इन्ट्याग्रिटी आइडलको उपाधि पौडेललाई



नेपाल समाचारपत्र
काठमाडौं
२०१७ को इन्ट्याग्रीटी आइडलको उपाधी मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेललाई प्रदान गरिएको छ। राजधानीमा आयोजित एक कार्यक्रमका वीच इन्ट्याग्रीटी आइडलको उपाधी लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीले प्रदान गर्नुभएको थियो।

सक्षम, इमान्दार र कर्तब्यनिष्ठ राष्ट्रसेवक कर्मचारीलाई सम्मान गर्न एकाउन्ट्याविलिटी ल्याबले हरेक वर्ष यो कार्यक्रम आयोजना गर्दै आएको छ। मनोनयनमा परेका मध्ये जिल्ला कृषि विकास कार्यालय काभ्रेमा कार्यरत कृषि प्रसार अधिकृत कृष्ण धिताल, वन विभाग काठमाडाँैमा सहायक वन अधिकृतको रूपमा कार्यरत सवनम पाठक, पञ्चदेव माध्यामिक विद्यालय मान्मा कालिकोटका शिक्षक सबराज बम, मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेल र सामान्य प्रशासन मन्त्रालयका उपसचिव सृजना तिवारी अन्तिम ५ जनामा पर्न सफल हुनुभएको थियो।

नागरिक स्तरबाट उत्कृष्ठ कर्मचारीलाई सम्मान गर्न ल्याबले सन् २०१४ देखि इन्ट्याग्रिटी आइडल शुरू गरेको हो। अन्तिम पाँच मध्ये सर्वोत्कृष्ट अर्थात् इन्ट्याग्रीटी आइडलको छनोट भने एसएमएस र वेभसाईटबाट प्राप्त जनताको मतका आधारमा गरिएको हो।

यस बर्ष एसएमएस र वेभसाईटबाट गरी प्राप्त भएको ४१ हजार ४ मत मध्ये कुल ३५ हजार १ सय ११ मत सदर भएको थियो। सो मध्ये विजयी पौडेलले सवै भन्दा बढि अर्थात ९ हजार ९ सय ३० मत पाउनु भएको थियो। सम्मान कार्यक्रममा पाँचै जनालाई प्रशंसापत्र र ट्रफी सहित सम्मान गरिएको थियो।

विजेता तथा पाँच जना आइडललाई बधाई दिँदै लोकसेवा आयोगका अध्यक्ष मैनालीले कर्मचारीले सदैब जनताको सेवक भएर काम गर्न आबश्यक रहेको धारणा राख्नुभयो। कर्मचारी देखि सेवाग्राही डराउन नपर्ने भन्दै सेवा सहितको मुस्कानलाइ कार्यान्वयन गर्नुपर्ने भन्दै आयोजक संस्था एकाउन्टबिलिटी ल्यावको अभ्यासको प्रशंसा गर्नुभयो।

सो अवसरमा उपाधी प्राप्त गर्न सफल पौडेलले जनताको सेवक भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। सेवाग्राहिलाई केन्द्रविन्दुमा राखेर सेवाप्रबाह गर्ने भन्दै उपाधीले आफुलाइ थप दायित्ववोध गराएको बताउनुभयो। आफुलाई यो सम्मानले अझ बढी थप जिम्मेवार बनाएको र भोलीका दिनहरूमा थप काम गर्ने प्रेरणा मिलेको बताउनुभयो। नेपालबाट शुरू भएको यो अभियान लाईबेरिया, पाकिस्तान, माली, दक्षिण अफ्रिका, नाइजेरिया लगायतका देशमा विस्तार भैसकेको छ र सन् २०१८ मा श्रीलकांमा पनि यो कार्यक्रम शुरू हुने प्रकृयामा रहेको आयोजक संस्था एकाउन्ट्याविलिटी ल्यावले बताएको छ।

जनताका लागि राम्रो काम गर्ने कर्मचारी अझै पनि जनता माझ लुकेको र भ्रष्टहरू खुले आम समाजमा हिंडिरहेको अवस्थामा कर्तव्यनिष्ठ इमान्दार कर्मचारीलाई जनताका माझ चिनाउनका लागि इन्ट्याग्रीटी आइडल कार्यक्रमको शुरूवात गरिएको आयोजक संस्था एकाउन्ट्याविलिटी ल्यावका प्रमुख नारायण अधिकारीले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्