बेल्जियम, चन्द्रमाबाट सडक देखिने देश



पुष्करलाल श्रेष्ठ

नारायणघाटबाट मुग्लिनको हाइवे र कलंकीबाट पश्चिम नेपाल जाने हाइवेहरूमा घण्टौं जाममा फस्न र दुर्घटनामा पर्न विवश नेपालीका लागि बेल्जियमको व्यवस्थित हाइवे सडकहरू चन्द्रमाबाट समेत देख्न सकिन्छ भन्दा पत्यारै नलाग्न सक्छ। चन्द्रमाबाट पृथ्वीमा हेर्दा चीनको ठूलो पर्खाल मात्र देखिन्छ भनेर सुनिरहेको यस लेखकलाई पनि बेल्जियनले गर्वका साथ यो कुरा सुनाउँदा अचम्म लागेको थियो। पछि बेल्जियमबारे लेख्नुअगाडि गुगल सर्च गर्दा यो कुरा सही भएको पाएँ। गुगलमा पनि यो कुरा उल्लेख गरिएको रहेछ।

यसपटक युरोपको यात्रा गर्दा हामी नेदरल्यान्डको राजधानी एम्सटर्डमबाट बेल्जियमको राजधानी ब्रसेल्स बसबाटै गएका थियौं। बाटो यति आरामदायी थियो कि हामीलाई ४ घण्टा लामो यात्रा गरे जस्तै लागेन। बसभित्र रहेको शौचालयमा बस्दा पनि कोठाकै अट्याच बाथरुममा बसेजस्तै अनुभूति हुने। हामी ब्रसेल्सबाट लक्जम्बर्ग पनि गाडीबाटै पुगेका थियौं। लक्जम्बर्ग जाँदै गर्दा त्यहाँको हाइवेको सञ्जाल देखेर छक्कै परेका थियौं। हाइवे हुँदै जाँदा जर्मनी, फ्रान्स आदि देशमा जाने छरिएका व्यवस्थित बाटोहरू देख्दा मनै आनन्द हुने खालको थियो।

बिहान लक्जम्बर्ग गई त्यही रात बेल्जियमको राजधानी ब्रसेल्स आइपुग्दा पनि यसो जिउ दुख्ने जस्तो असजिलो अनुभव गर्नुपरेको थिएन। जबकि जाँदा पनि फर्कंदा पनि थकाइ मार्न भनी नेपालको हाइवेमा जस्तो हामी चिया–नास्ता गर्ने बहानामा कतै पनि गाडी रोकेर ओर्लेका थिएनौं। गाडीमा हामीसँगै ७७ वर्षीया वृद्धा काकी जगदम्बा अमात्य पनि सँगै हुनुहन्थ्यो। ब्रसेल्स फर्कंदा लगभग बिहान ३ बजिसकेको थियो। घुँडासमेत फेरिसकेकी काकीलाई ब्रसेल्स पुगेर गाडीबाट ओर्लेपछि केही अप्ठ्यारो परेको छ कि भनी सोध्न खोज्दा उहाँ हामीभन्दा फ्रेस देखिएपछि केही कुरा सोध्नु आवश्यक नै ठानिनँ। लगातार २४ घण्टा जस्तो गाडी चलाउनुहुने गैरआवासीय संघ बेल्जियमका संस्थापक अध्यक्ष रवीन्द्रमान श्रेष्ठ मात्र होइन, गाडीमा बसेका हामी सातै जना उत्तिकै फ्रेस थियौं।

क्रिकेट खेल हाल नेपालमा लोकप्रिय भए पनि स्वयं नेपाली क्रिकेट खेलाडीलाई बेल्जियम क्रिकेटको जन्मदातासमेत भएको कुरा थाहा नहुन सक्छ। किनभने नेपाली अहिले पनि क्रिकेट खेल बेलायतबाट शुरू भएको मान्यता राख्छन्। बेल्जियमबाट सन् १५३३ मा बेलायत पलायन भएका
बेल्जियनबाटै बेलायतीले क्रिकेट खेल्न सिकेका हुन्।

