माघदेखि सवारीचालकलाई अनिवार्य पोसाक



प्रशान्त वली, काठमाडौं
ट्राफिक प्रहरीले यात्रुलाई सवारीसाधनमा लामबद्ध भएर यात्रा गर्न आग्रह गरेको छ भने चालकलाई सचेत गराएको छ। सवारी दुर्घटना न्यूनीकरण गर्न र सवारीसाधनमा यात्रुको क्षमताअनुसार यात्रा गर्ने परिपाटीको विकासका लागि ट्राफिकले यस्तो अभियान चलाएको हो।

‘हुलमुलमा हैन, लाइन लागेर’ भन्ने मूल हेतुका साथ ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण गर्न योजना बनाएर अभियान शुरू गरेको हो। रत्नपार्क–ग्वार्को सडकखण्डमा सवारी चलाउँदै आउनुभएका बा३ख २७४० नम्बरका माइक्रोचालक जोन लामाले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘ट्राफिकको अभियान निकै राम्रो लाग्यो । अब हामीले यात्रुलाई यात्रा गर्दा अशक्त, अपांग, महिलालाई प्राथमितामा राखेर सवारीमा बस्ने व्यवस्था मिलाउँछौ।’ यात्रु रविन महर्जनले यो अभियान नारामा मात्रै सीमित नभई दीर्घकालीन समयसम्म लागू हुन सके यात्रु लाभान्वित हुने बताउनुभयो। सार्वजनिक सवारीसाधनमा चढ्दा बलिया व्यक्ति जबरजस्ती चढेर सिटमा बस्ने र बालबालिका, वृद्ध, अशक्त, महिला र सुत्केरीले सिट नपाएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले लाम बसेर सवारी चढ्ने व्यवस्था मिलाउन लागेको हो।

महाशाखाका सह–प्रवक्ता मुकुन्द मरासिनीले सवारी प्रयोगमा अनुशासन भित्रइउनका लागि एक हप्तासम्म ट्राफिक फिल्डमै उत्रिएर यात्रुलाई प्राथमिकताका आधारमा यात्रा गराउने बताउनुभयो।

महाशाखाले आइतबारदेखि काठमाडौं उपत्यकाका १० स्थानमा लाम लागेर सवारी चढ्ने व्यवस्था मिलाएको हो। एनएसी, रत्नपार्क, भृकुटीमण्डप, सामाखुशी, बानेश्वर, कोटेश्वर, कुपण्डोल, जडीबुटी र चावहिलमा यात्रुहरूलाई लाममा बसेर सवारीसाधन प्रयोग गर्न आग्रह गरिएको थियो।।

लाम बसेर सवारी चढ्दा जो पहिले आएको हो त्यसले पहिलो प्राथमिकता पाउने छ। अघिल्लो सार्वजनिक यातायातमा चढ्न नपाएका यात्रु लगत्तै पछिल्लोमा जान पाउनेछन्।

महाशाखाले सो अभियान एक हप्तासम्म प्रत्येक दिन बिहान–बेलुका कार्यालय सञ्चालन हुने समयमा चलाउने छ। शुरूको समयमा अभियान सञ्चालनमा केही समस्या परे पनि विस्तारै बानी पर्दै जाने महाशाखाले जनाएको छ।
सो अभियानलाई सहयोग पुर्याउन महाशाखाले स्काउट र स्वयंसेवकसमेत परिचालन गरेको छ। यस्तै आगामी माघ पहिलो सातादेखि काठमाडौं उपत्यकाभित्रका भाडाका सवारी चालकहरूले अनिवार्य पोसाक लगाउनुपर्ने भएको छ। पेसाप्रति अनुशासित र जिम्मेवार बनाउन प्रहरीले पोसाक अनिवार्य लगाउनुपर्ने व्यवस्था गर्न लागेको हो।
महानगरीय ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग, व्यवसायी र निजी विद्यालयका प्रतिनिधिबीच भएको छलफलले चालकलाई पोसाकको व्यवस्था गर्ने निर्णय गरेको हो।

पोसाकको रंग भने अझै टुंगो लागिनसकेको र सम्बन्धित समिति पोसाक छनोटमा लागिरहेको महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले बताउनुभयो। उहाँले भन्नुभयो– ‘पोसाक आफैं चालकले किन्नुपर्नेछ।

सम्बन्धित यातायात समितिले समन्वयको भूमिका निर्वाह गर्नेछन्। यो महिनाभित्र कपडा फाइनल भएर सिलाउन दिने गरी तयारी थालिएको छ। पोसाकमा सर्ट, पाइन्ट र जुत्ता अनिवार्य हुनेछ। समितिले कपडाको नमुना दिएपछि चालक आफैं टेलरमा पुगेर सिलाउन जाने गरी तयारी गरेका छौं।’

ट्राफिकका अनुसार काठमाडौं उपत्यकामा करिब ३ लाख सवारीहरू गुडिरहेका छन्। पोसाक सर्वसाधारण यात्रु बोक्ने सबै किसिमका सवारीसाधनदेखि विद्यालयका सवारीसाधन चलाउने र ट्याक्सीका चालकहरूसमेतलाई क्रमिक रूपमा अनिवार्य गर्दै लगिने भएको छ।

प्रतिक्रिया दिनुहोस्