। यतिका समयसम्म सरकार बनाउने, भत्काउन र नीतिगत रूपमा पनि अस्थिरता रहेको अवस्थामा थियो। तर, अहिले धेरै कुरा प्रष्ट भइरहेको छ। राजनीतिक दृष्टिकोणबाट हेर्ने हो भने बजार वृद्धिका लागि सबैभन्दा राम्रो वातावरण हो।

केही समय नीतिगत समस्या रहे पनि दीर्घकालका लागि अहिलेको राजनीतिक वातावरणले पुँजी बजारलाई निकै विकासको अवस्थामा लैजान्छ। यस अर्थमा राजनीतिक अवस्थाले बजारमा गिरावट भएको होइन। अहिले हाम्रो मुलुकको आर्थिक अवस्थामा तलरता अभाव, ब्यालेन्स अफ पेमेन्ट जस्ता समस्या छन्। भूकम्पपछि हामी पुनर्निर्माणको चरणमा गयौं र त्यसको सकारात्मक प्रभावकारिता पाएका छैनौं। हामीले आर्थिक विकासको गतिलाई बढाउन सकेका छैनौं। त्यसकारण बजार खस्किँदो अवस्थामा गएको हो। तर, राजनीतिक फेरबदलको वातावरण आफैंमा बजार घट्नुको कारण होइन।

तपार्इंको विश्लेषणमा बजार अवस्था अझै छ⁄सात महिना घट्दो अवस्थामा नै रहन्छ भन्ने हो ?

मैले नितान्त प्राविधिक विश्लेषणमार्फत् यो कुरा भनेको हुँ। पुँजी बजारको प्राविधिक विश्लेषणमा के हुन्छ भने हाम्रो बजारमा चार वर्षको गोल साइकल र चार वर्षको बियर साइकल हुन्छ। हामीले सन् २००४ देखि २००८ सम्म गोल साइकल देख्यौं। नेप्से ११ सयको हाराहारीमा पुगेर ३ सयसम्मको हाराहारीमा झरेको थियो। सन् २०१२ मा ३ सयबाट माथि चढेको बजार सन् २०१६ मा १८ सय ८० को अंकमा पुगेको थियो।

विगतमा नेपालको परिवेश हेर्दा यसरी हरेक चार वर्षमा यो साइकल दोहोरिरहेको छ। यस्तो अवस्थामा त बियर साइकल सन् २०२० सम्म पुग्नुपर्ने हो। तर, यसलाई हामीले यसलाई दुई वर्षको मात्र आधार मान्दा प्राविधिक विश्लेषणमा एउटा ‘फिबोनाकी करेक्सन’ भन्ने शब्द हुन्छ। यदी ३ सयबाट १८ सय ८० सम्म हामीले फिबोनाकी करेक्सन लियाँै भने यो ९ सयको हाराहारीमा पर्न आउँछ। यो बजारका लागि निकै सामान्य अवस्था हो। विश्वभरीको बजार अवस्थाको विश्लेषणमा नै एउटा साइकल पूरा गरिसकेपछि त्यति सामान्य करेक्सन हुने गर्दछ। त्यसकारणले पनि मैले नेपालको पुँजी बजार अझै केही समय घट्छ भनेको हुँ।

अहिले १३ सयको हाराहारीमा रहेको नेप्से इन्डेक्स अब कतिको बिन्दुसम्म पुग्ला त ?

निकै छोटो समयको लागि भन्दा त १४ सय ४४ को बिन्दूबाट ‘फलिङ सेग्मेन्ट’ शुरू भएको थियो। त्यसको प्राविधिक विश्लेषण गर्दा ‘इलेट वेभ एनालिसिस’को आधारमा भन्दा अहिलेको बजार बिन्दू ११ सय ६० को हाराहारीमा पुग्छ। त्यसलाई केही समयको लागि न्यून बिन्दूका रूपमा स्थापित हुने सम्भावना छ। त्यो एक डेढ महिनाको अवधिभित्रै हुन्छ। त्यो भइसकेपछि दुई तीन महिना बजारले फेरि उकालो लागेको देखाउने सम्भावना छ। त्यो वृद्धि भनेको दुई सयदेखि ३ सय अंकसम्मको हो। ११ सय न्यून बिन्दू पुग्यो भने त्यो १३ सयदेखि १४ सयको बिन्दूसम्म जानसक्छ। अन्ततः वर्षको अन्त्यमा त्यो फेरि बजार तल नै जान्छ। एक डेढ महिनाको अवधिमा हामीले सेयर बजारको न्यून बिन्दू देख्न सक्छौं।

यहाँको विश्लेषणमा नेपालको पुँजी बजारका लगानीकर्ताले अहिले ठूलो परिमाणमा गुमाउने सम्भावना छ हो ?