यसबाट पनि बेल्जियमका सडक कति राम्रा, सुरक्षित र व्यवस्थित होलान् भन्ने कुराको अनुमान लगाउन सकिन्छ। चारैतिर हराभरा भएकाले जति लामो बाटो हिँडे पनि पटक्कै पट्यार नलाग्ने रहेछ, बेल्जियमका हाइवेहरू। यसै गरी बेल्जियमका अन्य नाम चलेका शहरहरू एन्टरपेन, लियुभेनजस्ता शहर पनि हामी गाडीबाटै घुमेका थियौं। यी दुवै शहर राजधानी ब्रसेल्सभन्दा टाढा भए पनि आरामदायी सडकका कारण एकैदिनमा दुवै शहर घुम्न भ्याएका थियौं। बाटोको यही सहजताका कारण त्यहाँको हाइवेबारे उत्सुकता जागेर बेल्जियनसँग बुझ्दा त्यहाँका हाइवे चन्द्रमाबाट समेत देखिने कुरा थाहा भएको हो।

बेल्जियमको प्रसिद्ध एटोमियम अगाडि गैरआवासीय नेपाली संघ बेल्जियमका संस्थापक अध्यक्ष रवीन्द्रमान श्रेष्ठ र श्रीमती राजेश्वरी श्रेष्ठसँग लेखक।

तर, आश्चर्यको कुरा के हो भने, हाइवेको यत्रो तारिफ गर्दागर्दै पनि बेल्जियमका भित्री शहरहरूको ट्राफिक अवस्था भने काठमाडौंभन्दा पनि खत्तम रहेछ। बेल्जियन आफैं पनि स्वीकार गर्छन् कि बेल्जियमका भित्री शहरहरूको जस्तो ट्राफिक समस्या युरोपका अन्य कुनै शहरमा देख्न पाइँदैन। बेल्जियनका अनुसार उनीहरू वर्षमा झण्डै तीन दिन बराबरको समय जामका कारण सडकमै बिताउन बाध्य हुन्छन् रे। यो समस्या केही दिनका लागि बेल्जियम बस्दा हामीले पनि भोग्नुपरेको थियो।

पश्चिम युरोपमा अवस्थित बेल्जियम जम्मा ३३ हजार ५ सय २८ वर्गकिलोमिटर क्षेत्रफल भएको सानो देश हो। यति सानो देशमा पनि १ करोड १० लाखभन्दा बढी जनसंख्या हुनु र अमेरिकाको न्युयोर्कपछि विश्वमै सबैभन्दा बढी अन्तर्राष्ट्रिय मुख्यालयहरू भएकाले गर्दा पनि यहाँ ठूलो ट्राफिक समस्या रहेको बेल्जियन बताउँछन्। हुन पनि ब्रसेल्समा मात्र १ सय २० वटा त अन्तर्राष्ट्रिय मुख्यालय, २४ सय वटा निजी अन्तर्राष्ट्रिय संघ–संस्था र १ सय ८० वटा विभिन्न देशका राजदूतावास रहेछन्। त्यसमाथि पनि नेटो र युरोपियन युनियनको मुख्यालयसमेत यहीं भएपछि यति धेरै संघ–संस्थाका गाडी गुड्ने ब्रसेल्सका सडक जाम नभए कहाँ हुन्छ ?

विभिन्न ग्रहको ठक्करपछि उछिट्टिएर बनेको हाम्रो यो पृथ्वी उत्पत्ति भएको विश्वप्रसिद्ध ‘बिग ब्याङ थ्योरी’ पत्ता लगाउने वैज्ञानिक जर्ज लिमेत्री जन्मेको बेल्जियमबारे जति चर्चा गरे पनि कमै हुन्छ। फ्रान्स, जर्मनी, नेदरल्यान्ड र लक्जम्बर्गले घेरिएको बेल्जियम पश्चिम युरोपको सेन्टरमा पर्ने भएकाले यहाँबाट युरोपका धेरै देशमा जान निकै सजिलो र पायक पर्छ। यही सजिलो बेल्जियमका लागि भने असजिलो बनेको छ। विगतमा भएका युरोपका प्रायः ठूला–साना सबै युद्ध युरोपको मुटुमा परेकै कारण बेल्जियमले पनि अनावश्यकरूपमा झेल्नुपरेको रहेछ। सायद यही कारणले होला कुनै पनि युरोपेली राष्ट्रबीच कहिल्यै पनि युद्ध नहोस् भनी पहिलोपटक युरोपियन युनियनको अवधारणा ल्याउने देशमा बेल्जियमको नाम आएको। बेल्जियमले अहिले पनि आफूले युद्ध झेल्न नपरोस् भन्दै सबै युरोपेली राष्ट्रसँग निकै राम्रो सम्बन्ध राखेको देखिन्छ।

