वागमती किनारमा हरियाली पार्क

0
Shares

सुरेश तामाङ ।

कुनै समय वाग्मती नदी कलकल बग्थ्यो। त्यो बेला नदीमा नुहाउन मिल्ने थियो। र सफा, सुन्दर पनि। तर, अहिले त्यो अवस्था छैन। शहरीकरण र जनसंख्यामा तीव्र वृद्धिका कारण अहिले वागमती कलकल, सफा र सुन्दर भएर बग्दैन।

फोहोर र दुर्गन्धित छ। न यो नदीको पानीले नुहाउन मिल्छ न यसको छेउमै बस्न नै सकिन्छ। बरु त्यस्तै कमजोर मान्छे त वागमतीछेउ पुग्ने वित्तिकै गन्धले नै बिरामी पर्न बेर छैन। यस्तो अवस्थालाई ध्यानमा राख्दै अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिले सुधारका काम गरिरहेको छ। गन्धले विरामी पार्ला जस्तो अवस्थामा पुगेको वागमतीलाई पहिलाकै स्वरूपमा ल्याउन सबै सरोकारवाला समेत यतिखेर काँधमा काँध थापिरहेका छन्। सबैको काँध–काँधमा बनेको काम सम्पन्न भएमा वागमती नदीछेउमा पुग्दा कोही बिरामी पर्ला भन्ने चिन्ता लिनुपर्ने छैन।

उक्त काम सम्पन्न भएमा जो–कोहीले आफू रोगी भएको होइन निरोगी भएको महसुस गर्न थाल्नेछन्। दुर्गन्धित होइन अमृतमय अक्सिन लिन पाउनेछन्। छुँदै घीनलाग्दो हालको वागमतीको पानीलाई नदीकिनारमा बसेर हात–खुट्टाले छ–छल्कँदै रमाउन सकिनेछ। यो दिन पनि आउँदै छ। धेरै कुर्नुपर्ने अवस्था छैन। किनकि धमाधम काम भइरहेको समितिले जनाएको छ। समितिले नदीको दुवै किनारमा हरियाली पार्क बनाउँदै छ। यसले वागमतीलाई पहिलाको स्वरूपमा ल्याउन धेरै हदसम्म मद्दत गर्ने समितिका उद्यान इन्चार्ज रामदयालप्रसाद यादवले बताउनुभयो।

नदीको दुवै किनारमा भौतिक पूर्वाधार निर्माण कार्य गरी बाँकी रहेको क्षेत्रमा सरकारी तथा गैरसरकारी संघ–संस्था, निजी क्षेत्रसँग सहकार्य गरेर उद्यान बनाउन अभियान थालिएको समितिले जनाएको छ।
अभियान थालेसँगै उद्यान बनाउनेको आकर्षण बढेको छ। भने उद्यान बनाउने काम पनि तीव्ररूपमा भइरहेको छ। अभियानमा प्रहरी, विद्यालय, दूरसञ्चार, बैंक, युवा क्लब, महिला, आमा समूहलगायतका सार्वजनिक तथा निजी संघ–संस्थाहरूले उद्यान बनाउन इच्छा देखाउँदै कामसमेत थालिसकेका समितिले जनाएको छ।

समितिका उद्यान इन्चार्ज यादवले उद्यान बनाउने अभियानमा अहिलेसम्म ४५ भन्दा बढी सरकारी तथा गैरसरकारी संघ–संस्था, निजी क्षेत्रले इच्छा देखाएको बताउनुभयो। उहाँका अनुसार २५ वटासँग सम्झौता भइसकेको छ भने २० वटाले काम थालेका छन्। ८ ठाउँमा त यस्तो पार्क बनिसकेको छ। शंखमूलमा रहेको शंखपार्क गैरआवासीय नेपाली संघ (एनआएन) ले निर्माण थालेर अन्तिम चरणमा पुर्याइसकेको समितिले जनायो।

समितिले तिलगंगादेखि शंखमूल पुलसम्म झण्डै २ सय रोपनी क्षेत्रमा उद्यान निर्माणको योजना बनाएको छ। हालसम्म १ सय ५० रोपनीभन्दा बढी क्षेत्रफल उद्यानका लागि माग भई सम्झौता भइसकेको छ। उद्यान निर्माण गर्न झण्डै ६ करोड रुपियाँ लाग्ने अनुमान छ।

बन्दै गरेको उद्यानमा योग गर्न मिल्ने समितिले जनाएको छ। यस्तै पारिवारिक वातावरणमैत्री, जेष्ठ नागरिकमैत्री, बालबालिकामैत्री, अपांगमैत्रीलगायतका उद्यान बन्नेछन्। अभियानबाट नेपाल सरकारको स्वामित्वमा र निर्देशनअनुरूप संघ–संस्थाहरूले आफ्नै लगानीमा निर्माण, संरक्षण र सम्वद्र्धन गर्ने काम गरिरहेका छन्। उद्यान निर्माणपछि भने जसले बनाएको हो उसैले केही निश्चित समयका लागि सरकारको निर्देशनमा हेरचाह गर्नुपर्नेलगायतका सम्झौताअनुसारका सर्तहरू लागू हुनेछन्।नदीकिनारमा बसोबास गर्ने र अन्यका लागि पनि स्वस्थ्य मनोरञ्जनको स्थल विकास गर्न र स्वास्थ्य लाभ गर्ने सुन्दर स्थान बनोस् भन्ने उद्देश्यले उद्यान बनाउन लागिएको हो।

उद्यानमार्फत नदीमा पानीको शुद्धता र वृद्धिमा समेत सहयोग पुग्ने कार्य गर्न र भू–क्षय नियन्त्रणमा पनि सहयोग पुर्याई वातावरण स्वच्छ रहने विश्वास लिएको छ। समितिले नदीको दुवै किनारमा खाली भएको क्षेत्रमा उद्यान निर्माण र वृक्षरोपण कार्यमा सहभागी हुन आह्वान पनि गरेको छ।

Skip This