यदी चार–पाँच वर्षसम्मका लागि लगानीको लक्ष्य राखेका राखेका छौं भने लगानीकर्ताले त्यसलाई खरिद गर्ने अवसरका रूपमा हेर्नुपर्यो। तर, मेरो चेतावनी ती लगानीकर्तालाई हो जसले बैंकबाट ऋण लिएका छन्। या अन्य कुनै स्रोतबाट ब्याज तिर्ने वा ऋण लिएर लगानी गरेका छन् उनीहरूलाई हो। त्यस्ता लगानीकर्ता जोखिम रहेको मैले देखेको छु।

यहाँले नेपालका लगानीकर्ताको स्वभाव कस्तो रहेको पाउनुभएको छ, छिटो– छिटो किनबेच्ने गर्ने वा होल्ड गरेर राख्ने, कस्ता छन् ?

नेपालका लगानीकर्ताको ठूलो संख्यामा त खरिद गरेर राख्ने खालका छन्। हामीकहाँ किन्ने र राख्ने लगानीकर्ता बढी हुनुको कारणे हामी कहाँ शेयर तत्काल बेच्नका लागि सबै ठाउँमा सुविधा छैन। तर, कतिपय लगानीकर्ताले प्राविधिक विश्लेषणका आधारमा शेयर व्यापार गरिरहेका छन्। पछिल्लो एक दुई वर्षको अवधिका ट्रेडर्सहरू पनि बढेका छन्। हामीले बजारको प्राविधिक विश्लेषण गरेर मात्र ट्रेड गर्नुपर्ने हुनाले त्यसको ज्ञानसँगै लगानीकर्ता पनि बढ्दै गएका छन्।

यतिबेला नेपाल स्टक मार्केटले ६ सय अंकभन्दा बढीको गिरावट आइसकेको छ। अझै एक डेढ सय घट्छ भन्नुभएको छ। यसले गर्दा नेपालमा भर्खर फस्टाउन थालेको पुँजी बजारका लगानीकर्ता त हतोत्साही हनु सक्छन्। उनीहरूलाई कसरी सम्बोधन गर्नुपर्छ जस्तो लाग्छ ?

मैले पहिले नै भनिसके यदी लामो समयको लागि लगानी गरेको हो भने आत्तिनुपर्ने कुनै अवस्था नै छैन। यस्तो अवस्थामा उहाँहरूले अझ लगानी बढाउन पनि सक्नु हुन्छ। केही समयका लागि अर्थात् छोटो समयमा आएर छोटो समयमा नै बजारबाट निस्किन्छु भन्ने लगानीकर्ताका लागि यसले असर गर्छ। उहाँहरूलाई बजार न्यून बिन्दूमा पुगेर बढ्न शुरू नहुन्जेलसम्म यसबाट टाढै रहनुहोस् भन्ने मेरो सल्लाह हो।

अहिले नेपालको पुँजी बजारमा करिब एक दर्जन उपसूूचकहरू रहेका छन्। तीमध्ये सबैभन्दा बढी कुन उपसूचक जोखिममा रहेको देख्नुहुन्छ ?

मैले सबैभन्दा बढी जोखिम देखेको क्षेत्र बीमा क्षेत्र हो। अर्कोे लघुवित्त क्षेत्रमा भएको लगानीमा पनि जोखिम छ। हामीले क्रिप्टो करेन्सिमेनियामा हेर्यौ भने त्यसमा च्याउ उमे्र झँै नयाँ कम्पनी उम्रिने गर्दछन्। त्यही अवस्थामा अहिले यहाँ लघुवित्त र बीमा क्षेत्रमा छ। भारतजस्तो ठूलो अर्थतन्त्र भएको मुलुकमा त २० देखि ३० वटा बीमा कम्पनी मात्र छन्।

तर, नेपालजस्तो सानो अर्थतन्त्र भएको मुलुकमा पनि त्यतिकै हाराहारीमा बीमा भइसके। नेपालमा बीमा गराउनैपर्छ भन्ने मानसिकता भएको जनसंख्या पनि निकै कम छ। सम्भावना बढी भए पनि जुन हिसाबले कम्पनीरु आइरहेका छन्। उनीहरूमा प्रिमियम संकलनमा निकै ठूलो प्रतिस्पर्धा छ। शुरूमा आएका कम्पनीले जति कमाईसके। त्यो अब आउने कम्पनीले त्यसरी कमाउन सक्ने स्थिति देखिएको छैन।

बीमा व्यवसाय भनेको कस्तो क्षेत्र हो भने नेपालमा बीमा क्षेत्रमा व्यवस्थापकीय कमजोरी पनि मैले देखिरहेको छु। भारतजस्तो ठूलो जनसंख्या भएको बजारमा निर्जीवन बीमा कम्पनीले १०⁄१० वर्षसम्म प्रोपर्टी जेनेरेट गर्न सकेका छैनन्। नेपालको परिपेक्षमा हेर्दा कम्पनी खुलेको दुई तीन वर्षमा नै उनीहरूले बम्पर नाफा कमाएको उनीहरूले देखाइरहेका छन्। कर्पोरेट गभर्नेन्समा उनीहरूले गर्ने फाइनेन्सियल रिपोटिङ हो त्यो नै बीमा क्षेत्रमा जोखिम व्यवस्थापन गरेर सो रकम छुट्याइसकेपछि मात्र नाफा देखाउनुपर्ने हो। तर, त्यस्तो हुन सकेको छैन।