राजनीतिकरूपमा संवैधानिक राजतन्त्रात्मक व्यवस्था भए पनि बेल्जियमका राजालाई देशको नभई जनताका मात्र राजा मानिँदो रहेछ। अचम्मको लाग्ने यो व्यवस्था भएकै कारण राज संस्था रहुञ्जेल हाम्रो देश नेपाललाई किङडम अफ नेपाल भने जसरी बेल्जियमलाई किङडम अफ बेल्जियम नभनी किङडम अफ बेल्जियन भनिँदो रहेछ। त्यसैले बेल्जियमका वर्तमान राजा फिलिप देशकै राजा नभई बेल्जियन जनताको मात्र भनेको कारण पनि यही रहेछ। नेपालमा जस्तो यहाँका प्रधानमन्त्री नै देशको कार्यकारी प्रमुख हुने गरेका छन्। चाल्र्स मिकेल अहिले बेल्जियमका प्रधानमन्त्री हुन्। बेल्जियममा चुनावमा अनिवार्य भोट खसाल्नुपर्छ। भोट हाल्न नजाने जनतालाई सरकारले जरिवाना तिराउँछ।

युरोपियन युनियनको संस्थापक देश बेल्जियम विश्वमा १५औं ठूलो अर्थतन्त्र भएको देश हो। अन्य युरोपेली मुलुक जस्तै यहाँ पनि शिक्षा र स्वास्थ्यमा जनताले एक पैसा खर्च गर्नुपर्दैन। बहुमूल्य हीराका लागि संसारभर प्रसिद्ध बेल्जियनको आर्थिक र अन्य जीवनस्तर निकै माथि छ। क्रिस्टल सामानहरूमा समेत अब्बल बेल्जियममा बनेका क्रिस्टलले बनेका आकर्षक झुमरहरू नेपालको नारायणहिटी दरबारदेखि राणाका ठूला–ठूला दरबारहरूमा हामीले अहिले पनि झुमिएको देख्न सक्छौं।

माथि भनिएझैं संसारका धेरै अन्तर्राष्ट्रिय मुख्यालय भएका कारण बेल्जियमले यातायात क्षेत्रबाट धेरै आर्थिक आर्जन गर्ने गरेको छ। ब्रसेल्स विमानस्थल विश्वकै अत्यन्त चर्चित र व्यस्त विमानस्थल हो। सडकमा भन्दा बढी लगभग ८० प्रतिशत एअर ट्राफिक यही विमानस्थलबाट चल्ने गरेको छ। त्यसो त बेल्जियमको स्थलमार्ग मात्र नभई सामुद्रिक यात्रा पनि अत्यन्त व्यवस्थित र सहज लाग्छ। बेल्जियममा १ लाख ७१ हजार इटालियन, १ लाख २५ हजार फ्रेन्च, १ लाख १६ हजार डच, ८० हजार मोरक्कन र ४३ हजार पोर्चुगिच पनि बसोबास गर्छन्।

युरोपियन युनियनको मुख्यालय अगाडि गैरआवासीय नेपाली संघकी नवनिर्वाचित महिला संयोजक रजनी प्रधान र श्रीमती राजेश्वरी श्रेष्ठसँग लेखक।

बेल्जियमलाई तुलनात्मकरूपमा युरोपको शान्त र सुरक्षित देश मानिन्छ। त्यसैले यहाँ सेनाको संख्या पनि ४७ हजार मात्र छ। तर, सन् २०१६ मार्च २२ मा भएको ठूलो आतंककारी हमलापछि भने बेल्जियमको सुरक्षा व्यवस्था अहिले निकै कडा पारिएको छ। अत्यन्तै व्यस्त ब्रसेल्स विमानस्थल र राजधानीको मुटुमा रहेको मालविक मेट्रो स्टेसनमा भएको आत्मघाती बम आक्रमणमा परी त्यस बेला ३५ जनाको

मृत्यु भएको थियो भने ३ सयभन्दा बढी सर्वसाधारण घाइते भएका थिए। पछि यो घटनाको जिम्मेवारी आईएसआईएल अर्थात् इस्लामिक स्टेट अफ इराक लेभियन्टले लिएको थियो।

मेसिनरी, औषधि, तेल र केमिकल धेरै आयात गर्ने बेल्जियमले तयारी हीरा, मेटल्स, क्रिस्टल, खानाहरू, चकलेट, बियर बढी निर्यात गर्छ। बेल्जियमले यी कुराहरूको निर्यात गरेर अहिले मनग्गे पैसा कमाइरहेको छ। बेल्जियम धर्मनिरपेक्ष देश भए पनि नेपालमा जस्तै यहाँका जनताले सबै धर्म मान्न पाउँछन्। यहाँ जम्मा ३७ प्रतिशत जनताले मात्र भगवान्प्रति आस्था राख्ने गरेको पाइयो। एकदमै स्वस्थ रहने यहाँका मान्छेको सरदर आयु ८० वर्ष रहेको छ।

संसारकै सबैभन्दा मीठो चकलेट पाइने बेल्जियममा वर्षको २ लाख २० हजार टन चकलेट उत्पादन हुन्छ। यहाँको बियर पनि निक्कै स्वादिलो छ। यहाँ पुगेपछि १ हजार १ सयभन्दा बढी प्रकारका बियर चाख्न पाइन्छ। सामुद्रिक देश भएकाले यहाँ बोट र क्रुजहरूको पनि त्यत्तिकै मजा लिन सकिन्छ। बेल्जियमलाई भेनिस अफ द नर्थ पनि भन्ने गरिएको छ। ठाउँ–ठाउँमा बोटको रमाइलो यात्रा गर्न पाइने भएकाले यहाँ पुगेपछि त्यत्तिकै भेनिसका दृश्यहरूको याद आउँछ।

धेरै विकसित भएपछि बेल्जियममा केही विकृति पनि बढ्न थालेको छ। बेल्जियम विश्वकै सबैभन्दा बढी पारपाचुके गर्ने देश बनेको छ। यहाँ विवाहपछि ७० प्रतिशतभन्दा बढी दम्पतीको विवाह पारपाचुके भई अन्त्य हुन्छ। भनौं हरेक तीनवटा विवाहमा दुईवटा विवाह त पारपाचुके भएरै सकिने रहेछ। बेल्जियम लक्जम्बर्गपछि केटा–केटाबीच र केटी–केटीबीच कानुनीरूपमै विवाह गर्न पाइने संसारको दोस्रो देश हो। बेल्जियममा यो कानुन सन् २००३ मा बनेको थियो। ६ वर्षदेखि १८ वर्षको उमेरसम्म अनिवार्य शिक्षा लिनुपर्ने यहाँका जनता शतप्रतिशत साक्षर छन्। यहाँका जनता पनि नेदरल्यान्डका जनता जस्तै अग्ला छन्। सरदर ५ फिट १० इन्च अग्ला बेल्जियन नेदरल्यान्डका जनता (डच) पछि संसारकै दोस्रो अग्ला व्यक्ति हुन्।