केही रकम जोखिमका लागि छुट्याएर रिजर्भमा राख्नुपर्ने र सो विषयमा सम्बन्धित निकायबाट जुन अनुगमन हुनुपर्ने हो।त्यसो नभएर उनीहरूले धमाधम नाफा घोषित गरिरहेका छन्। यसले निकै ठूलो कर्पोरेट मिस गभर्नेन्स लिएर आएको छ। अलिकति नियमन गर्ने निकाय कडा भइदियो भने उनीले कमाउने नाफा नाटकीय रूपमा घटेर जान्छ।

स्टक मार्केटको नियमक निकायले अहिलेको अवस्थामा के गरिदियो भने वातावरण सहज हुन सक्छ ?

नेपालमा मुख्यतथा क्यापिटल मार्केटको विकासका लागि दुईवटा संस्थाको भूमिका महत्वपूर्ण रहन्छ। एउटा नेपाल स्टक एक्सचेन्ज (नेप्से) र अर्को नेपाल धितोपत्र बोर्ड। नेप्सेले आफ्नो बजार विस्तारका लागि लामो समयसम्म पनि प्रभावकारी काम गर्न सकेको छैन। अन्तर्राष्ट्रिय बजारसँगको प्रतिस्पर्धाको आधारमा हेर्दा पनि नेप्सेले आफूलाई अद्यावधि गर्न सकेको छैन। अनलाइन ट्रेडिङ ल्याउने भनेकै लामो समय भइसक्दा पनि हालसम्म लागू हुन सकेको छैन। अनलाइन ट्रेडिङ व्यवस्था समयमा लागू गर्नु एउटा चुनौती त छँदैछ। त्यो ल्याएर मात्र पनि भएन उसको संरचना पनि त्यही अनुसार विभिन्न ठाउँमा विस्तार हुनुपर्ने देखिन्छ।

चुस्त तथ्यांक व्यवस्थापन गर्ने सक्ने हो भने पनि बजार निकै व्यवस्थित हुन्छ। सूचीकृत कम्पनीले आफ्नो गतिविधिका बारेमा नेप्से र धितोपत्र बोर्डलाई गर्नुपर्ने रिपोर्ट उनीहरूले समय सीमाभित्र हुन सकेको छैन।नेप्सेले आफ्नो आईटी शाखालाई व्यवस्थित बनाएर डाटाबेस र सर्भर लेभरलाई व्यवस्थित गर्नुपर्यो। यदि त्यसलाई चुस्त नगरिकन उनीहरू अनलाइन ट्रडिङमा जान्छन भने पनि प्रावधिक समस्या आउँदा कसरी सम्बोधन गर्ने भन्ने कुरा पनि उत्तिकै महत्वपूर्ण छ। नेपालको बजार विकासमा साँच्चिकै गम्भीर भइरहेको हो भने ५० वटाको हाराहारीमा रहेका ब्रोकर कम्पनीलाई व्यवस्थित गर्नु आवश्यक छ।

कुनै व्यक्ति वा संस्थाले ब्रोकर अनुमतिपत्र लिन चाहेको अवस्थामा तत्काल उपलब्ध गराउन सक्नुपर्छ। यसरी अनुमतिपत्र दिनु भनेको यो बजारको हितमा हुने काम नै हो। यसले ठूलो जनमानसको पुँजी बजारमा पहुँच पुग्न सहयोग गर्छ। अहिले हाम्रो बजार काठमाडौं उपत्यकामा मात्र सीमित छ। त्यसलाई एकैचोटी विस्तार गर्न नसके पनि अहिले रहेका ब्रोकर कम्पनीलाई सहायक ब्रोकर कम्पनीका रूपमा उपत्यका बाहिर विभिन्न जिल्लामा गएर काम गर्न दिइनुपर्छ। जबसम्म हामीले बढी लगानीकर्ता भित्र्याउन सक्दैनौ तबसम्म पुँजी बजार विस्तार गर्न पनि सक्दैनौं।

धितोपत्र बोर्डले विभिन्न कम्पनीमा कर्पोरेट मिस गभर्नेन्सलाई सम्बोधन गर्न सक्नुपर्छ। बीमा क्षेत्रजस्तै बैंकिङ क्ष्ँेत्रले पनि नाफा नोक्सानको ब्यालेन्स सिटमा उनीहरूले सही तरिकाले रिपोर्टिङ गरिरहेका छन् कि छैनन् भनेर बुझ्नु जरुरी छ। लगानीकर्ता बढाउन विभिन्न किसिमका जनचेतनाका कार्यक्रम, इन्भेस्टमेन्ट प्रोटेक्सन फण्ड निर्माण गर्ने तथा कसैले कर्पोरेट मिस गभर्नेन्स गर्यो भने तुरुन्तै कारबाही गर्नसक्ने खालको संयन्त्र बनाउन बोर्डको भूमिका रहन्छ।