बेल्जियमलाई फ्रेन्च फ्राई बनाउने पहिलो देश पनि मानिँदो रहेछ। गगनचुम्बी भवनहरू बनाउने युरोपकै पहिलो देश बेल्जियमको ताराङ शहरमा सन् १९२८ मै गगनचुम्बी भवनहरू बनिसकेका थिए। यहाँका जनता जति आम्दानी गर्छन्, त्यसको आधाभन्दा बढी कर पनि तिर्छन्। यहाँका जनताले आफ्नो आम्दानीको झण्डै ५८ प्रतिशत त कर नै तिर्नुपर्छ। भनौं एक वर्ष काम गरेको छ भने ६ महिनाको तलब त करै तिरेर सकिने रहेछ। तैपनि जनताले रगत–पसिना बगाएर तिरेको करको सबै पैसा सरकारले पारदर्शीरूपमा जनहितमै खर्च गरिरहेको देखेका बेल्जियन यति धेरै कर तिर्नुपरे पनि सरकारसँग चित्त दुखाएर बसेका देखिँदैनन्।

फुटबल, टेनिस, बास्केटबल, साइक्लिङ, जुडो र पौडी खेलमा अब्बल यो देश क्रिकेट खेलको जन्मदाता भएको नेपालमा लोकप्रिय भए पनि स्वयं नेपालका क्रिकेट खेलाडीलाई समेत थाहा नहुन सक्छ। किनभने नेपाली अहिले पनि क्रिकेट खेल बेलायतबाट शुरू भएको मान्यता राख्छन्। बेल्जियमबाट सन् १५३३ मा बेलायत पलायन भएका बेल्जियनबाटै बेलायतीले क्रिकेट खेल सिकेका हुन्। सन् १९२० मा समर ओलम्पिक खेलको आयोजना गरिसकेको बेल्जियमका फिलिप गिलवर्ड विश्व च्याम्पियन साइकल चालक हुन्। उनले जति साइक्लिङको उपाधि विश्वका अन्य कुनै देशका खेलाडीले जित्न सकेका छैनन्। फ्रान्सपछि सबैभन्दा बढी टुर दि फ्रान्स साइक्लिङ प्रतियोगिता जित्ने बेल्जियम संसारकै दोस्रो देश हो।

बेल्जियमको एउटा पुरानो जात्राको झाँकी।

बेल्जियमको एउटा पुरानो जात्राको झाँकी।सन् १९८४ मा बेल्जियममा बनेको नयाँ लचक कानुनले विश्वका १० लाख ३० हजारभन्दा बढी आप्रवासीले बेल्जियमको नागरिकता पाउन सफल भएका थिए। यस मौकाको फाइदा नेपालीहरूले पनि उठाएको देखिन्छ। अहिले बेल्जियममा ७ हजारभन्दा बढी नेपाली बसोबास गरिरहेको कुरा बेल्जियम गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष रवीन्द्रमान श्रेष्ठ बताउनुहुन्छ। त्यसै गरी नेपालमा माओवादी जनयुद्धको फाइदा उठाएर शरणार्थी बन्दै आएका नेपाली पनि बेल्जियममा प्रशस्तै भेट्न सकिन्छ।

बेल्जियम पुगेपछि युरोपका प्रसिद्ध ठाउँहरूको मिनियचर भएको मिनी युरोप पार्क, सयौं वर्ष पुराना ऐतिहासिक भवनहरू भएको ग्रान्डल्पेस, ५५ हेक्टर क्षेत्रफलमा फैलिएको पेरी डाइजा चिडियाघर, संसारकै पुरानो मानिएको २१ जुलाई १८४३ मा बनेको एन्थवर्थ चिडियाघर आदि हेर्न छुटाउनै नहुने ठाउँहरू हुन्। पेरी डाइजा चिडियाघरमा विभिन्न प्रकारका ४ हजारभन्दा बढी जनावर र चराचुरुङ्गी हेर्न पाइन्छ। राजधानी काठमाडौंको नजिक मानिने ललितपुर र भक्तपुर शहर जस्तै राजधानी ब्रसेल्सनजिकका एन्टरपेन र लियुभेन शहर पनि एकपटक गएर हेर्नै पर्ने शहर हुन्। अन्त्यमा एउटा कुरा, स्पाको जन्मदाता बेल्जियममा पुगेर पनि यदि तपाईंले यसको आनन्द उठाउन सक्नुभएन भने तपाईं बेल्जियम पुग्नुको कुनै अर्थ रहँदैन।

प्रतिक्रिया दिनुहोस्